रविलाई सक्न पाए रास्वपा सिध्याउन सकिन्छ भनेर कांग्रेस एमाले लागेका छन् : उपसभापति अर्याल

शनिबार कार्तिक ३, २०८१/ Saturday 10-19-24
Paschim Today

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले पार्टी सभापति रवि लामिछानेलाई सिध्याउन सके रास्वपा सिध्याउन सकिन्छ भनेर कांग्रेस एमाले लागेको बताएका छन् । 

लामिछाने पक्राउको विरोधमा पोखरामा शनिवार भएको सडक प्रदर्शनमा उनले पुराना दलले रास्वपा सिध्याउने दिवास्वप्न मात्र देखेको उल्लेख गरे । उनले रास्वपा रवि लामिछानेको लागि नभई नयाँ पुस्ताका लागि केही गर्न आएको पार्टी भएकोले अभियान सक्काउन नदिन सबैलाई आग्रह गरे ।

आफ्नो स्वार्थ पूरा गर्न राजनीतिक प्रतिशोधका आधारमा लामिछानेलाई पक्राउ गरेको र संसदीय छानबिन समितिले समेत सहकारीको रकम ऋण लिएको नभेटेको बताए । दुई तिहाइको दम्भका आधारमा पक्राउ गरेको बताउँदै सरकार मरे पनि न्यायालय नमरेकोले न्याय पाउने विश्वास व्यक्त गरे । 

कसैको राजनीति बचाउनका लागि रवि लामिछानेलाई आहुति दिन खोज्नु पुराना दलहरूलाई महँगो पर्ने बताए । उनले सहकारी पीडितहरूको बचत फिर्ता गराउने कुरामा सरकारलाई मतलब नभएकोले अब बचत फिर्ता गराउने कुराको नेतृत्व रास्वपाले गर्ने उल्लेख गरे । 

उनले संसदीय समितिको प्रतिवेदन आएको ३ महिनासम्म पनि सरकारले कुन बैठकले सहकारी बचतकर्ताको रकम फिर्ता गर्ने निर्णय गरेको छ भन्दै प्रश्न गरेका छन् । शुक्रवार लामिछानेलाई काठमाडौँमा पक्राउ गरी पोखरा लगेपछि रास्वपाका नेताहरू पोखरा केन्द्रित भई विरोधका कार्यक्रमहरू गरिरहेका छन् ।