लामिछाने पक्राउको संयोग : दुवै पटक ओली नै प्रधानमन्त्री, पक्राउ गर्ने पनि बोगटी

शनिबार कार्तिक ३, २०८१/ Saturday 10-19-24
Paschim Today

काठमाण्डु-राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेर अहिले कास्की प्रहरीको हिरासतमा छन् ।

सहकारी ठगी प्रकरणमा कास्की प्रहरीले लामिछानेलाई शुक्रबार साँझ पक्राउ गरेको हो । लामिछाने काठमाडौंस्थित पार्टी मुख्यालय घण्टीघरबाट पक्राउ परेका हुन् ।

यसअघि २०७६ साउन ३० गते पनि लामिछाने पक्राउ परेका थिए ।

तर, संयोग नै मान्नुपर्छ, पहिलोपटक पक्राउ पर्दा र अहिले दोस्रोपटक पक्राउ पर्दा पनि प्रधानमन्त्री केपी शर्मा ओली नै रहेका छन् । यद्यपी यो संयोग मात्रै हो ।

लामिछानेलाई कास्की जिल्ला अदालतले जारी गरेको पक्राउ पुर्जी बोकेर (केन्द्रीय अनुसन्धान ब्यूरो)का एसपी होविन्द्र बोगटीको टोलीले पक्राउ गरेको हो । पहिलोपटक लामिछानेलाई पक्राउ गर्न पनि बोगटी नै खटिएका थिए ।

पहिलो पटक पक्राउ पर्दा लामिछानेमाथि आफ्नै सहकर्मी पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहको मुद्दा थियो । त्यतिवेला लामिछाने न्यूज २४ टेलिभिजनको कार्यालयबाटै पक्राउ परेका थिए । उनीमात्रै नभएर उनका सहकर्मी युवराज कँडेलपनि सँगै पक्राउ परेका थिए ।

पत्रकार पुडासैनी आत्महत्या दुरुत्साहन प्रकरणमा लामिछाने २०७६ सालमा पक्राउ परेका थिए । त्यतिबेला बोगटी काठमाडौं प्रहरी परिसरमा डीएसपीका रूपमा कार्यरत थिए । बोगटीकै टोलीले त्यतिबेला लामिछानेलाई पक्राउ गरेर चितवन प्रहरीलाई बुझाएको थियो ।

अर्को संयोग पनि के मिलेको छ भने पहिलो पटक पक्राउ पर्दा लामिछानेलाई राति नै गाडीमार्फत चितवन लगिएको थियो भने यसपटक पनि उनलाई गाडीबाटै पोखरा लगिएको छ ।