एसईई फेल भएकाले पनि सीटीईभीटीको प्रि-डिप्लोमा तह पढ्न पाउने

शनिबार कार्तिक ३, २०८१/ Saturday 10-19-24
Paschim Today

काठमाडौं । अब माध्यमिक शिक्षा परीक्षा (एसइई)मा अनुत्तीर्ण विद्यार्थीहरूले समेत प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को १८ महिने प्रि-डिप्लाेमा तह पढ्न पाउने भएका छन् । एसईईमा ठूलो संख्यामा विद्यार्थी नन ग्रेडेड भएपछि परिषद्ले यस्तो निर्णय गरेको हो । 

यसका लागि परिषद्ले प्रि-डिप्लाेमा तहको प्रवेश परीक्षा सञ्चालन, छात्रवृत्ति वितरण तथा भर्ना सम्बन्धी निर्देशिका, २०८१ नै परिमार्जन गरेको छ । जसअनुसार अब प्रि-डिप्लाेमा तहको प्रवेश परीक्षामा समावेश हुन न्यूनतम शैक्षिक योग्यता शिक्षण संस्थाबाट एसएलसी वा एसईई परीक्षामा सहभागी भए पुग्छ । 

 

यसअघि प्रि-डिप्लाेमा तहमा भर्ना हुन जति प्राप्ताङ्क आए पनि फरक पर्दैन थियो । तर, एसएलसी/एसईईमा उत्तीर्ण भने हुनु पर्दथ्यो । अब भने परीक्षामा सहभागी भए मात्र पनि प्रि-डिप्लाेमा पढ्न सकिने परिषद्का सहपरीक्षा नियन्त्रक गोविन्दकुमार श्रेष्ठले बताए । 

कस्तो हो प्रि-डिप्लाेमा तह ?

सीटीईभीटीले विभिन्न विषयमा प्राविधिक शिक्षा प्रदान गर्ने गर्छ । मुख्यत: सीटीईभीटीले कृषि, हस्पिटालिटी, स्वास्थ्य र इन्जिनियरिङ गरी चार विधामा शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसका लागि प्रि-डिप्लाेमा तथा डिप्लाेमा गरी दुई ओटा तहमा सीटीईभीटीले कोर्स सञ्चालन गर्ने गर्छ । प्रि-डिप्लाेमा तह १८ महिने काेर्ष हाे । यसमा १५  महिना पाठ्यक्रमकाे पढाइ र तीन महिना प्रयोगात्मक हुन्छ । 

प्रि-डिप्लाेमा तह उत्तीर्ण गरेपछि स्नातक पढ्न पाइँदैन । त्यसका लागि विद्यार्थीले प्रि-डिप्लाेमा पढ्दै गर्दा नै कक्षा ११ र १२ पनि भर्ना हुनुपर्छ । यदि तपाईं प्रिडिप्लोमा आईटी कोर्स पढ्नुहुन्छ भने त्यति धेरै विकल्प छैन । यसमा कम्प्युटर इन्जिनियरिङ, कम्प्युटर एप्लिकेसन तथा सेक्रेटेरियल म्यानेजमेन्ट जस्ता विषय रहेका छन् । यद्यपि तपाईंले यसमा दर्जन बढी विकल्प पाउनु हुन्छ ।