आलिताल अस्पताल निर्माणको काम अलपत्र

आइतबार कार्तिक ४, २०८१/ Sunday 10-20-24
Paschim Today

डडेल्धुरा, कात्तिक ४ गते । भित्रीमधेश क्षेत्र आलिताल गाउँपालिकामा निर्माणाधीन १० शय्याको अस्पताल भवन निर्माण अलपत्र परेको छ । दुई वर्षमा निर्माण सम्पन्न गरिसक्ने गरी भएको सम्झौता अनुसार बजेट नहुँदा निर्माणको काम अलपत्र परेको हो । 

२०८० असार मसान्तमा काम सम्पन्न गर्ने गरी २०७८ असार २३ गते राजेन्द्र निर्माण सेवासँग ठेका सम्झौता भएको थियो । तर निर्माण सम्पन्न गरिसक्नुपर्ने समयावधिभन्दा करिब डेढ वर्ष बढी घर्किसक्दा पिल्लर मात्रै हालिएको गाउँपालिकाका प्राविधिक राजेन्द्रकुमार रावलले जानकारी दिए । उनका अनुसार बजेट अभावले काम अघि बढ्न सकेको छैन । 

आलिताल गाउँपालिका–८ स्थित गोदाम बजार नजिक बन्न लागेको १० शय्याको अस्पताल निर्माणका लागि राजेन्द्र निर्माण सेवासँग गाउँपालिकाले सात करोड ३९ लाख ९७ हजार रूपियाँ बराबरको ठेक्का सम्झौता गरेको थियो । झण्डै ४० प्रतिशत घटिघटाउ रकममा ठेक्का सम्झौता भएको उनले बताए । 

अस्पताल निर्माणका लागि पहिलो वर्ष ८० लाख रकम गाउँपालिकालाई प्राप्त भएको उनले जानकारी दिए । सुरुमा ठेकेदारले सम्झौता गरेर १० प्रतिशत रकम मोविलाईजेस खर्च लैजानुपर्ने थियो । बजेट अभावले उक्त रकम पनि भुक्तानी नभएको उनले बताए । काम सुरु गर्न सामग्री फाले पछि थप १० प्रतिशत रकम ठेकेदारले पाउनुपर्ने हो । उनले भने 'तर रकम अभावमा निर्माण कम्पनीले भुक्तानी पाउन सक्नुभएन ।' काम सुरु गरे पनि बजेट अभावले काम अघि नबढेको उनको भनाइ छ । 

आर्थिक वर्ष २०७९(०८० मा सङ्घीय सरकारबाट ३० लाख रकम विनियोजन भएको थियो । तर आर्थिक वर्ष सकिँदै गर्दासम्म बजेट भने आएन । गत वर्ष २५ लाख रकम विनियोजन भएको थियो । 

बजेट आवमा निर्माण कम्पनीलाई ६० लाख रकम मात्रै मोबिलाइजेसन खर्च भुक्तानी भएको थियो । उहाँले भन्नुभयो, ूहालसम्म ८३ लाख रकम बराबरको काम सम्पन्न भएको छ भने १४ लाख रकम मात्रै भुक्तानी गरिएको छ । गत वर्ष पनि २१ लाख रकम बराबरको बिल निर्माण कम्पनीले पेश गरेको थियो। तर भुक्तानी भने हुन नसकेकाले काम अलपत्र परेको उनले बताए । 

उनका अनुसार हाल सम्म दुई पटक म्याद थप गरिएको छ । ग्रामीण क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यसहित तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ सालमा देशभरका स्थानीय तहमा ५, १० र १५ शय्याका अस्पताल निर्माण गर्ने योजना अगाडि सार्नुभएको थियो । उक्त योजना अनुसार सुदूरपश्चिमका ५४ वटा स्थानीय तहमा अस्पताल निर्माणका लागि शिलान्यास गरिएको थियो । आलिताल अस्पताल यसै योजनामध्येको एक अस्पताल हो ।