'बेहुली फ्रम मेघौली' बुधबारदेखि ओटिटीमा, युट्युबमा आउँछ कि आउँदैन?

सोमबार कार्तिक ५, २०८१/ Monday 10-21-24
Paschim Today

स्वस्तिमा खड्का र निश्चल बस्नेतको फिल्म 'बेहुली फ्रम मेघौली' बुधबार ओटिटी प्लेटफर्ममा रिलिज हुने भएको छ। 

हलमा दर्शकको साथ पाइरहेको समयमै उतारिएको फिल्म दुई दिनपछि 'एमएसएम भिडिओ' एपमा रिलिज हुन लागेको हो। 

'पर्सि रिलिज गर्दैछौं। एकदमै उत्साहित छौं' निश्चलले भने। 

'एमएसएम भिडिओ' एप हालसालै संचालनमा आएको हो। छोटो समयमै एपलाई ८० हजार बढीले डाउनलोड गरिसकेको जनाइएको छ। यसमा दर्शकले तोकिएको शुल्क तिरेर उपलब्ध फिल्म छनोट गरेर हेर्न सक्नेछन्। 

'बेहुली फ्रम मेघौली' लाई सजन काफ्ले र आकाश बरालले संयुक्त रुपमा लेखन तथा निर्देशन गरेका हुन्। स्वस्तिमा र निश्चलको लगानीमा फिल्म बनेको हो। 

राम्रो अकुपेन्सीमा चलिरहेको समयमा यो फिल्मलाई हलबाट उतारिएको थियो। दुई साता प्रदर्शन भएको फिल्मले ४ करोड हाराहारी ग्रस कलेक्सन गरेको जनाइएको छ। 

यो सम्भवतः हलमा चलिरहेको समयमा उतारेर अनलाइन प्लेटफर्ममा रिलिज गर्न लागिएको पहिलो नेपाली फिल्म हो। 

फिल्म अहिले अमेरिका, जापान, क्यानडा र सिंगापुरमा भने एपमा उपलब्ध हुनेछैन। यी देशहरूमा फिल्म प्रदर्शन भइरहेकाले तत्काल नल्याइने भएको निश्चलले बताए। 

'एमएसएम भिडिओ' एपमा निश्चलको अघिल्लो फिल्म 'दिमाग खराब' पनि रिलिज भइसकेको छ। 'महाजात्रा' र 'घर ज्वाइँ' फिल्म पनि एपमा रिलिज छन्। 

युट्युबमा नआउने

'बेहुली फ्रम मेघौली' युट्युबमा भने नआउने भएको छ। आफ्नो अघिल्लो फिल्म 'दिमाग खराब' लाई पनि युट्युबमा रिलिज नगरिने निश्चलले बताए। 

'जबसम्म फिल्म युट्युबमा रिलिज गरिन्छ, तबसम्म ओटिटी प्लेटफर्म फस्टाउँदैन भन्ने लाग्छ,' उनी भन्छन्, 'दर्शकलाई आकर्षित गर्न सकियो भने युट्युबबाट भन्दा राम्रो रेभिन्यू ओटिटीबाट आउँछ। यसप्रति आकर्षित गर्नका लागि पनि नयाँ कन्टेन्ट ल्याउन जरूरी छ।' 

निर्देशक मीन भामले पनि आफ्ना फिल्म कहिल्यै युट्युबमा नराख्ने उहिल्यै घोषणा गरेका थिए। पछिल्लो समय थुप्रै नेपाली फिल्म ओटिटी प्लेटफर्ममा रिलिज भइरहेका छन्।