सहकारी ठगी प्रकरण: पूर्वडीआईजी जोशीलाई बयानका लागि रुपन्देही लगियो

सोमबार कार्तिक ५, २०८१/ Monday 10-21-24
Paschim Today

 काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई रुपन्देही लगिएको छ ।

जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतमा रहेका पूर्वडीआईजी जोशीलाई सुप्रिम सहकारीको रकम अपचलनबारेको बयानका लागि सोमबार रुपन्देही लगिएको हो । बयानका लागि जोशीलाई पोखराबाट रुपन्देही पठाइएको कास्की प्रहरी प्रमुख श्यामबाबु ओलियाले जानकारी दिए ।

उनका अनुसार रुपन्देहीमा बयान सकिएपछि जोशीलाई पोखरा नै ल्याइने छ । सहकारी ठगीको आरोपमा गोरखा मिडिया प्रालिका पूर्वसञ्चालक तथा पूर्वडीआईजी जोशी ६ असोजमा काठमाडौंको शंखमुलबाट पक्राउ परेका थिए ।

सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा ल्याएर दुरुपयोग गरेको आरोप जोशीमाथि छ ।