चलचित्र ‘१२ गाउँ’को सिक्वेल बन्ने

सोमबार कार्तिक ५, २०८१/ Monday 10-21-24
Paschim Today

चलचित्र ‘१२ गाउँ’को सिक्वेल बन्ने भएको छ । ‘१२ गाउँ’ राम्रोसँग चलेपछि निर्माणपक्षले यसको सिक्वेल बनाउने तयारी गरेको हो । 

एक सातामा १० करोडभन्दा माथि ग्रसकलेक्सन गरेको चलचित्र अहिले पनि सतप्रतिशत अकुपेन्सीमा चलिरहेको वितरक गोविन्द शाही बताउँछन् । अष्टनारायण हलमा पहिलोपटक अबेर रातिको शो फूल अकुपेन्सीमा चलेको उनले बताए । 

“निर्माणपक्षले १२ गाउँको सिक्वेल बनाउने तयारी गरेको छ । यसको स्टोरी पहिला नै थियो । त्यसमा थप काम भइरहेको छ,” निर्माणपक्षलाई उदृत गर्दै गोविन्द शाहीले बाह्रखरीसँग भने, “बलिदानको काम सकिएपछि १२ गाउँको सिक्वेलको काम हुन्छ । रिलिज पनि बलिदानपछि नै हुनेछ ।” 

सन्तोष सेनको निर्माण तथा निर्देशनमा तयार भइरहेको चलचित्र ‘बलिदान’को मुख्य भूमिकामा समीर भट्ट छन् । जो ‘१२ गाउँ’को हिरो हुन् । त्यसैले ‘बलिदान’को काम सकिएपछि मात्रै ‘१२ गाउँ’को सिक्वेल निर्माण हुनेछ । 

‘१२ गाउँ’ बिराज भट्टले निर्देशन गरेको चलचित्र हो । जसमा बिराज र समीर मुख्य भूमिकामा छन् । 

‘१२ गाउँ’को क्लाइमेक्समा अनुसन्धान बाँकी नै रहेको र धेरै कुरा पत्ता लाग्ने क्रममा रहेको बताइएको छ । यसले सुरुमै निर्माणपक्षले सिक्वेलका लागि ठाउँ छोडेको देखिन्छ ।