किसानलाई बाली भित्र्याउने चटारो

बुधबार कार्तिक ७, २०८१/ Wednesday 10-23-24
Paschim Today

बाजुरा, कात्तिक ७ गते । बाजुराका किसानलाई दसैँ सकिएसँगै धान बाली भित्र्याउने चटारो परेको छ । बाजुरामा हिमाली भेगमा असोज र तल्लो क्षेत्रका अधिकांश ठाउँमा कात्तिक महिनामा हिउँदे खेती लगाउने गर्छन् ।

हिउँदे बाली लगाउन ढिला हुने भयो भन्दै यतीबेला यहाँका किसानलाई दसैँ सकिए सँगै धान बाली भित्र्याउने चटारो परेको हो । कात्तिक महिनादेखि हिउँदे बाली गहुँ खेती लगाउने समय भएकोले अहिले धान बाली भित्र्याउन हतार भएको बुढीगङ्गा नगरपालिका –४ खोलालवाडा की जयन्ती रावतले बताए ।

उनले भए, “असोजदेखि हिउँदे बाली गहुँ जौ लगाउने समय भएकोले यो भन्दा पहिला नै जमिन खन जोज गर्नु पर्ने हुन्छ ।” असोज महिना दोस्रो हप्तामा बाली बर्खे लगाएको बाली घरमा भित्र्याउनु पर्ने हो । त्यतीबेला दसैँ परेकोले अहिले बाली भित्र्याउन हतार भएको रावतले बताए ।

हिमाली, जनगनाथ, स्वामिकार्तिक, बडिमालिका, गौमुल, बुढीगङ्गा, त्रिवेणी र खप्तड छेडेदह गाउँपालिकामा जेठ र असारको महिना धान बाली लगाउने गर्छन् । यहाँका किसानले लगाएको धान बाली असोज र कात्तिक महिना भित्रमा नै भित्र्याइ सक्नुपर्ने हुन्छ । 

हिमाली क्षेत्रमा असोज र तल्लो क्षेत्रमा कात्तिक महिनामा हिउँदे बाली गहुँ जौ लगाउने गर्दछन् । त्यसैले यती बेला त्यो समय ढिला भयो भन्दै यहाँका किसानलाई बाली भित्र्याउन चटारो परेको छ ।

बाजुरामा २ लाख ३० हजार ३७ हेक्टर जमिनमध्ये २२ हजार हेक्टर मात्र खेती योग्य जमिन रहेको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख भूमिराज उपाध्यायले बताए ।

उनले भने, “यसमध्ये १३ हजार १४० हेक्टर जमिनमा धान उत्पादन हुन्छ । ” जसमा प्रति हेक्टर दुई मेट्रिकटनले धान उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख उपाध्यायले बताए ।