महाकाली तर्न ट्युबको सहारा

बुधबार कार्तिक ७, २०८१/ Wednesday 10-23-24
Paschim Today

डडेलधुरा, कात्तिक ७ गते  । भारतसँग सीमा जोडिएको भित्री मधेशको जोगबुडा क्षेत्रको काली नदीमा पुल नहुँदा स्थानीयवासी समस्या मोल्दै ट्युबमा वारपार गर्दै आएका छन् । भित्री मधेश क्षेत्र परशुराम नगरपालिका र भारतलाई जोड्न काली नदीमा पुल नहुँदा जोखिम मोलेर स्थानीयवासी डुङ्गाबाट वारपार गर्दै आएका थिए तर अहिले डुङ्गा पनि नचल्दा ट्युबबाट वारपार गर्नुपर्ने बाध्यता रहेको स्थानीय राम धामीले बताए ।

यस वर्ष डुङ्गा सञ्चालन गर्न ठेक्का लगाउन नसकिएको परशुराम नगरपालिकाका प्रवक्ता एवं वडा नं। ६ का वडाध्यक्ष खगेन्द्र सिंहले जानकारी दिनुभयो । डुङ्गा सञ्चालन हुन नसक्दा नेपालीको महान् पर्व दसैँका बेला घर फर्किने स्थानीयलाई निकै सास्ती भएको स्थानीय महावीर चुनाराले गुनासो गर्नुभयो । ट्युबबाट जोखिम मोलेर नदी तर्दा एक जनाको दुई सय रुपियाँ तिर्नु परेको उनको भनाइ छ । 

जिल्लाको झन्डै आधा जनसङ्ख्या रहेको भित्री मधेश क्षेत्रका स्थानीय दैनिक उपभोग्य वस्तु खरिद गर्नसमेत भारतीय बजार ठुलीगाड, बुम, टनकपुर, वनवासासम्म पुग्ने गर्छन् । कृषि उपजले भारतीय बजारमा राम्रो मूल्य पाउँछ भने उपभोग्य वस्तु सुपथ मूल्यमा खरिद गर्न पाइन्छ । यस कारण परशुराम नगरपालिका–५, ६ र ७ का स्थानीय भारतीय बजार आउजाउ गर्ने गर्छन् । काली नदी तरेर आउने भारतीय सीमा क्षेत्रमा कालोपत्रे सडक छ । औषधी उपचारका लागि समेत भित्री मधेशवासी भारतको खटिमा, बरेली बजारका अस्पतालमा पुग्ने गरेको वडा अध्यक्ष सिंहले बताए । 

परशुराम नगरपालिका–५ को परिगाउँस्थित महाकाली नदीको बाँघाट र वडा नं। ६ को सिसमझालामा नदी तर्ने दुई वटा घाट छन् । यी दुई वटा घाटबाट दैनिक सयौँको सङ्ख्यामा स्थानीयले महाकाली नदी वारपार गर्ने गर्छन् । रोजगारीको सिलसिलामा भारतका विभिन्न सहर पुग्ने भित्री मधेशवासी यही घाटबाट डुङ्गा तर्दै वारपार गर्दै आइरहेका थिए तर यसपालि डुङ्गा सञ्चालनमा ल्याउन नसक्दा ट्युबमाथि बसेर नदी तर्नु परेको स्थानीयको गुनासो छ ।  

दुई वटै घाटमा डुङ्गा सञ्चालन गर्न वडा कार्यालयले बढाबढीमा मोलमोलाइ गरी ठेक्का सम्झौता गर्ने गरेका छन् । डुङ्गासमेत मर्मत गरिन लागेकाले यस वर्ष समयमै ठेक्का लगाउन नसकिएको वडा अध्यक्षको भनाइ छ । तिहारअघि नै ठेक्का लगाई डुङ्गा सञ्चालनमा ल्याइने उनको भनाइ छ । यी दुइटा घाटमा यसअघिका वर्षमा वार्षिक डेढ÷डेढ लाख रुपियाँका दरले डुङ्गा सञ्चालकलाई ठेक्का दिइएको उहाँले जानकारी दिए । 

स्थानीयलाई आउजाउका साथै भारतको उत्तराखण्डमा रहेको पूर्णागिरिधाम र नेपालतर्फको परशुरामधामका पर्यटक जोड्न महाकालीमा पुल आवश्यक छ । भगवान् परशुरामले ध्यान र स्नान गरेको परशुरामधाममा माघेसङ्व्रmान्तिका दिन ठुलो मेला लाग्ने गर्दछ । सुदूरपश्चिमसँगै नेपालका विभिन्न स्थानलगायत भारतबाट समेत ठुलो सङ्ख्यामा स्नान गर्नेहरू परशुरामधाम पुग्ने गर्छन् । 

सूर्य र चन्द्र ग्रहणका बेलासमेत परशुरामधाममा स्नान गर्नेको भिड लाग्छ  । यहाँका विभिन्न देवताको देउरोलाई समेत स्नान गर्ने धार्मिक प्रचलन रहिआएको परशुराम क्षेत्र विकास समिति पूर्वअध्यक्ष कैलाशकुमार पाण्डेयले बताउनुभयो तर महाकाली नदीमा पुल नहुँदा आउजाउ गर्न समस्या हुने र सबै आस्थावान् आउन नसक्ने अवस्था रहेको उनले बताए ।