मार्क जुकरबर्ग र एलन मस्कको निजी विमान ट्र्याक गर्ने अकाउन्ट प्रतिबन्ध

बिहीबार कार्तिक ८, २०८१/ Thursday 10-24-24
Paschim Today

काठमाडौं । एलन मस्क, मार्क जुकरबर्ग लगायतका उद्यमीको निजी विमान ट्रयाक गरी सार्वजनिक गर्ने सामाजिक सञ्जालका अकाउन्टलाई मेटाले प्रतिबन्ध लगाएको छ । एक्स (तत्कालीन ट्वीटर)ले प्रतिबन्ध लगाएको झन्डै दुई वर्षपछि मेटाले पनि यस्ता अकाउन्टमाथि प्रतिबन्ध लगाएको हो । 

एक्सको प्रतिबन्धपछि निजी विमान ट्रयाक गर्ने अकाउन्टमध्येको एक ‘एलन मस्क जेट’ मेटाको इन्स्टाग्राम र थ्रेड्समा सक्रिय थियो । उक्त अकाउन्टका सञ्चालक स्विनीले विज्ञप्ति राख्दै यस विषयमा जानकारी दिएका छन् ।

स्विनीका अनुसार मेटाले अकाउन्ट प्रतिबन्ध लगाउनुको खास कारण दिएको छैन । अकाउन्ट फिर्ता पाउँ भन्नका लागि त्यहाँ ‘अपिल’ को अप्सन पनि नरहेको उनको गुनासो छ । यस विषयमा मेटा पारदर्शी हुनुपर्ने भन्दै कम्पनीको कदमप्रति स्विनीले असन्तुष्टि व्यक्त गरेका छन् । 

स्विनी उक्त अकाउन्टबाट एलन मस्क, जेफ बेजस, बिल गेट्स, मार्क जुकरबर्ग, टेलर स्विफ्ट, पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प लगायतको विमान ट्रयाक गर्दै त्यसबारे जानकारी दिन्थे । 

“व्यक्तिहरूलाई शारीरिक हानी पुग्ने जोखिम भएको र इन्डिपेन्डेन्ट ओभरसाइट बोर्डको सिफारिसको पालना गर्दै हामीले हाम्रो गोपनीयता नीति उल्लङ्घन गरेको भन्दै यस्ता अकाउन्ट निष्क्रिय गरेका छौं,” मेटाका प्रवक्ताले टेकक्रन्चलाई भनेका छन् । 

कुन पोस्टका कारणले मेटाको नीति उलङ्घन भयो भन्ने विषय स्पष्ट भइसकेको छैन । मेटाले स्विनीका सेलेन्ब जेट, जेट ट्रयाकिङ लगायतका अकाउन्टलाई प्रतिबन्ध लगाएको छ । 

निजी जेट ट्रयाक गर्ने अकाउन्ट ‘एलन मस्क जेट’ विरुद्ध मस्कले सन् २०२२ मा कानुनी उपचार खोजेको जनाएका थिए । गत वर्ष गायिका टेलर स्विफ्टले आफ्नो विमान ट्रयाक गर्ने अकाउन्ट नहटाए कानुनी कारबाही गर्ने बताएकी थिइन् । त्यसको केही समयमै विमान ट्रयाक गर्ने उनका अकाउन्टहरू मेटाबाट गायब भए ।

मेटाले प्रतिबन्ध लगाए पनि स्विनीले निजी विमानको जानकारी सार्वजनिक गर्न टेलिग्राम, ब्लुस्काई, मस्टडन लगायतका प्लेटफर्ममा एलनजेट नामको अकाउन्ट सक्रिय बनाएका छन् ।