राप्ती नदीमा डुबेर तीन बालिकाको मृत्यु

बिहीबार कार्तिक ८, २०८१/ Thursday 10-24-24
Paschim Today

दाङ । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर तीन बालिकाको मृत्यु भएको छ । लमही नगरपालिका–२ रनियाँपुरकी १२ वर्षीया झरना चौधरी, सोही ठाउँकै १२ वर्षीया निशा चौधरी र गढवा गाउँपालिका–४ खडकपुर घर भई लमही नगरपालिका–५ मा बस्दै आएकी १२ वर्षीया कृष्टी चौधरीको मृत्यु भएको छ ।

बिहीबार अपराह्न सवा ३ बजे राप्ती नदीमा नुहाउन भनेर गएका तीन बालिकाको मृत्यु भएको खबर आएपछि प्रहरी पुगेको दाङका प्रहरी प्रवक्ता डिएसपी ईश्वर थापाले जानकारी दिए । तीन जना बालिका बिहान खाना खाएर ११ बजेतिर नुहाउन भनेर राप्ती नदीमा गएका थिए । नुहाउने क्रममा उनीहरू गहिरोमा पसेको अनुमान छ । तीनै जना बालिकाको शव पोष्टमर्टमका लागि लमही अस्पतालमा राखिएको प्रहरीको भनाइ छ ।