सुदूरपश्चिमका किसानलाई गहुँ छर्ने चटारो

सोमबार कार्तिक १२, २०८१/ Monday 10-28-24
Paschim Today

बैतडी : बैतडीलगायत सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका किसानलाई गहुँ छर्ने चटारो छ । उच्च लेकाली क्षेत्रमा किसानले गहुँ छर्नेकार्य अन्तिम चरणमा पुर्‍याएका छन् भने बेँसी क्षेत्रमा मङ्सिर दोस्रो सातासम्म गहुँ छर्ने गरिएको छ ।

 

दोगडा केदार गाउँपालिका–३ का नारद भट्टले किसानलाई हाल गहुँ छर्ने चटारो रहेको बताए । सिँचाइ सुविधा नभएका ठाउँमा गहुँ छर्ने कार्य भइरहेको छ । उनले भने, 'चिसो ठाउँमा कात्तिक पहिलो सातादेखि नै गहुँ छर्ने कार्य शुरू भएको छ । हाल यहाँका किसान गहुँ छर्ने कार्यमा व्यस्त छन् ।'

 

लेकाली क्षेत्रमा पछि चिसो बढ्ने भएकाले कात्तिक पहिलो सातादेखि नै गहुँ छर्ने गरिएको किसानले बताएका छन् । कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख घनश्याम चौधरीले कात्तिक पहिलो सातादेखि नै गहुँ छर्ने कार्य शुरू भएको र लेकाली क्षेत्रमा लगभग गहुँ छर्ने कार्य सकिन लागेको बताए । 

 

गहुँ छर्दा पहिला खेतलाई खनजोत गरेर गोबरमल हाल्ने गरिन्छ । कतिपय ठाउँमा गहुँ छरेपछि मात्रै गोबर मल हाल्ने चलन रहेकाले त्यो गहुँका लागि उपयुक्त नभएको चौधरीको भनाइ छ । 'गोबर मललाई माटोमा मिसाएपछि गहुँ छर्न उपयुक्त हुनेछ । गहुँ छरेपछि गोबरमल हालेमा त्यसमा भएको तत्व नष्ट हुने भएकाले गहुँ छर्नुभन्दा पहिला गोबर मल हाल्नुपर्छ,' उनले भने । 

 

बैतडीमा डब्लु के १२०४ जातको गहुँको बीउ बढी प्रयोग भइरहेको छ । बैतडीमा १५ हजार चार सय हेक्टर क्षेत्रफमा गहुँखेती गरिने भए पनि आधाभन्दा बढी क्षेत्रमा सिँचाइको अभाव रहेको छ ।