बैतडी कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी, व्यवस्थापनमा समस्या

सोमबार कार्तिक १२, २०८१/ Monday 10-28-24
Paschim Today

बैतडी –जिल्ला कारगार बैतडीमा क्षमता भन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ । जिल्ला कारगार बैतडीले धेरै बर्षदेखि क्षमताभन्दा बढी कैदीबन्दीको व्यवस्थापन गर्नुपरिरहेको कारगारकी प्रमुख धारा भण्डारीले बताइन् । 

जिल्ला कारगार बैतडीमा २५ जना क्षमताको बन्दीगृह रहेको छ तर त्यहाँ ७८ जनालाई राखिएको छ । जिल्लाका कारागार बैतडीको बन्दीगृहमा १५ जना पुरुष र १० जना महिला गरेर २५ जना क्षमता रहेको छ । 

तर अहिले बन्दी गृहमा ५८ जना कैदीबन्दी र २० जना थुनुवा गरेर ७८ जना रहेका छन् । २५ जनाको क्षमता भएको बन्दी गृहमा ७८ जनाको व्यवस्थापन गर्नुपरिरहेको भण्डारीले बताइन् । उनले भनिन् ‘कारगारमा क्षमता भन्दा बढी कैदीबन्दी हुँदा बसाई व्यवस्थापनमा निकै समस्या भएको छ ।’

महिला बन्दीहरुलाई डडेल्धुरा पठाउने गरिएको छ । बन्दी व्यवस्थापनका लागि समस्या हुँदा महिला बन्दीहरुलाई डडेल्धुरा पठाउने गरिएको उनले बताइन् । 

खाट माथि खाट राखेर बन्दीहरुको बसाइ व्यवस्थापन गरिएको भण्डारीले बताइन् । पुरानो जीर्ण भवनमा बन्दीहरुलाई व्यवस्थापनका लागि निकै समस्या भएको कारगार कार्यालय बैतडीले जनाएको छ । 

जस्तापाताले छाएको जीर्ण भवनमा बर्षातको समयमा चुहिने समस्या छ भने हिउँदमा शीत झर्ने समस्या रही आएको छ । 

२०४० सालमा निर्माण भएको कारागार भवन जीर्ण भइसक्दा समेत नयाँ भवन बन्न सकेको छैन् । त्यसमा क्षमता भन्दा बढी कैदीबन्दी राख्नुपर्दा झन् समस्या भएको बताइएको छ ।

चालु आर्थिक बर्षमा कारागार भवन निर्माणका लागि अडाई करोड बजेट विनियोजन भएको कुरा सुनिएपछि बन्दीगृह बनाउने कि प्रशासनिक भवन बनाउने भन्ने बिषयमा केही जानकारी नआएको कारगार प्रमुख भण्डारीले बताइन् ।