सुदूरपश्चिममा उपनिर्वाचन सहजीकरण गर्न कांग्रेसबाट साउँदलाई जिम्मेवारी
धनगढीः नेपाली कांग्रेसका नेता एनपी साउँदलाई मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा आवश्यक समन्वय र सहजीकरण गर्न सुदूरपश्चिमका लागि जिम्मेवारी दिइएको छ।
महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वको स्थानीय तह उपनिर्वाचन केन्द्रीय संयोजन समितिले सुदूरपश्चिमका लागि प्रदेश, जिल्ला र स्थानीय कार्यसमितिसँग आवश्यक समन्वय र सहजीकरणको जिम्मा दिएको हो। नेपाली कांग्रेसका केन्द्रीय सदस्य साउँदले सुदूरपश्चिम प्रदेश कार्यसमितिसँग आवश्यक समन्वय र सहजीकरण गर्नेछन्।
कांग्रेसले उम्मेदवारहरू सिफारिस गर्न सुरू गरिसकेको छ। कांग्रेसले उपनिर्वाचनमा गठबन्धन नगर्ने बताएको छ। सुदूरपश्चिम प्रदेशकका रिक्त रहेका पालिका तहका ६ पदमा मंसिर १६ गते उपनिर्वाचन हुँदैछ। रिक्त रहेको बाजुराको स्वामीकात्तिक खापर गाउँपालिका उपाध्यक्ष र कैलाली जिल्ला समन्वय समितिका संयोजकको उपनिर्वाचनद्वारा पदपूर्ति गरिँदै छ।
पछिल्लो स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित स्वामीकात्तिकखापर गाउँपालिकाका उपाध्यक्ष मैना जोशी र कैलाली जिल्ला समन्वय समितिका संयोजक पदमबहादुर कलेलको निधन भएको थियो। यसैगरी रिक्त रहेको कञ्चनपुरको भीमदत्त नगरपालिका–६, डोटीको पूर्वीचौकी गाउँपालिका–६, बझाङको सुर्मा गाउँपालिका–४ र दार्चुलाको दुहु गाउँपालिका–५ को वडाध्यक्ष पदका लागि पनि उपनिर्वाचन हुन लागेको प्रदेश निर्वाचन हुँदैछ।
डोटीको पूर्वीचौकी–६ र कञ्चनपुरको भीमदत्त–६ मा पनि कांग्रेसबाट निर्वाचित वडाध्यक्षको निधन भएको थियो। बझाङको सुर्मा–४ र दार्चुलाको दुहु–५ मा नेकपा एमालेबाट निर्वाचित वडाअध्यक्षको निधन भएको थियो।
उपनिर्वाचनका लागि सम्बन्धित पालिका तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकिएको छ।
तपाईको प्रतिक्रिया