साउदी अरेबियामा तीन दशकयताकै उच्च संख्यामा मृत्युदण्डको सजाय

सोमबार मङ्सिर ३, २०८१/ Monday 11-18-24
Paschim Today

३ मंसिर, काठमाडौं । साउदी अरेबियाले तीन दशकयताकै सबैभन्दा उच्च संख्यामा मृत्युदण्डको सजाय दिएको छ । गत सेप्टेम्बरमा साउदीले तीन दशकयताकै उच्च संख्यामा मृत्युदण्ड दिएको थियो ।

साउदीमा सन् १९९५ मा १९२ जनालाई मृत्युदण्ड दिइएको थियो । यो वर्ष उक्त संख्या २५० भन्दा माथि पुगिसकेको छ । एएफपीका अनुसार हालसम्म २७४ जनालाई मृत्युदण्ड दिइएको छ ।
साउदीमा यो वर्ष एक सयभन्दा बढी विदेशी नागरिकलाई मृत्युदण्ड दिइएको छ । भर्खरै मात्र लागूऔषध तस्करीको आरोपमा एक यमनी नागरिकलाई मृत्युदण्डको सजाय सुनाइएको थियो । यो वर्ष अहिलेसम्म साउदी अरेबियाले कुल १०१ विदेशी नागरिकलाई मृत्युदण्ड दिएको एएफपीको रिपोर्टलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ ।

यसअघि सेप्टेम्बरमा एम्नेस्टी इन्टरनेशनलले साउदी अरबमा मृत्युदण्डको सजाय बढेकोमा चिन्ता व्यक्त गरेको थियो । यो सन् २०२३ र २०२२ को तथ्यांकभन्दा झण्डै तीन गुणा बढी हो । २०२२ र २०२३ मा समान ३४ जना विदेशीलाई मात्र मृत्युदण्ड दिइएको थियो ।
‘यो एक वर्षमा विदेशी नागरिकको मृत्युदण्डको सबैभन्दा धेरै संख्या हो’ बर्लिनस्थित युरोपेली(साउदी मानवअधिकार संस्थाका कानूनी निर्देशक ताहा अल-हज्जीले एएफपीलाई भनेका छन् ।

मानवअधिकार संगठनहरूले साउदी अरेबियामा दिइँदै आएको मृत्युदण्ड सजायको कडा आलोचना गर्दै आएका छन्।