हिमालहरू हाम्रो पहिचान हो, यसको रक्षा सबैले मिलेर गर्नुपर्छः डा. रेग्मी
काठमाडौँ । पर्यटन विभागका महानिर्देशक डा. नारायणप्रसाद रेग्मीले सरकारले हिमाली क्षेत्रमा हुने फोहोर नियन्त्रणको लागि धेरै कदमहरु चालिसकेको बताएका छन् ।
बुधबार काठमाडौँमा विश्व शौचालय दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले गाउँ, सहरहरुमा सरसफाई गर्ने र शौचालय बनाउने काम सजिलो भए पनि हिमाली क्षेत्रमा यस्तो काम गर्न गाह्रो हुने भन्दै सरकारले आवश्यक कदमहरु चालेको बताएका हुन् ।
यस्तै, उनले यो काम सरकार एक्लैले गर्न नसक्ने भन्दै यसको लागि बृहत सहकार्य आवश्यक पर्ने बताए । उनले भने, ‘सरकारले यसको लागि हिमाली क्षेत्रमा हुने फोहोर नियन्त्रणको लागि धेरै नै कदमहरु चालिसकेको छ र गर्वका साथ भन्न सक्छु कि सरकार सधैं तयार छ, हिमाललाई सफा गर्ने कुरामा तर हामीलाई अन्य संस्थाहरुको सहयोग पनि चाहिन्छ । सरकार एक्लैले सबै कामहरु गर्न सक्दैन ।
गाउँ र सहरहरुमा सरसफाई गर्ने र शौचालय बनाउने काम सजिलो हुन्छ तर हिमाली क्षेत्रमा यस्तो काम गर्न अलि गारो नै हुन्छ त्यही कारण हामीलाई यो काम गर्नको लागि बुहत सहकार्यको आवश्यकता पर्छ । सरकार यसको लागि सधैँ तयार छ ।’यसको साथै उनले हिमालहरु भनेको हाम्रो पहिचान भएको भन्दै यसको रक्षा सबै मिलेर गर्नुपर्ने बताए । उनले भने, ‘तपाईंहरुले जुन हिमालको बारेमा कुराहरु उठाउनु भएको छ त्यसमा म र मेरो संस्था एकदमै सचेत छ । म पनि के विश्वास गर्छु भने हिमालयहरु हिमालको रुपमा मात्र होईन की यो हाम्रो जीवन, संस्कारको प्रतिक पनि हो । हामी नेपाल मात्र होइन पूरै विश्व नै हिमाल र हिमालयन संस्कारबाट प्रभावित भएका हुन्छन् । त्यसैले हिमालहरु भनेको हाम्रो पहिचान हो र हामीले यसको रक्षा गर्नुपर्छ ।’
तपाईको प्रतिक्रिया