कैलालीमा दुई युवतीले गरे आत्महत्या

आइतबार मङ्सिर ९, २०८१/ Sunday 11-24-24
Paschim Today

 कैलाली । कैलालीको घोडाघोडी नगरपालिकामा दुई युवतीले झुण्डिएर आत्महत्या गरेका छन् । फरक–फरक स्थानमा भएको आत्महत्याको कारण भने खुलेको छैन । 

घोडाघोडी नगरपालिका –७ कीर्तिपुर बस्ने १६ वर्षीय भावना बोहरा आइतबार झुण्डिएको अवस्थामा फेला परेकी छन् । इलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरीक्षक डिबी साउँदले घरनजिक जङ्गलको किनारमा घाँटीमा पासो लगाएर रुखमा झुण्डिएको अवस्थामा फेला परेको  जानकारी दिए । 

कक्षा ८ मा अध्ययनरत बोहरा तीन पटकसम्म फेल भएको परिवारबाट बुझिए पनि आत्महत्याको कारण भने खुल्न नसकेको प्रारम्भिक अनुसन्धानबाट बुझिएको प्रहरीले बताए ।

त्यसैगरी घोडाघोडी नगरपालिका वडा ५ वनखेत बस्ने २१ वर्षीय सबिता चौधरीले आफ्नै घरमा शनिबार दिउँसो झुण्डिएर आत्महत्या गरेको परिवारका सदस्यहरुको भनाइ छ । चौधरीको आत्महत्याको कारण खुलेको छैन । विवाहित चौधरीको घर र माइती पक्षबाट पनि आत्महत्याको कारण बारे खुलेको छैन ।