सन् २०२३ मा विश्वभर झन्डै ८५ हजार महिला तथा बालिकाको हत्या
एजेन्सी । सन् २०२३ मा हरेक दिन औसत एक सय ४० जना महिला तथा बालिका उनका साथी वा परिवारका सदस्यबाट मारिएका प्रतिवेदन सार्वजनिक भएको छ । संयुक्त राष्ट्रसङ्घ (यूएन) को लागूऔषध तथा अपराध कार्यालय (यूएनओडीसी) र राष्ट्रसङ्घको महिला विभागले सार्वजनिक गरेको प्रतिवेदनअनुसार सन् २०२३ मा हरेक १० मिनेटमा एक जना महिला मारिएका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
प्रतिवेदनले महिला तथा बालिकाविरुद्धको हिंसाको सबैभन्दा चरम रूप 'फेमिसाइड' विश्वव्यापी रूपमा व्याप्त रहेको र महिला र बालिकाका लागि घर नै सबैभन्दा खतरनाक ठाउँ भएको देखाएको छ । 'फेमिसाइड' भनेको लैङ्गिक आधारमा हुने हत्या हो जहाँ महिला भएकै आधारमा महिलाको हत्या हुन्छ ।
सन् २०२३ मा विश्वभर झन्डै ८५ हजार महिला तथा बालिकाको हत्या भएको राष्ट्रसङ्घले जनाएको छ । जसमा ६० प्रतिशत हत्या साथी तथा परिवारका सदस्यद्वारा भएको उल्लेख छ ।
प्रतिवेदनका अनुसार गएको वर्ष अफ्रिकामा साझेदार र परिवारसँग सम्बन्धित महिला हत्या सबैभन्दा धेरै भएको छ । त्यसपछि सबैभन्दा धेरै महिलाको हत्या हुनेमा अमेरिका र ओसिनिया रहेका छन् ।
प्रतिवेदनले अपराधीहरूलाई जवाफदेही बनाई अब्बल न्याय प्रणालीका लागि जीवितहरुलाई सहयोग सुनिश्चित गर्नुपर्ने बताउँदै यूएनओडीसीका कार्यकारी निर्देशक घडा फाथी वालीले लैङ्गिक पूर्वाग्रह तथा महिलाविरुद्धको हिंसालाई अन्त्य गर्न आह्वान गरेका छन ।
तपाईको प्रतिक्रिया