रेडियो नेपाल र नेपाल टेलिभिजन सबैको पहुँचमा पुग्छ : सञ्चारमन्त्री गुरुङ

बुधबार मङ्सिर १२, २०८१/ Wednesday 11-27-24
Paschim Today

काठ्माण्डौँ- सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले युगानुकूल स्तरोन्नति गर्दै सरकारी सञ्चार माध्यमहरुलाई अघि बढाइने उल्लेख गरेका छन । सार्वजनिक सेवा विभाग रेडियो नेपाल काठमाडौंले बुधबार पोखरामा आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन। 

नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका गुरुङले रेडियो नेपाल र नेपाल टेलिभिजनको पहुँच सबै नेपालीमा यस वर्षभित्र पुर्‍याइने उल्लेख गरे । “रेडियो नेपाललाई यस वर्षभित्रै नेपालका सबै घरमा सुनिने बनाइसक्छौँ, नेपाल टेलिभिजन पनि यही वर्षभित्र सबै नेपालको घरबाट हेर्न मिल्ने बन्छ ।” नेपालको पर्यटन प्रवर्द्धन र पहिचानका लागि एनटिभी वर्ल्ड यसै वर्ष सञ्चालन हुने उनको भनाइ छ ।

सरकारी सञ्चार माध्यम आधा शताब्दीभन्दा पुराना ऐनहरुबाट सञ्चालन भइरहेको उल्लेख गर्दै उनले सार्वजनिक सेवा प्रशारण कार्यान्वयनपछि यो क्षेत्रमा नयाँ आयाम थपिने जनाए । “हामीले ब्रिटिस मोडेलको सार्वजनिक सेवा प्रशारण चलाउँदै छौँ,” उनले भने, “रेडियो नेपाल र नेपाल टेलिभिजन प्रशारण माध्यम भएकाले यसमा आए, गोरखापत्र छापा भएकाले आएन ।” उनले गोरखापत्र संस्थानको ऐनलाई पनि सामयिक संशोधन गरी सार्वजनिक प्रशारण जस्तै मोडेलबाट सञ्चालन गरिने प्रष्ट पारे । 

सरकारले सञ्चार माध्यमहरु नाफाका लागि नभई सेवाका लागि सञ्चालन गरेको उल्लेख गर्दै उनले तीन तहकै सरकारले ती माध्यमलाई अपनत्व लिई सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । सरकारी सञ्चार माध्यममा सङ्घीयता कार्यान्वयनको सौन्दर्य देखिने उनको भनाइ छ । “सङ्घीयता राम्ररी कार्यान्वयन भएको कही छ भने त्यो सरकारी सञ्चार माध्यममा छ । विभिन्न भाषामा सामाचार, कार्यक्रम र सामग्री प्रशारण भइरहेका छन्,” उनले भने । 

नेपाल सरकारले सञ्चार क्षेत्रलाई व्यवस्थित गर्न आरम्भ गरेको जनाउँदै उनले अनलाइन माध्यमहरुमा देखिएका अराजकता नियमन गर्नैपर्नेमा जोड दिए । मन्त्री गुरुङले भने, “सामाजिक सञ्जाल र अनलाइनलाई नियमनका लागि आउँदो अधिवेशनबाटै मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारी छ ।” अनियमितता, मुद्दा लगायतका कारण सञ्चालनमा आउन नसकेको सुरक्षण मुद्रण केन्द्रलाई समेत चाँडै चलाउने तयारी रहेको उनले उल्लेख गरे ।

गण्डकी प्रदेशकी प्रेस रजिष्ट्रार विमला भण्डारीले रेडियो नेपालसँग प्रदेश सरकार र प्रेस रजिष्ट्रार कार्यालयले सहकार्य गर्दै आएको जनाउनुभयो । “सञ्चारमा सबै प्रदेशबासीको हक सुनिश्चित गर्न हामी सहकार्य गरिरहेका छौँ,” उनले भने । कार्यक्रममा रेडियो नेपालका कार्यकारी निर्देशक अमरध्वज लामाले आरम्भमा प्रदेशसम्म जानुपर्ने भन्ने मनन गरी पोखरा आएको उल्लेख गरे । “पत्रकारका सङ्घ, संस्था, विज्ञ, पत्रकारका सुझाव समेटेरअघि बढ्छौँ,” उनले भने। 

कार्यक्रममा रेडियो नेपालका कार्यक्रम महाशाखा प्रमुख ताराप्रसाद वस्तीले “रेडियो नेपालको प्रशारणमा समावेशिता” विषयमा कार्यपत्र पेश गरे । रेडियो नेपालले केन्द्रीय प्रशारण, सात प्रादेशिक प्रशारण केन्द्रसहित ३३ एमएफ स्टेशनबाट प्रशारण गरिरहेको उनको भनाइ छ । रेडियो नेपाल गण्डकी प्रदेश प्रमुख शान्ति गुरुङले नेपाली जनतामा भावनात्मक एकता, सूचना, मनोरञ्जन, जनचेतना र समाचार पुर्‍याउन लागिपरेको जानकारी दिए ।