नेपालमा एकल महिलाको संख्या दोब्बर
काठमाडौं । नेपालमा पछिल्लो दुई दशकमा एकल महिला संख्या दोब्बरले बढेको पाइएको छ । केन्द्रीय तथ्यांक कार्यालयले सोमबार एकल महिलासँग सम्बन्धित तथ्यांक सार्वजनिक गरेको छ । तथ्यांक अनुसार सन् २००१ को जनगणनामा एकल महिला संख्या ३.७ प्रतिशत रहेकोमा २०२१ (२०७८ साल) मा दोब्बरले वृद्धि भएको छ ।
अहिले एकल महिला संख्या ८ प्रतिशत पुगेको कार्यालयको आँकडा छ । २०७८ सालको जनगणना अनुसार देशभरिका एकल महिला संख्या ९ लाख ९७ हजार ६ सय ६२ छ । यो विधवा, पारपाचुके गरेको, छुट्टिएको र ३५ वर्षमाथिको अविवाहित महिला संख्या हो । सन् २००१ मा पारपाचुके/छुट्टिएर बसेका महिला संख्या ०.३ प्रतिशत रहेकोमा अहिले बढेर ०.७ प्रतिशत पुगेको छ ।
कुल एकल महिलामध्ये विधवा महिला संख्या अहिले ८ लाख २६ हजार १ सय ४७ रहेको देखिन्छ । देशभरि विधुर पुरुष संख्या भने २ लाख ५५ हजार ८ छ । यसप्रकार देशभरि विधवा/विधुर संख्या १० लाख ८१ हजार १ सय ५५ जना रहेको जनगणनाको तथ्यांकले देखाएको छ । देशभरि पारपाचुके गरेका महिला संख्या २१ हजार २ सय ८७ र पुरुष संख्या १५ हजार ८ सय ५२ छ । त्यस्तै छुट्टिएर बसेका महिला संख्या ५९ हजार ५ सय २५ र पुरुष संख्या ३५ हजार ७ सय ५७ छ ।
तपाईको प्रतिक्रिया