द्वन्द्वमा बाँचेका हमालको मेयरसम्मको यात्रा

बिहीबार मङ्सिर २०, २०८१/ Thursday 12-05-24
Paschim Today

मुलुकमा माओवादी विद्रोह चरमोत्कर्षमा थियो । सदरमुकाम धनगढीमा बम पड्किनु, गोली चल्नु सामान्य थियो । माओवादी लडाकुहरुले छापामार शैलीमा शहरभित्रै पसेर दिनदहाँडै सुरक्षाकर्मी र राजनीतिकर्मीको हत्या गर्थे । सुरक्षाकर्मीहरु एक्लै दिउँसो सेतो पुलपारी जान डराउथे । साँझ नपर्दै धनगढी सुनसान भईसक्थ्यो । माओवादीको निशानामा सुरक्षाकर्मी, राजनीतिकर्मी, राजावादी र उनीहरुले सुराकीको आरोप लगाएका मान्छेहरु थिए ।

तीनैमध्ये एक थिए गोपाल हमाल, जो माओवादीको निशानामा थिए । उनको स्वामित्वमा थुप्रै व्यवसाय थिए । त्यसमध्ये उनको सबैभन्दा ठूलो व्यवसाय थियो, दिनेश ट्राभल्स ।

२०६१ साउन २७ गते धनगढीस्थित दिनेश बसपार्कमा दिनेश ट्राभल्सको से १ ख ४७० नम्बरको बसमा माओवादी बिद्रोहीले राखेको बम बिष्फोट हुदा बस चालक नवराज भट्टको मृत्यु भयो । त्यसअघि पनि माओवादीले उनका बसमा आगजनी र बिष्फोट गरिसकेका थिए । सोहीक्रममा बझाङको देउरामा दिनेश ट्राभल्सको बसको ठक्करबाट एकजनाको मृत्यु भएको थियो । त्यसपछि दिनेश ट्राभल्सका दुई वटा बस र त्यसका चालक, सहचालकहरुलाई नियन्त्रणमा लिएर माओवादीले आफूसंग देउरामा राखेका थिए । माओवादीले बस र चालकलाई नियन्त्रणमुक्त गर्न पाँच लाख रुपैया मागेका थिए ।

हमालले माओवादीहरुसंग संवाद गरेर बस र कर्मचारीहरुलाई नियन्त्रणमुक्त गर्न मसंग आग्रह गरे । यातायात क्षेत्रमा राम्रो काम गरिरहेका हमाललाई सहयोग गर्नु उचित लाग्यो । र, म पत्रकार राजेश बागचन्द, अधिकारकर्मी रमेश बस्नेत र दिनेश ट्राभल्सका महाप्रबन्धक बुन्दीलाल चौधरीलाई लिएर दुई दिनपछि देउरा पुगे । चौधरीले साथमा पाँच लाख रुपैया लिएर गए ।

त्यहाँ पुगेपछि माओवादीसंग लामो छलफल भयो । बस चालकलाई कानूनी कारबाही हुनुपर्छ । दुर्घटना कानूनी विषय भएकोले पैसामा यसलाई टुंग्याउनुहुन्न भन्ने मेरो अडान थियो । र, अन्ततः माओवादी पैसा नलिएर बस र कर्मचारीहरु छोड्न सहमत भए । त्यसपछि माओवादीको नियन्त्रणमा रहेका बस र कर्मचारीहरुलाई धनगढी ल्याएर आउन सफल भयौ ।

त्यहाँबाट फर्किएको केहीदिनपछि माओवादीले कैलालको चिसापानीबाट दिनेश ट्राभल्सका सात वटा बस नियन्त्रणमा लिएर पितमारी पु¥याए । बस र कर्मचारीहरुलाई माओवादीको नियन्त्रणबाट मुक्त गरेर ल्याईदिन हमालले पुनः आग्रह गरे । र, म पत्रकार दीपक उपाध्यायलाई साथमा लिएर पितमारी पुगे । त्यहाँ पनि लामो छलफल र संवादपछि माओवादी बस र कर्मचारी नियन्त्रणमुक्त सहमत भए । सात वटै बस र तिनमा कार्यरत चालक र कर्मचारीलाई नियन्त्रण मुक्त गरेर धनगढी ल्याए ।
दिनेश ट्राभल्सका सञ्चालक गोपाल हमाल माओवादीको निशानामा थिए । दिनेश ट्राभल्सको उद्घाटन तत्कालीन प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दले गरेका थिए ।

राजाको शासनको बिरोधमा रहेका दलहरुले दिनेश ट्राभल्स उद्घाटन गर्न आएका प्रधानमन्त्री चन्दलाई धनगढीमा कालोझण्डा देखाए । दलहरुको बिरोधका बाबजुद पनि हमालले राजावादी प्रधानमन्त्री चन्दलाई ट्राभल्सको उद्घाटन गर्न निम्त्याउनु शंकाको घेरामा थियो । हमाल स्वयम राजावादी भनेर चिनिन्थे ।

दिनेश ट्राभल्स अन्तर्गत सञ्चालित बसहरु समयमा हिड्थे । र, समयमा गन्तव्यमा पु¥याउथे । यात्रुसंख्या थोरै भएपनि आधा बाटोमा यात्रुहरुलाई छोडेर अलपत्र पार्दैनथे । दिनेश ट्राभल्सका बसका कर्मचारीहरुले यात्रुहरुसंग गर्ने व्यवहार पनि राम्रो    थियो ।

यातायातका क्षेत्रमा केही देखिने परिवर्तन गरिरहेको दिनेश ट्राभल्ससंग ७० भन्दा बढि बस थिए । र, उपस्थितिपछि यातायात क्षेत्रमा रहेको सिण्डिकेट धरमाईरहेको त्यो समयमा अन्य बस व्यवसायी समितिहरु दिनेश ट्राभल्सका बिरुद्ध एकजुट हुन थालेका थिए ।

सम्पूर्ण यातायात व्यवसायीका लागि चुनौती बनेका हमालको रजगज पहिले देखि नै माओवादीलाई मन परेको थिएन । किनकी हमालले आयोजना गर्ने पाटी र भोजहरुमा सेनाको उपस्थिति हुन्थ्यो । उनको सेना र सुरक्षा निकायसंग राम्रो सम्बन्ध थियो । कतिसम्म भने उनको पाटीमा सेनाका जवानहरु वेटरका रुपमा प्रयोग हुन्थे ।

धनगढीमा उनको बोलवाला थियो । उनले जे चाह्यो त्यो गर्थे । उनलाई प्रहरी प्रशासनको आड थियो । कतिसम्म भने यहाँका मारवाडी र अन्य व्यवसायीले माओवादीलाई वा अरु कसैलाई चन्दा वा सहयोग गर्दा हमाललाई सोध्थे ।

उनीसंग सबै डराउथे । तर उनीभने माओवादीसंग डराउथे । माओवादीले लगातार उनका बसहरु नियन्त्रण लिन थालेका थिए । माओवादीको निशानामा पर्न थालेपछि हमाल घरबाहिर निस्किन छोडेका थिए । उनका नजिकका मान्छेहरु पनि उनलाई बाहिर ननिस्किन सुझ्याउथे ।

बसमा बम बिष्फोटन भएको साँझ म उनलाई भेट्न बसपार्क पुगे । त्यहाँ उनी अत्यन्त हताश अवस्थामा थिए । उनले मसंग कुराकानीमा धनगढी छोड्ने कुरा गरे । भने, म अव यहाँ बस्दैन । सबैचिज छोडेर जान्छु ।

सान्त्वना दिदै मैले भने, तपाई जस्तो आँट र हिम्मत भएको मान्छेलाई यस्तो कुरा गर्न सुहाउदैन ।

तपाई धनगढी छोडेर जाने कुरा गर्दै नगर्नुस, मैले थपे, म तपाईलाई साथ दिन्छु ।

मैले माओवादीसंग संवाद गरेर सबै समस्या सुल्झ्याउने आश्वासन दिए । र, नआत्तिन सुझाव दिदै त्यो साँझ छुट्टिए ।

उनको आस्था, बिचार वा व्यवहार मेरो चासोको विषय थिएन । हमाल जस्तो व्यवसायीले धनगढी छोड्नु हुन्न । र, उनलाई धनगढी छोड्ने अवस्था आउन दिनुहुन्न भन्ने मेरो सोचाई थियो । हमालबाट शुरुहुने पलायन वा बिस्थापनको श्रृंखलाले धनगढीमा कुनै व्यवसायी जोगिने छैन भन्ने मेरो बुझाई थियो । त्यसपछि उनी र मेराबीचमा हरेक दिनजसो कुरा भईरहन्थ्यो ।

कैलालीमा त्यतिबेला पत्रकारको संख्या थोरै थियो । तर पत्रकारहरुका बीचमा एकता थियो । र, सुरक्षा निकाय र माओवादी बिद्रोही दुबै पक्षसंग पत्रकारहरुको सन्तुलित सम्बन्ध थियो । अरु जिल्लामा पत्रकारहरु दुबै पक्षमा बेपत्ता, हत्या, पक्राउ र प्रताडित भईरहदा कैलालीमा पत्रकारहरु दुई बन्दुकका बीचमा संयमित भईरहेर पत्रकारिता गरिरहेका थिए । यही विश्वासका कारण दुबै पक्षबीचको लडाईका क्रममा वा लडाईपछि रिपोर्टिङका लागि हामी पत्रकारहरु घट्नास्थल पुग्थ्यौ ।

पत्रकारिताको मर्यादा, सीमा र धर्म ईमान्दारितापूवर्क निर्बाह गरेकै कारण कहिल्यै दुबैपक्षबाट मलाई कहिल्यै असुरक्षित महशुस भएन । त्यसकारण जुन सुकै विषय र घट्नामा माओवादी र सुरक्षा अधिकारीहरुसंग सोझै सम्पर्क गरेर जिज्ञासा राख्ने क्षमता राख्थ्यौ ।

युद्धको रिपोर्टिङ र त्यहाँ भएको मानवीय क्षतिको बिबरण संकलन र त्यसको सम्प्रेषण गर्नुलाई मात्र पत्रकारिता ठानेन । र त, युद्धका १० वर्षमा माओवादी र सुरक्षा निकायबाट नियन्त्रण र पक्राउ गरेका सर्वसाधारण र निर्दोष मान्छेहरुलाई मुक्त गर्न दवाव दियौ । त्यसक्रममा थुप्रै सर्वसाधारण र निरस्त्र नागरिकका लागि सरकार र बिद्रोहीहरुकाबीचमा हामी रोहवरमा बस्यौ । र, उनीहरुलाई नियन्त्रण मुक्त गर्न पहल ग¥यौ । हमाललाई सहयोग गर्नुलाई पत्रकारिताको दायित्वभन्दा पर राखेन । र, उनलाई निस्वार्थ साथ दिने अठोट गरे ।

उनीमाथि चौतर्फी आक्रमण भईरहेको थियो । बस समितिहरु उनको खिलाफमा थिए । माओवादी उनलाई जुनसुकै बेला मार्न सक्थे । सेनासंग उनको सम्बन्ध नराम्ररी बिग्रिसकेको थियो । व्यवसाय जोगाउने कुरा त प्राथमिकतामै थिएन । त्यतिबेला उनीसंग दुईवटा बिकल्प थिए । पहिलो धनगढी छोड्ने । दोस्रो, मारिन तयार हुने ।

यी सबै समस्या समाधानका लागि मैले तेस्रो बिकल्प रोजे, माओवादीसंग हमालको वार्ता । त्यसमा हमाल सहमत भए ।
तत्कालीन समयमा माओवादीका कैलाली ईञ्चार्ज हरी ज्ञवाली ‘अखण्ड’ थिए । मैले अखण्डसंग संवादका लागि कुरा चलाए । अखण्ड भेट्न तयार भए ।

हमाल माओवादीसंग संवाद त गर्न चाहन्थे । तर नेपालमा नभएर भारतमा । पलियामा माओवादीको आउजाउ भईरहने गरेको सुनिन्थ्यो । हमाल त्यतिबेला माओवादीको त तारो थिए नै । नेपाली सेनाको समेत तारो थिए । उनको कैलालीको पहलवानपुरस्थित मिलमा माओवादीको बन्दोवस्तीका सामानहरु बरामद भएपछि सेनासंगको सम्बन्ध बिग्रिएको थियो ।
उनले मलाई भारतमा मिटिङ गराउन आग्रह गरे । माओवादीसंग वार्ता वा भेटेको सूचना पाए सेनाले मार्छ भन्ने उनीभित्र डर थियो । कैलालीको तेघरीस्थित नेपाली सेनाका महासेनानी रामशरण कार्कीले उनलाई ‘थ्रेट’ गरेका थिए । कार्कीको बुझाई हमालले माओवादीलाई सहयोग गरिरहेको भन्ने थियो ।

त्यही कारण हमाल नेपालमा माओवादीसंग वार्ता गर्ने जोखिम मोल्न डराईरहेका थिए । वार्ता गर्न जति ढिलाई भयो, त्यति नै क्षति व्यहोर्नुपर्ने भएकोले यथाशिघ्र वार्ता गराईदिन उनी मसंग आग्रह गरिरहेका थिए ।

माओवादीका कैलाली ईञ्चार्ज अखण्ड वार्ताका लागि तयार त भए । भारत जान मानेनन । र, अन्ततः कैलालीमै वार्ता गर्ने अखण्ड र मेराबीचमा सहमती भयो । तर वार्ता गर्ने स्थान भने तय भएको थिएन । माओवादीले कहिल्यै पनि वार्तास्थल पहिले खुलासा गर्दैनथे ।

अखण्डले हामीलाई कैलालीको लम्की आउन भने । र, उनले आउन भनेकै दिन दुई वटा मोटरसाईकलमा हामी चार जना ( म, गोपाल हमाल, ईन्सेकका क्षेत्रीय संयोजक खड्कराज जोशी र दिनेश ट्राभल्सका महाप्रबन्धक बुन्दीलाल चौधरी) धनगढीबाट झण्डै ८० किमी यात्रा तय गरेर लम्की पुग्यौ । लम्कीमा पोखरेल होटलमा हामीलाई पर्खिरहेका माओवादी कार्यकर्ताले होटलको पछाडि पट्टिको कोठामा लगे । जहाँ एकछिनमा अखण्ड सहित माओवादीका तीन जना नेता आईपुगे । त्यसपछि शुरु भयो, माओवादी र हमालबीचवार्ता ।

पहिले त माओवादीले हमालमाथि लगाएका आरोप र आशंकामा छलफल भयो । माओवादीलाई सहयोग नगरेको । राजावादी भएको । राजा ज्ञानेन्द्रको लगानीमा दिनेश ट्राभल्स सञ्चालन गरेको । र, राजावादी प्रधानमन्त्री लोकेन्द्र चन्दको हातबाट दिनेश ट्राभल्सको उद्घाटन गरेको । हमालमाथि माओवादीले लगाएका आरोपहरु यिनै थिए । उनीमाथि सबैभन्दा ठूलो आरोप माओवादीलाई नटेरेको भन्ने थियो ।

हमाललाई यी आरोपका विषयमा पहिल्यै थाह थियो । त्यसकारण उनी दिनेश ट्राभल्सको लगानीका बारेमा क्लियर गर्न बैंकको सम्पूर्ण स्टेटमेण्ट र खातापाता लिएर गएका थिए । उनले आफ्ना सबै आर्थिक बिबरणहरु अखण्डका अगाडि राखे । र, आफूमाथि सबै आरोपका बारेमा सफाई दिए ।

माओवादीका सुदूर पश्चिम सैन्य कमिसार जनार्दन शर्मा ‘प्रभाकर’ले हमाललाई पाँच लाख रुपैया चन्दा माग गरेका रहेछन् । उनले पहिलो किस्ताका रुपमा तीन लाख रुपैया आफ्ना कर्मचारीका हातमा पठाएका पनि रहेछन् । तर  त्यो रकम लगेका कर्मचारीले आफैले खाईदिएछन् । । माओवादीलाई बुझाएनछन् । माओवादीलाई पठाएको पैसा बाटोमै गायव भयो ।
माओवादीलाई लागेछ, हमालले टेरेनन ।

त्यहीबेला धनगढीमा राजा ज्ञानेन्द्रको अभिनन्दन समारोह थियो । समारोहका कोषाध्यक्ष थिए, हमाल ।

हामीलाई सहयोग गर्न अटेर गर्ने राजाका लागि सहयोग जुटाउने भन्दै रिसाएको माओवादीले त्यसपछि हमाललाई धराशायी बनाउने निर्णय गरेको रहेछ ।

मलाई माओवादी र हमालको आर्थिक पाटोमा कुनै चासो थिएन । त्यो उनीहरुबीचको आन्तरिक कुरा थियो । तर मेरो एउटै आग्रह थियो, सुदूरपश्चिममा यातायातका क्षेत्रमा राम्रो काम गरिरहेको व्यवसायीलाई धराशायी बनाउन भएन ।

दुई घण्टा लामो छलफलपछि माओवादी र हमालकाबीचमा रहेका सबै असमझदारीहरु अन्त्य भए । दिनेश ट्राभल्समा राजाको लगानी नरहेको कुरा पनि हमालले क्लियिर गरे । र, आगामि दिनमा कुनैपनि किसिमको आक्रमण नगर्ने र कुनै पनि असमझदारी, आशंका र सहयोगको विषय भए सोझै हमालसंग संवाद गर्ने सहमती भयो ।

माओवादी र हमालबीचको वार्ताका बारेमा सूचना पाए कुनैपनि बेला सेना त्यहाँ पुग्न सक्थ्यो । पोखरेल होटलबाट करीव पाँच सय मिटरको दूरीमा सुरक्षाफौजको क्याम्प थियो । सुरक्षाफौज त्यहाँ आईपुगे, हामी सबै मारिने जोखिम थियो । तर जोखिम नमोली वार्ता हुदैनथ्यो । हामीले त्यो जोखिम मोल्यौ । वार्ता पनि सफल भयो । हामी जोगियौ पनि ।

तर सहमतीको दुई दिनपछि माओवादीले भीमदत्त राजमार्गबाट दिनेश ट्राभल्सका १२ वटा बस नियन्त्रणमा लिएर बीपीनगर पु¥यायो । कैलाली ईञ्चार्ज अखण्डलाई यो कुराको जानकारी दिएपछि उनले नै ती बसहरु नियन्त्रणमुक्त गरे ।

हमालमाथि त्यसदिन यता माओवादीबाट कहिल्यै कुनै किसिमको आक्रमण भएन । र, उनी निर्बाध रुपमा व्यवसाय गर्न थाले । यतिबेला हमाल धनगढीका मेयर छन् ।

(पत्रकार उपाध्यायको प्रकाशोन्मुख पुस्तक ‘द्वन्द्व पत्रकारिताको एक दशक’को दोस्रो संस्करणबाट । पुस्तकको पहिलो संस्करण तीन महिना पहिले प्रकाशित भएको थियो ।)