कैलालीबाट १ करोडभन्दा बढी मूल्यको सुनचाँदी र नगद बरामद, ३ जना पक्राउ
सशस्त्र प्रहरीले कैललालीको भजनीबाट एक करोड रुपैयाँ भन्दा धेरै मूल्यको सुन, चाँदी, नगद तथा अन्य सामानसहित तीन जनालाई पक्राउ गरेको जानकारी दिएको छ ।
सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार भजनी नगरपालिका-५ स्थित कौवाखेडा सीमा इलाकाबाट शनिबार साँझ उनीहरूलाई उक्त सामानसहित नियन्त्रणमा लिइएको हो ।
पक्राउ पर्नेमा सुर्खेतका चौकुनी गाउँपालिका-१० बस्ने ३६ वर्षीय महेन्द्रबहादुर शाही, वीरेन्द्रनगर नगरपालिका-१ बस्ने ३१ वर्षीय हर्कबहादुर बिक र पञ्चपुरी नगरपालिका- ११ बस्ने ३२ वर्षीय महेश सुनार रहेका थापाले जानकारी दिएका छन् ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण कैलाली मातहतको बोर्डर आउट पोष्ट (बीओपी) पगियापसारले उनीहरूलाई उक्त सामानसहित नियन्त्रणमा लिएको हो ।
भारतबाट नेपालतर्फ आउँदै गर्दा शङ्का लागि जाँच गर्दा ८० लाख ७९ हजार ५ सय ६१ रुपैयाँ मूल्य पर्ने ६ सय २० ग्राम सुन, १५ लाख २८ हजार ४ सय ६० रुपैयाँ बराबरको ८ किलो ९ सय १४ ग्राम चाँदी, विभिन्न दरका ६ लाख ११ हजार ६ सय २५ भारतीय रुपैयाँ, साउदी रियाल, विभिन्न किसिमका चार थान मोबाइल सेट र चाँदीका लेप लगाएका भाडाकुडा फेला परेको थापाले जानकारी दिएका छन् ।
उनीहरुको साथमा रहेको सामानको स्रोत नखुलेपछि नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाइएको थापाले बताए । पक्राउ परेकाहरूलाई बरामद सुन ,चाँदी, नगद र अन्य सामानसहित आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाइएको छ ।
तपाईको प्रतिक्रिया