दिवा खाजाले विद्यार्थी सङ्ख्या वृद्धि

बिहीबार मङ्सिर २७, २०८१/ Thursday 12-12-24
Paschim Today

धनगढी । दिवा खाजा कार्यक्रमले विद्यालयमा विद्यार्थीको सङ्ख्यामा वृद्धि भएको सरोकारवालाले जनाएका छन् । शिक्षा अधिकार अनुगमन समूह, सुदूरपश्चिम प्रदेशद्वारा बुधबार आयोजित दिवा खाजा प्रवर्धन र सुदृढीकरण विषयक सुदूरपश्चिम प्रदेशस्तरीय अन्तरसंवाद कार्यक्रममा बोल्दै सरोकारवालाले सो धारणा राखेका हुन् । 

सुदूरपश्चिम विश्वविद्यालयका शिक्षाशास्त्र सङ्कायका डिन डा। भ्वानसिंह चलाउनेले संसारभर विद्यालयमा भर्ना दर बढाउने विभिन्न उपाय खोजिने गरेकोमा नेपालमा पनि दिवा खाजा कार्यक्रम विगतको तुलनामा प्रभावकारी भएको बताए । 

धनगढी उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख धुम्मनबहादुर वडायकले खाजा कार्यक्रमले विद्यालय आउने विद्यार्थीको सङ्ख्यामा वृद्धि भएको, विद्यालय छोड्नेहरू घटेको, बालबालिकाको स्वास्थ्य राम्रो भएको बताउँदै अझै सबै सरोकारवाला मिलेर कैयौँ कमीकमजोरी हटाउन ध्यान दिन जरुरी रहेको औँल्याए । कार्यक्रम राष्ट्रिय माविका अमर तारामीमगरले पनि खाजा कार्यक्रमले विद्यार्थीको सिकाइ क्षमतामा वृद्धि भएको बताए । सो अवसरमा सरोकारवालाले खाजा पकाउने ठाउँ नभएको, बजेट पर्याप्त नभएको र सरसफाइका समस्या रहेको औँल्याएका थिए ।

पञ्चोदय उच्च माविका बाल सञ्जालका अगुवा मातृका उपाध्यायले स्थानीय उत्पादनलाई जोडेर खाजा कार्यक्रम सञ्चालन गर्दा पोषक तत्व पाउनुका साथै स्थानीय उत्पादनको प्रवर्धन भएकोमा खुसी व्यक्त गरे । 

कार्यक्रममा लुनिभा बाल सरोकार समूहका अध्यक्ष डा। रूपा मुनकर्मी, कार्यकारी निर्देशक नरेन्द्र डङ्गोल, गैरसरकारी संस्था महासङ्घका केन्द्रीय सदस्य किरण थापालगायतले दिवा खाजाको अवस्थाबारे चर्चा गरेका थिए ।