जनकपुर चितवनसँग ३२ रनले पराजित 

शनिबार मङ्सिर २९, २०८१/ Saturday 12-14-24
Paschim Today

काठमाडौं । एनपीएलको शीर्षस्थानमा रहेको जनकपुर बोल्ट्स चितवन राइनोजसँग पराजित भएको छ ।

शनिबार भएको रोमाञ्चक खेलमा जनकपुर चितवनसँग ३२ रनले पराजित भएको हो । जितसँगै तेस्रो स्थानमा उक्लिएको चितवन प्ले अफ नजिक पुगेको छ ।
चितवनले दिएको १८१ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको जनकपुरले १८ ओभरमा अलआउट हुँदै १४८ रन बनायो । जनकपुरका लागि जेम्स निशामले विस्फोटक अर्धशतकीय पारी खेले ।
उनले २४ बलमा ५ चौका र ६ छक्का प्रहार गर्दै ६५ रन बनाए । यद्यपि, जनकपुरको जितको लागि पर्याप्त हुन सकेन ।

आसिफ शेखले २३, शुभ कंशकारले १५ र मोहम्मद मोहसिनले १३ रन बनाए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको चितवनले पूरै ओभर खेलेर ५ विकेटको क्षतिमा १८० रन बनाएको थियो ।

चितवनका लागि कप्तान कुशल मल्लले धुँवादार ब्याटिङ गरे । उनले ४१ बलमा ३ चौका र ७ छक्का प्रहार गर्दै ७२ रन बनाए । उनले २८ बलमा अर्धशतक पूरा गरेका थिए ।

रवि बोपाराले ४४ रन जोडे । हसन इसाखिलले २८ र सन्तोष कार्कीले १४ रन बनाए ।

चितवनले डेथ ओभरमा धुवाँदार ब्याटिङ गरेको थियो । अन्तिम चार ओभरमा ६१ रन जोड्दै चितवनले सम्मानजनक स्कोर खडा गरेको थियो ।

जनकपुरका लागि ललित राजवंशीले दुई तथा जेम्स निसम, हर्ष थाकेर र मोहम्मद मोहसिनले एकरएक विकेट लिए ।