धनगढीमा प्रति किलो परालमा ५० पैसा कर, च्याँउ व्यवसायी भन्छन्, कर अति भयो

मंगलबार पौष २, २०८१/ Tuesday 12-17-24
Paschim Today

धनगढी, २ पुस ।

धनगढी उपमहानगरपालिकाले परालमा समेत कर लगाएको छ । 

हरेक चिजमा चर्को कर लगाएको धनगढी उपमहानगरपालिकाले परालमा समेत कर लगाएको हो । 

एउटै वडाको एउटा टोलबाट अर्को टोलमा पराल लैजादा समेत कर असुल्न थालेपछि किसानहरु मर्कामा परेका छन् । च्याउँ उत्पादनका लागि पराललाई कच्चा पदार्थका रुपमा प्रयोग गर्दै आएका कृषकहरु परालमा कर लगाएपछि मर्कामा परेका हुन् ।  जवकी नगरपालिकाभित्र उत्पादित वस्तु एक वडाबाट अर्को वडामा लैजान कर लगाउन पाईदैन । 

धनगढी उपमहानगरपालिका–३ बोराडाडीका च्याँउ व्यवसायी मनोज पडाल आईतवार साँझ वडा नम्बर १६ बाट मिनी ट्रकमा पराल ल्याईरहेका थिए । पराल बोकेको उनको मिनी ट्रकलाई नगरपालिकाका कर्मचारीहरुले साँझ ७ ः ३० बजे रोकेर कर तिर्न दवाव दिए । र, कर नतिरेसम्म मिनी ट्रक अगाडि बढ्न नदिने अड्डी कसे ।
भनसुन र दवावपछि आधा घण्टापछि मुस्किलले पडालको मिनी ट्रक छोडेका नगरपालिका कर्मचारीहरुले परालमा कर उठाउने पालिकाको नीति नै भएकोले कर नलिई छोड्न नसकिने अडान लिएका थिए ।

पालिकाको अवरोध र कर सम्बन्धि नीतिलाई लिएर पडालले सामाजिक सञ्जालमा बिरोध गरेका छन् । पडालले यस विषयमा पालिकाको कार्यालयमै गएर कर्मचारीहरुसंग गुनासो गरेको बताएका छन् ।  

धनगढी उपमहानगरपालिकाले भुसीमा समेत कर लगाएको छ । पालिकाले प्रति किलो भुसीमा ५० पैसा कर लगाएको छ । तीन रुपैया प्रति किलोमा बिक्री हुने भुसी पालिकाभित्रै एक वडाबाट अर्को वडामा लैजादा नगरपालिकाले कर उठाउने गरेको छ ।

अन्य जिल्लाका पालिकाहरुमा प्रति ट्रक भुसीमा ५०० रुपैया कर लाग्ने भएपनि धनगढी उपमहानगरपालिकाले १० हजार रुपैयासम्म लिने गरेको व्यवसायीहरुको गुनासो  छ ।

भुसीमा चर्को कर लगाएका कारण धनगढी उपमहानगरपालिकाबाट अन्य जिल्लाहरुमा भुसी जान बन्द भएको छ ।