कसरी संभव भयो टीकापुरमा ३५ वर्षपछि हवाई सेवा ?

मंगलबार पौष २, २०८१/ Tuesday 12-17-24
Paschim Today

दीर्घराज उपाध्याय 
टीकापुर, २ पुस ।

लामो समयको आशंका र अन्यौलताकाबीच अन्ततः आईतवारदेखि टीकापुरमा हवाई सेवा सञ्चालनमा आएको छ । 

२०४१ बैशाख २० गतेदेखि सञ्चालनमा आएको टीकापुर विमानस्थल २०४६ सालमा बन्द भएको थियो । झण्डै ३५ वर्षपछि आईतवारदेखि टीकापुरमा हवाई सेवा सञ्चालन भएको हो । 

टीकापुर नगरपालिकाका मेयर रामलाल डगौरा र एयरलाईन्सबीचको सम्झौतापछि टीकापुरमा हवाई सेवा सञ्चालनमा आएको हो । 

यद्यपि टीकापुर बिमानस्थल सञ्चालन समितिका संयोजक टीकाराम जैसी र उनको टीमको १३ वर्ष लामो अविचलित संघर्षबाट टीकापुरमा हवाई सेवा सञ्चालन संभव भएको हो । 

संयोजक जैसीसंगै यो अभियानमा निरन्तर खट्ने अर्का व्यक्ति हुन्, नवराज रावल । जो अभियानमा निरन्तर लागीरहे । त्यस्तै तत्कालीन मेयर तपेन्द्र रावल, नेपाली काँग्रेसका भरत स्वाँर, माओवादीका तर्फबाट समितिमा प्रतिनिधित्व गर्ने विकास चौधरी, जनमोर्चाका दयाराम सञ्ज्याल, पत्रकार मात्रिका तिमिल्सेना लगायत सचिवालयमा रहेका २५ जनाको टीकापुरमा हवाई सेवा सञ्चालन हुनुमा महत्वपूर्ण भूमिका छ । टीकापुरबाट प्रतिनिधित्व गर्ने बिभिन्न पार्टीका प्रतिनिधिहरु र सर्वसाधारणको समेत उत्तिकै योगदान छ । समितिका अगुवा मध्येका एक नवराज रावल भन्छन्, टीकापुरमा हवाई सेवा शुरु हुनुमा टीकापुरका सबैलाई श्रेय जान्छ । र, टीकापुर बाहिर बसेर यो अभियानमा सहयोग गर्नेहरु पनि यसको श्रेयका हकदार हुन् ।

२०६७ को शुरुवातमा टीकापुरमा हवाई सेवा सञ्चालनका लागि सामुहिक प्रयास शुरु भयो । सर्वपक्षीय भेलाले व्यवयासी टीकाराम जैसीको संयोजकत्वमा टीकापुर बिमानस्थल सञ्चालन समिति गठन ग¥यो ।

त्यही समितिको अथक प्रयासपछि टीकापुरमा आईतवारदेखि हवाई सेवा शुरु भएको हो । 

जतिबेला हवाई सेवा सञ्चालनका लागि समिति गठन भयो, त्यतिबेला टीकापुर बिमानस्थल मुक्त कमैयाहरुको कब्जामा थियो । जहाँ ४०३ परिवारका दुई हजार जना बसोबास गर्थे । त्यहाँबाट मुक्त कमैयालाई अन्यत्र सार्नु असम्भव जस्तै थियो । तर जैसीको अगुवाईमा शुरु भएको अभियानले असंभव ठानिएको त्यही कार्यलाई संभव बनायो । समितिकै पहलमा उनीहरुले नगर विकास समितिको स्वामित्वमा रहेको जमिन पाए । रातो पूर्जा भएका परिवारले दुई कठ्ठाका दरले जग्गा पाए । र, अरुले एक कठ्ठा । अनि खाली भयो, मुक्त कमैया शिविरमा परिणत भएको बिमानस्थल । 

त्यसैबीच समितिले बिमानस्थल सञ्चालनका लागि अधिकतम ११ हजार रुपैयाका दरले सहयोग संकलन अभियान शुरु ग¥यो । बिभिन्न, पेशा, व्यवसायमा संलग्न व्यक्तिहरुसंग सर्वसाधारणहरुले यो अभियानमा साथ दिए । र, जम्मा भयो, ३५ लाख रुपैया । त्यस अभियानमा साथ दिदै कैलाली उद्योग वाणिज्य संघले एक लाख रुपैया सहयोग ग¥यो । 

सरकारलाई बिमानस्थल सञ्चालनका लागि यी र यस्ता अभियानले दवाव दिए । सरकारले बाध्य भएर बिमानस्थलको धावनमार्ग घेरवारका लागि काँडेतारमा करीव एक करोव रुपैया खर्च ग¥यो । 
२०६८ सालमा नेपाल वायु सेवा निगमको ट्वीनेटर जहाजले परीक्षण उडान भ¥यो । त्यसपछि फर्केर कुनै जहाज आएन । समिति माथि तमाम आरोप लागे । मुक्त कमैयालाई हटाउन बिमानस्थल सञ्चालनको नाटक गरिएको भनियो । स्थानीय नेताहरु समिति माथि खनिए । मुक्त कमैयाका अगुवाहरुको आक्रोश त छदै थियो ।

हामीले त बिमानस्थल सञ्चालन हुदै हुदैन भनेकै थियो नि भन्नेहरु पनि निस्किए । स्थानीयहरुकै तमाम आरोप र आक्रोशबाट निरन्तर लखेटिएका समितिका संयोजक जैसी र अन्य सदस्यहरु न ती आरोपहरुबाट भागे । न त बिचलित भए । 

सायद हामीले हिम्मत हारेको भए जहाज उडाउन सक्दैनथ्यो, संयोजक जैसीले भने, ती आरोपलाई मिथ्या सावित गर्न पनि हामी बिमानस्थल सञ्चालनका लागि जुटिरह्यौ । सरकारलाइ दवाव दिईरह्यो । जसको प्रतिफल हवाई सेवा शुरु भयो ।

हवाई सेवा सञ्चालन त गर्न सफल भयौ, संयोजक जैसी भन्छन्, हवाई सेवालाई निरन्तरता दिने अव हाम्रा सामु अर्को चुनौती छ । 

हप्तामा कति दिन सेवा ? कति छ भाडा ? के छ सम्झौतामा ?

टीकापुर नगरपालिकाले एउटै छातामुनी सञ्चालन हुने बिमान कम्पनी भएपनि तारा एयर र यति एयरसंग छुट्टाछुट्टै सम्झौता गरेको छ । 

काठमाण्डौंबाट नेपालगञ्जसम्म यति एयरलाईन्स र त्यहाँबाट टीकापुरसम्म तारा एयरले उडान भर्ने छ ।

सम्झौता अनुसार नगरपालिकाले तारा एयरमा १५ टिकटको जिम्मा लिएको छ । १५ जनाभन्दा कम यात्रु भएको खण्डमा प्रति टिकट ४५०० रुपियाँका दरले कम हुन जाने यात्रुको संख्या बराबरको रकम नगरपालिका भुक्तानी गर्नेछ । 

त्यस्तै नेपालगञ्जबाट काठमाण्डौंको यात्राको हकमा भने टीकापुर नगरपालिकाले १० जना यात्रुको जिम्मा लिएको छ । यो टीकापुरका यात्रुहरुका लागि नेपालगञ्जबाट काठमाण्डौं उड्ने यतिको जहाजमा आरक्षित गरिएको संख्या हो ।

सम्झौता अनुसार यात्रु संख्या अपुग भए प्रत्येक उडानमा मालिका स्टिल प्रा.लि. र ओमकृष्ण हस्पिटलले एक/एक टिकटको रकम भुक्तानी गरेर नगरपालिकालाई सहयोग गर्ने बताएका छन् ।
त्यस्तै लम्की नगरपालिका, भजनी नगरपालिका, जानकी गाउँपालिकाले समेत हवाई सेवा निरन्तरताका लागि सहयोग गर्ने प्रतिबद्धता गरेका छन् ।

नेपालगञ्जबाट काठमाण्डौंको टिकटको न्यूनतम मूल्य ६७०० रुपियाँ रहेको छ । टीकापुर नगरपालिकाको हकमा भने छुट सहित यो रुटको भाडा ४५०० रुपियाँ तोकिएको छ । टीकापुरका लागि १० सीट आरक्षित गरिएको यतिको जहाजमा त्योभन्दा कम टिकट बिक्री भएमा त्यति संख्या बराबरको भाडा टीकापुर नगरपालिकाले भुक्तानी गर्नेछ ।

तारा एयरका अनुसार हप्तामा दुई दिन (आईतवार र बिहीवार) टीकापुर बिमानस्थलमा हवाई सेवा सञ्चालन हुनेछ ।

काठमाण्डौंबाट बिहान १० बजे यति एयरलाइन्सको विमान नेपालगन्जका लागि उडान भर्नेछ भने त्यहाँबाट दिउँसो १२ः३० बजे तारा एयरले यात्रु लिएर टीकापुर पुग्नेछ । सोही दिन दिउँसो १ः२० बजे तारा एयरको विमान नेपालगन्जका लागि प्रस्थान गर्नेछ भने दिउँसो २ः०५ बजे यति एयरलाइन्सको विमानले यात्रु लिएर काठमाडौं आउने समय तालिका निर्धारण गरिएको छ ।  

काठमाण्डौं–नेपालगञ्ज–टीकापुरको भाडा ९००० रुपियाँ निर्धारण गरिएको छ । काठमाण्डौंबाट टीकापुर आउने यात्रुले नेपालगञ्ज बिमानस्थलमा एक घण्टा पर्खिनुपर्नेछ । त्यस्तै टीकापुरबाट 
काठमाण्डौंका लागि उडेका यात्रुले नेपालगञ्जमा यतिको जहाजका लागि २० मिनेट कुर्नु पर्नेछ ।

टीकापुर–नेपालगञ्ज र नेपालगञ्ज–काठमाण्डौंको भाडा ४५०० सय रुपियाँ तोकिएको छ । यो भाडामा टीकापुरबाट नेपालगञ्जसम्म हवाई यात्रा गर्न सकिने बताईएको छ । 

टिकट बुकिङको अवस्था हेरेर हामी उत्साही छौ, समितिका संयोजक जैसी भन्छन्, बिहीवार उडान छ, आज(मंगलवार)सम्म दुबै तर्फ ८/८ वटा टिकट बिक्री भईसकेका छन् ।

पुस महिनाभरी हप्तामा दुई वटा उडान भर्ने भएपनि माघबाट हप्तामा तीन वटा उडान भर्ने हवाई कम्पनीसंग सहमत भएको जैसीले बताए ।