बजारमा माग बढ्दै, वनमा खेर जाँदै टिमुर

बुधबार पौष ३, २०८१/ Wednesday 12-18-24
Paschim Today

बाजुरा । देशका विभिन्न गाउँमा टिमुरको माग बढ्दै गएको बेला बाजुराको जङ्गलमा भने टिमुर त्यतिकै खेर जाने गरेको छ । टिमुरको महत्त्वबारे बाजुराका स्थानीयलाई खासै जानकारी नहुँदा यहाँका अधिकांश वनजङ्गलमा टिमुर त्यतिकै खेर जाने गरेको हो ।

व्यक्तिगत प्रयोजनका लागि थोरै ल्याउने गरेको भए पनि बजार बिक्री गर्ने गरी यहाँका स्थानीयले टिमुर नटिप्ने गरेको छेडेदह गाउँपालिका –२ जयवाग्श्वरीका स्थानीय हिरा रोकायाले बताए ।

उनले भने, “गाउँमा बिक्री हुँदैन । जिल्लाभन्दा बाहिर लिएर बेच्न रोक गरेको छ । त्यसैले यता कसैले टिमुर नटिपेपछि त्यो त्यत्तिकै वनमा खेर जाने गरेको छ ।”

अहिले केहीले त टिमुर टिप्ने गरेका छन् । तर उनीहरुले पनि मेहनेत गरे अनुसार पैसा नपाउँनु बिक्री गर्न लिदा पनि जोखिम मोहल्नु पर्ने समस्या भएकाले टिमुर टिप्नै छोडेको रोकायाले बताए ।

पछिल्लो समयमा बाजुराका केही स्थानीय निकायले टिमुर खेती गर्ने योजना बनाएका छन् ।

पछिल्लो समय देश विभिन्न सहरका होटेलमा टिमुरको अचारको माग बढ्दै गएपछि स्थानीय निकायले पनि टिमुरको व्यावसायिक खेती गर्ने चाँसो देखाएका हुन् ।

बाजुराको गौमुल गाउँपालिका वडा नं –२ को वडापालिकाले पछिल्लो समय टिमुर खेती सुरु गरेको गौमुल गाउँपालिका वडा –२ का वडा अध्यक्ष देव रोकायाले बताए ।

उनले भने, “टिमुरको पछिल्लो समय विभिन्न ठाउँबाट माग आउने गरेकोले यहाँका स्थानीयलाई टिमुर खेती गर्नमा उत्प्रेरित गर्दै आएको हो ।”

नेपालको पूर्व, मध्य र पश्चिम नेपालमा टिमुर पाइन्छ ।  टिमुर २ देखि ३ मिटरभन्दा अग्लो, काँडेदार, सुगन्धित, सानो खालको रुख वा झाडी वर्गको, पतझड वनस्पतिको हो ।

बाजुराको बुढीन्नदा, बडीमालिका, गौमुल, बुढीगङ्गा, त्रिवेणी र खप्तड छेडेदहको विभिन्न वनमा पनि प्रसस्त टिमुर पाइन्छ । बाजुराको लेकाली ठाउँको ११ देखि २५ सय मिटरसम्मको उचाईमा टिमुर फल्ने गर्छ ।

एउटा परिपक्व बोटमा झण्डै २ देखि ४ किलो टिमुर फल्दछ ।  पछिल्लो समय जिल्ला बाहिरका बजारमा यसको राम्रो माग हुने गरेको छ । प्रति किलोको २ देखि ३ सय पर्ने गर्छ ।

आयुर्वेदिक प्रणाली अनुसार यो वायुशमन गर्ने, दाँत दुखेको निको गर्ने, तागत दिने, जरो निको गर्ने, अजिर्ण र हैजा इत्यादि रोगहरूमा समेत प्रयोग गरिन्छ । यो माछाको विषमा पनि प्रयोग गरिन्छ ।

तर बाजुरामा अधिकांश गाउँ बस्तीका वनमा भने पहिले देखि अहिलेसम्म टिमुर त्यसै खेर जाने गरेको यहाँका स्थानीय बताउँछन् ।

बाजुरामा टिमुरको मूल्य राम्रो नहुँदा यहाँका अधिकांश स्थानीयले सामान्य तरिकाले घरमा प्रयोग गर्न मात्र टिप्ने गरेको स्थानीय नरबहानुर रावतले बताए ।

उनले भने, “हिउँदको महिना रुघाखोकी लागेको बेला ताँतो पानीसँगै टिमुरको धुलो हालेर खाने गरेपछि रुघाखोकी निको हुने गर्छ । त्यति मात्र होइन की अहिले यहाँका स्थानीयले प्रत्येक दिनमा नास्ता तथा खानामा समेत टिमुर प्रयोग गर्न थालेका छन् ।”

गाउँमा टिमुर बिक्री हुँदैन बजारमा टिमुर लान नमिल्ने भएकोले टिमुर वनमा त्यसै खेर जाने गरेको रावतले बताए । दश केजीसम्म व्यक्तिगत प्रयोजन गर्न पाइने डिभिजन बन कार्यालय बाजुराका प्रमुख भोजराज पाठकले बताए ।

उनले भने, “टिमुर खरिद गर्नमा कुनै रोकावट छैन । टिमुर खरिद बिक्री गर्ने गरी टिमुर सङ्कलन गर्ने तथा इजाजत हुनु पर्छ ।”
बाजुरामा टिमुर राम्रो फल्ने गरेको छ । त्यो टिमुर टिपेर खरिद गर्न निकै सहज छ । त्यसका लागि सङ्कलन इजाजत तथा राजस्व तिरेको काजजागत भएपछि देशका विभिन्न ठाउँमा खरिद बिक्री गर्न सकिने छ ।

नेपालमा वार्षिक सरदर १२ सय किलो टिमुरको तेल उत्पादन हुने अनुमान गरिएको छ । एक हेक्टर जग्गामा २ हजार देखि ४ हजार किलो टिमुर फल्ने गरेको डिभिजन वन कार्यालय बाजुराले जनाएको छ  ।