अधिराजकुमार निराजन जोगिएको त्यो भयानक दुर्घटना
म राजा बिरेन्द्रको सुरक्षाका लागि दरवारमा खटिएको थिए । त्यसदिन (२०५७ पुस ४ गते) भने म अधिराजकुमार निराजनको सुरक्षामा खटिएको थिए । राति ११ बजे हामी (म र अधिराजकुमार निराजन) गाडीमा नागार्जुन जादै थियौ । अधिराज कुमार निराजन गाडी चलाई बक्सिरहेको थियो । म उहाँको छेउको सीटमा बसेको थिए । हाम्रो गाडी अचानक गंगबुमा प्रहरीको भ्यानमा ठोकियो । मैले अधिराजकुमार निराजनलाई जोगाउन तत्काल स्टेरिङलाई आफ्नो नियन्त्रणमा लिए । गाडी मोडे । जोगाउने कोसिस गर्दा गर्दै गाडी भयानक दुर्घटनामा प¥यो । तर मेरो जिम्मेवारी आफू मरेर पनि अधिराजकुमारलाई जोगाउनु थियो । त्यतिबेला दिमागमा एउटै कुरा आयो, उहाँलाई केही हुन दिन्न । अधिराजकुमार निराजनलाई जोगाउन कुनै कसर बाँकी राखेन । उहाँलाई त जोगाए । ७२ घण्टापछि दुर्घटनापछि होश खुल्दा म नेपाली सेनाको अस्पतालको शैयामा थिए । मेरो श्रीमती म होशमा आउदा खुशीले रोईन । दुर्घटनास्थल नजिकै मेरो डेरा थियो । र, दुर्घटनाको भयावह क्षति केही छिनमै मेरो श्रीमतीले आफ्नो आँखाले देखेकी थिईन । मेरो अवस्था हेरेपछि उनले म बाँच्ने आस मारेकी थिईन । म बोलेको सुनेपछि श्रीमती खुशी भएकी थिईन रे ।
७२ घण्टापछि होसमा आएपनि म बोल्न सक्ने अवस्थामा थिएन । बस्, आँखा खोलेको थिए । म खतरामुक्त भईसकेको थिएन । स्टेरिङमा मेरो छाति परेर करङका आठ वटा हड्डी भाँचिएका थिए । मेरो अवस्था हेरेर डाक्टरहरुले पनि जोगिने आस गरेका थिएनन रे । म होसमा आउनु मेरो परिवार र डाक्टरहरुका नजरमा चमत्कार थियो । मैले अधिराजकुमारलाई जोगाउन स्टेरिङलाई छातिले ‘कभर’ गरेको थिए । गाडी नराम्ररी क्षतिग्रस्त भयो । त्यस्का बाबजुद पनि मैले उहाँलाई त ‘सेभ’ गरे । उहाँलाई एकरत्ति चोट लाग्न दिएन । अधिराजकुमारलाई बचाउने क्रममा म भने मरेर बाँचे । झण्डै ७२ घण्टा कोमामा रहे । टाउको र ‘स्पाईनल कर्ड’मा गम्भीर चोट लागेको थियो । देब्रे हात भाँचिएको थियो । चोट नलागेको र नदुख्ने शरीररको त्यस्तो कुनै भाग बाँकी थिएन । आफूलाई लागेका चोटहरु बिर्सेर अधिराजकुमार निराजनलाई जोगाउन सकेकोमा म खुशी थिए । मैले ज्यान जोखिममा परेर पनि आफ्नो कर्तव्य निर्बाह गरेको थिए । त्यो मेरो जिन्दगीको अवस्मरणीय पल थियो । त्यो भयानक दुर्घटनापछि मैले तीन महिना अस्पतालको शैयामा बिताए । अस्पतालमा मेरो स्वास्थ्य अवस्था बुझ्न रानी ऐश्वर्य म अचेत रहेकै अवस्थामा आईबक्सेको पछि थाह पाए ।
मेरो होश खुलेपछि अधिराज कुमार निराजन हप्तामा दुई/तीन पटक मेरो स्वास्थ्य अवस्था बुझ्न आईबक्सिन्थ्यो । म जति महिना अस्पतालमा उपचाररत थिए । उहाँ अस्पताल नआएको कुनै हप्ता थिएन । तीन महिनापछि सैनिक अस्पतालमा डिस्चार्ज भए । हिडडुल गर्न अझै सहजै भईसकेको थिएन ।
घरमै थेरापी शुरु गरे । दुखाई र घाउ निको हुदै गयो । म घरमा आराम गरिरहेको थिए । राजा बिरेन्द्रले सोधीबक्सेछ, बिक्रम यतिका समयसम्म किन आएन ? उसलाई कस्तो छ ? राजा बिरेन्द्रले मलाई दरवारमा बोलाईबक्सिनु भयो । र, म सात महिनापछि दरवारको काममा फर्किए । दिनमा कम्तिमा एक पटक राजासंग भेट हुन्थ्यो । कहिले दुई पटक पनि हुन्थ्यो । हरेक पटकको भेटमा राजा सोधीबक्सिन्थ्यो, बिक्रम तिमीलाई कस्तो छ ? हरेक दिन राजाले मेरो स्वास्थ्य अवस्थालाई चासो र चिन्ता व्यक्त गरिबक्सिन्थ्यो । मेरो उपचारको सम्पूर्ण खर्च पनि दरवारले बेहोरेको थियो । राजाको सदाशयता, चिन्ता र चासोले म क्रमशः निको हुदै गए ।
राजाको व्यबहार र बोली मेरा लागि औषधीतुल्य थियो । म जस्तो एक सामान्य प्रहरी निरीक्षकसंग राजाले आफ्नो सन्तानलाई झै गरेको त्यो स्नेह म जिन्दगी भर कहिल्यै बिर्सिन सक्दैन । मेरा लागि उहाँको त्यो स्नेह नै मल्हम थियो । त्यही ओखती ।
२०५७ बैशाख १ देखि २०५९ जेठ १ गतेसम्म मैले दरवारमा काम गरे । राजा बिरेन्द्र र राजा ज्ञानेन्द्रको सुरक्षामा खटिने अवसर पाए । म दरवारमै कार्यरत छदा दरवार हत्याकाण्ड भयो । राजा बिरेन्द्र र रानी ऐश्वर्य सहितले ज्यान गुमाए । भयानक गाडी दुर्घटनाबाट जोगिएका अधिराजकुमार निराजनको समेत दरवार हत्याकाण्डमा मृत्यु भयो । राजा बिरेन्द्र, रानी ऐश्वर्य र अधिराजकुमार निराजनबाट पाएको त्यो स्नेह र मिठो व्यवहार अहिलेपनि झल्झली सम्झिन्छु । त्यही सम्झेर दरवार हत्याकाण्डपछिका धेरै रात म निदाउन सकेन ।
(२०२३ सालमा बैतडीको दशरथ चन्द नगरपालिका– ५ बस्कोटमा जन्मिएका बिक्रम चन्द झण्डै २९ वर्ष लामो प्रहरी सेवापछि यतिबेला कञ्चनपुरको भीमदत्तनगर–३ ऐठपुरमा अवकाश प्राप्त जीवन बिताईरहेका छन् । नेपाल प्रहरीमा २०४९ चैत ११ गते प्रहरी निरीक्षक भएका चन्दले २०७८ साल मंसिर ८ गते प्रहरी बरिष्ठ उपरीक्षक पदबाट अवकाश पाए । दरवारमा दुई वर्ष राजाको सुरक्षामा खटिएका चन्द दरवार हत्याकाण्डका बेला त्यही तैनाथ थिए । तत्कालीन अधिराज कुमार निराजनको गाडी दुर्घटना र दरवार हत्याकाण्डसंगका उनका अनुभव र अनुभूति क्रमशः प्रस्तुत गर्दैछौ । यस पटक भने भयानक गाडी दुर्घटनाबाट अधिराजकुमार निराजन कसरी जोगिए ? उनको अनुभूति पस्केका छौ ।)
(अवकाश प्राप्त प्रहरी बरिष्ठ उपरीक्षक बिक्रम चन्दसंग पश्चिम टुडे र द एभरेष्ट पोष्टका प्रधान सम्पादक दीर्घराज उपाध्यायले गरेको कुराकानीमा आधारित । यसमा प्रयोग गरिएको भाषा चन्दका हुन् ।)
तपाईको प्रतिक्रिया