भैंसेपाटी हनिट्र्याप काण्ड: इन्स्पेक्टर बिनु शाही पाँच लाख धरौटीमा रिहा
काठमाडौं । भैंसेपाटी हनिट्र्याप काण्डमा संलग्न इन्स्पेक्टर बिनु कुमारी शाही पाँच लाख धरौटीमा रिहा भएकी छन् ।
आइतबार बयानका निम्ति उनी आफैं ललितपुर जिल्ला अदालत गएकी थिइन् । बयान नसकिएपछि जिल्ला प्रहरी परिसर, ललितपुरले नियन्त्रणमा लिई हिरासतमा राखेको थियो।
आज भएको थुनछेक बहसपछि पाँच लाख धरौटीमा रिहा गर्न अदालतले आदेश गरेको छ ।
धरौटीमा रिहा भएपछि उनले थुनाबाहिरै रहेर मुद्दाको पुर्पक्ष गर्ने सुविधा पाएकी छन् । तर, प्रहरी सेवामा निलम्बन जारी हुने भएको छ ।
साधारण तारेखबाहेकको अवस्थामा प्रहरी कर्मचारीले निलम्बन फुकुवाको सुविधा पाउँदैनन् । यही मुद्दामा प्रतिवादी बनाइएका प्रहरी सहायक हवल्दार महेन्द्र हमाल साधारण तारेखमा रिहा भएपछि काममा फर्किएका छन् ।
ललितपुरको भैंसेपाटी प्रहरी प्रभागमा प्रमुखको जिम्मेवारी सम्हाल्दा एक घरजग्गा कारोबारीलाई हनिट्रयापमा पारेको घट्नामा इन्स्पेक्टर शाहीसहित ६ जनालाई प्रतिवादी बनाएर केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) ले जिल्ला अदालत ललितपुरमा मुद्दा दायर गरेको थियो ।
उनीविरुद्ध आपराधिक लाभ तथा संगठित अपराध ऐन( २०७० को महल आकर्षित हुने भन्दै सिआईबीले जिल्ला सरकारी वकिल कार्यालय, ललितपुरलाई अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।
उक्त मुद्दामा शाहीसहित सुनसरी घर भएका दर्शन पोखरेल, प्रहरी सहायक हवलदार महेन्द्र हमाल, इटहरी बस्ने भिमादेवी थापा, इटहरी नगरपालिका–६ बस्ने ताज मूल भन्ने तजम्मुल इस्लाम र धनकुटा घर भएर इटहरी बस्ने सुस्मा विश्वकर्मालाई प्रतिवादी बनाइएको थियो । त्यसमध्ये शाही र पोखरेल फरार थिए ।
सहायक हवलदार हमाल साधारण तारेखमा, थापा र विश्वकर्मा धरौटीमा रिहा भइसकेका छन् । यसै मुद्दाका अर्का फरार अभियुक्त दर्शन पोखरेल भने अझै फरार नै छन् । प्रतिवादी इस्लाम यसअघि नै पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
तपाईको प्रतिक्रिया