सुदूरपश्चिम सरकार र संसद्लाई अझै प्रभावकारी बनाउने गठबन्धनको निर्णय
कैलाली । सुदूरपश्चिममा नेपाली कांग्रेस र नेकपा एमालेबीच गठित प्रदेशस्तरीय राजनीतिक संयन्त्रले विगतको समीक्षा गर्दै आगामी दिनमा छलफल र सहकार्यलाई अझै बलियो बनाउँदै लैजाने निष्कर्ष निकालेको छ ।
आज बसेको दुई दलीय राजनीतिक संयन्त्रको पहिलो बैठकले रिक्त रहेका राजनीतिक नियुक्ति सहमतिका आधारमा टुङ्ग्याउने निर्णय गरेको हो ।
एमाले सचिवसमेत रहेका सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टको अध्यक्षतामा बसेको संयन्त्रको बैठकले सुदूरपश्चिम प्रदेश सभालाई बिजनेस विहीन बन्न नदिने, सरकारलाई अझै गति दिने, विषयगत समितिहरूको चाँडै नेतृत्व टुङ्गो लगाउने लगायतका विषयमा छलफल गरेको थियो ।
‘प्रदेशमा रिक्त रहेका राजनीतिक नियुक्ति सहमतिका आधारमा यथाशीघ्र टुङ्ग्याउने निर्णय गरेको छ’, कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिका प्रवक्ता सुरतबहादुर रावतले भने ‘संसदीय अभ्यासलाई सुचारु गर्नका लागि गतिविधिहरू पनि यथाशीघ्र अगाडि बढाउने पनि निर्णय गरिएको छ ।’
सुदूरपश्चिम प्रदेशमा चार वटा विषयगत समिति छन् । ती मध्ये एउटामा मात्रै सभापति छन् । अन्य तीन समिति ज्येष्ठ सदस्यको भरमा छन् । सबै समितिमा कांग्रेस नेतृत्व रहेको छ । अहिलेसम्म भागबन्डा टुङ्गो नलाग्दा समितिहरू सभापति विहीन छन् । आजको बैठकले चाँडै सहमतिको आधारमा समितिलाई नेतृत्व दिने निर्णय गरिएको छ ।
त्यस्तै संयन्त्रको बैठकले बाजुराको जगन्नाथ गाउँपालिका– ५ गोत्री केन्द्रबिन्दु भएर पुस ६ गते बिहान गएको भूकम्पबाट पीडितहरूलाई विपद् व्यवस्थापन समितिमार्फत राहत तथा पुनर्स्थापना गर्ने निर्णय पनि गरेको छ । कांग्रेस–एमालेको प्रदेशस्तरीय संयन्त्रको पहिलो बैठकको अध्यक्षता एमाले सचिव भट्टले गरेका थिए । अर्काे बैठकको अध्यक्षता कांग्रेसले गर्ने समझदारी भएको छ ।
एमाले सुदूरपश्चिम संसदीय दलका नेता समेत रहेका पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावलले राष्ट्रिय आवश्यकता अनुसार सरकार गठन भएको भन्दै अहिलेको सरकारसँग जनताको आवश्यकता पुरा गर्नु पर्ने मुख्य जिम्मेवारी रहेको बताए । उनले विगतको समीक्षा गर्दै आगामी दिनमा अझै बलियो र सुदृढ ढंगले सहकार्य अगाडी बढ्ने गरि जाने विषयमा छलफल भएको बताए ।
‘राष्ट्रिय आवश्यकता अनुसार कांग्रेस र एमाले एक ठाउँमा आएका हुन् । सोहीअनुसार सुदूरपश्चिम सरकार पनि बनेको हो । यो सरकारले जनताको अपेक्षा र आवश्यकता पुरा गर्नु पर्छ’, उनले भने, ‘सरकार र संसद्लाई अझै प्रभावकारी बनाउने निर्णय भएको छ ।’ बजेट कार्यान्वयन, भ्रष्टाचार नियन्त्रण र सुशासन कायमा गर्ने विषयमा सबै एकमत रहेको उनले जानकारी दिए ।
संयन्त्रको बैठकमा एमाले सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्ट,कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिका सभापति वीरबहादुर बलायर, एमाले सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशी, कांग्रेसका प्रदेश उपसभापति लोकराज अवस्थी, मुख्यमन्त्री कमलबहादुर शाह र एमाले प्रदेश संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावल सहभागी थिए ।
तपाईको प्रतिक्रिया