कञ्चनपुरमा माओवादीले खबरदारी सभा गर्दै, प्रचण्डले सम्बोधन गर्ने

बिहीबार पौष ११, २०८१/ Thursday 12-26-24
Paschim Today

कैलाली । नेकपा माओवादी केन्द्रले भ्रष्टाचार र बेथितिविरुद्ध खबरदारी सभाको आयोजना गर्ने भएको छ । माओवादी केन्द्रले बिहीबार पत्रकार सम्मेलन गर्दै कञ्चनपुरको पुनर्वास टाउन बजारमा आगामी १३ गते सरकारको भ्रष्टाचार र बेथितिविरुद्ध व्यापक जनदबाब दिनेगरि खबरदारी सभा गर्न लागेको जनाएको हो।

सभालाई पूर्व प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने उपमहासचिव एवम् सुदूरपश्चिम इन्चार्ज गिरिराजमणि पोखरेलले जानकारी दिए । ‘सरकारले अहिले सरकार बाहिर रहेका राजनीतिक दलमा आबद्ध व्यक्तिहरुलाई छानाछानी षड्यन्त्रपूर्वक विभिन्न खालका मुद्दा चलाइरहेको छ ।

सत्तापक्षका गलत कर्तुत ढाकछोप गर्ने प्रयास भइरहेको छ’ पोखरेलल भने, ‘खबरदारी सभामार्फत नेपाली कांग्रेस र नेकपा एमालेले दुई दलीय गठबन्धन गर्दै गठन गरेको सरकारले गरिरहेका भ्रष्टाचार र बेथितिको भण्डाफोर गरिने छ ।’ माओवादी केन्द्र जिल्ला समन्वय समिति कञ्चनपुरले आयोजना गर्ने सभालाईलाई माओवादीले शक्ति प्रदर्शनका रुपमा लिएको छ ।

उक्त सभामा २० हजारभन्दा बढी मानिस उर्ताने माओवादीको दाबी छ । उक्त कार्यक्रममा ठूलो संख्यामा पार्टी प्रवेश तथा समायोजनको कार्यक्रम पनि राखिएको प्रदेश सभा सदस्य समेत रहेका प्रचार तथा प्रकाशन विभाग प्रमुख ओम विक्रम भाट सरलले जानकारी दिए ।

‘सरकारमा रहँदा हाम्रो पार्टीले भ्रष्टाचारको विरुद्धमा लिएका कदमहरू त सबै जनाले थाहा पाउनु भएको छ ,अहिलेको सरकार आफै भ्रष्टाचारमा डुबेको छ ’ उनले भने ‘एमाले कांग्रेसबाट दिक्क भएका धेरै १३ गते माओवादी प्रवेश गर्न कार्यक्रम पनि रहेको छ । ’