चिसापानी-राजकाँडा केबलकारको शिलान्यास

आइतबार पौष १४, २०८१/ Sunday 12-29-24
Paschim Today

धनगढी, १४ पुस । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले शनिवार  चिसापानी-राजकाँडा केबलकारको शिलान्यास गरिन् । 

केबुलकारको शिलान्यास गर्दै परराष्ट्रमन्त्री डा. राणाले सुदूर पश्चिमको प्रवेशद्धार चिसापानीमा निर्माण हुने केबुलकारले सुदूरपश्चिमको अर्थतन्त्रमा ठूलो योगदान पुग्ने विश्वास व्यक्त गरिन् ।

परराष्ट्रमन्त्री राणाले कृषि, पर्यटन र जलस्रोत मुलुकको अर्थतन्त्रको मेरुदण्ड भएको बताउदै केबुलकारले सुदूर पश्चिमको पर्यटनमा कायापलट गर्ने बताईन ।

परराष्ट्रमन्त्री राणाले सुदूर पश्चिममा केबुलकारको निर्माण थालेकोमा जालपादेवी केबुलकार कम्पनीका अध्यक्ष चन्द्र ढकाललाई धन्यवाद दिईन ।

निजी क्षेत्रले केबुलकारमा गरेको हालसम्मकै सबैभन्दा ठूलो लगानीले सुदूरपश्चिमका जनतामा उत्साह र खुशी थपेको चर्चा गर्दै परराष्ट्रमन्त्री राणाले सरकारले चिसापानी देखि गड्डाचौकीसम्म ६ लेनको सडक निर्माण पनि चाँडै शुरु गर्ने जानकारी दिईन ।

सरकार एक्लैले मुलुकको विकास र समृद्धि संभव नभएको चर्चा गर्दै नीजि क्षेत्रसंगको साझेदारी र सहकार्यलाई सरकारले जोड दिएको मन्त्री राणाको भनाई थियो । उनले केबुलकार निर्माणमा सहयोग गर्न स्थानीय बासिन्दालाई आग्रह गरिन ।

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले केबुलकार निर्माणले सुदूरपश्चिमको अर्थतन्त्र र विकासमा ठूलो योगदान पुग्ने बताए । मुलुकको विकास र समृद्धिका लागि वन क्षेत्र बाधक नहुने मन्त्री शाहीको भनाई थियो । मन्त्री शाहीले भने, सरकारले यस्ता ठूला परियोजना निर्माणका लागि आवश्यक ऐन कानुन परिवर्तन गरेर निजी क्षेत्रलाई प्रेरित गरिरहेका छौ ।

मुख्यमन्त्री कमल बहादुर शाहले नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेर बहादुर देउवा र परराष्ट्रमन्त्री राणाले आफूलाई लगानी मैत्री वातावरण निर्माण गरी निजी क्षेत्रलाई सुदूर पश्चिमको विकास र समृद्धिमा जोड्न निर्देशन दिनुभएको र सोही निर्देशन अनुसार आफूले काम गरिरहेको बताए ।

सोही निर्देशन अनुसार आफूले सुदूरपश्चिममा निजी क्षेत्रसंगको साझेदारी र सहकार्यमा जोड दिदै लगानीमैत्री वातावरण बनाईरहेको सुनाए ।

मुख्यमन्त्री शाहले केबुलकार निर्माणका लागि आफूले ग्लोबल आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालसंग पटक पटक छलफल गरेको बताए । हाम्रो आग्रहलाई स्वीकार गरी केबुलकार निर्माण थालेकोमा ढकाल र उहाँको टीमलाई धन्यवाद दिन चाहन्छु, मुख्यमन्त्री शाहले भने, केबुलकार निर्माण आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि यसै मञ्च मार्फत गर्दछु ।

जालपादेवी केबुलकार कम्पनीका अध्यक्ष चन्द्र प्रसाद ढकालको नेतृत्वमा चिसापानीमा केबुलकार निर्माण थालिएको हो । ग्लोबल आईएमई ग्रुपका अध्यक्ष समेत रहेका ढकालको नेतृत्वमा यसअघि चन्द्रागिरीमा केबुलकार सञ्चालनमा छ ।

अध्यक्ष ढकालले करीव सात सय करोड रुपैयामा चिसापानीमा एक वर्षभित्र केबुलकार सञ्चालनमा ल्याउने लक्ष्य रहेको बताए ।

उनले केबुलकारको सञ्चालनमा सुदूर पश्चिमको पर्यटन र अर्थतन्त्रमा ठूलो योगदान पुग्ने विश्वास व्यक्त गरे ।

केबुलकारको शिलान्यास कार्यक्रममा सहभागी भएर हौसला बढाएकोमा परराष्ट्रमन्त्री राणालाई धन्यवाद दिएका अध्यक्ष ढकालले केबुलकार निर्माणमा प्राप्त सहयोगका लागि सरकारलाई धन्यवाद दिए ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकालले मुलुकको विकास र समृद्धिका लागि निजी क्षेत्र सदैव सरकारसंग सहकार्य र साझेदारी गर्न तत्पर रहेको समेत प्रतिबद्धता गरे ।

जालपादेवी केवलकारका सञ्चालक समिति सदस्य सूर्यबहादुर थापा असंभव ठानिएको केबुलकारको निर्माण अध्यक्ष ढकालको ईच्छाशक्ति र सकारात्मक सोचले संभव भएको बताए । उनले केबुलकारको सञ्चालनले चिसापानी पर्यटनको हव भन्ने बताए ।

उनले केबलकारको यात्रामा कर्णाली नदी, जालपादेवी, कालभैरब, कालिकादेवी, कैलाशधाम लगायतका धार्मिकस्थल, हात्तीढुङ्गा लगायत पर्यटकीयस्थलको अवलोकन गर्न सकिने बताए ।

शिलान्यास समारोहमा लम्की चुहा नगरपालिकाकी प्रमुख सुशिला शाही र मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीभक्त उपाध्यायले केबुलकारको निर्माण थालेकोमा निर्माण कम्पनीलाई धन्यवाद दिदै निर्माणमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सुदूर पश्चिम प्रदेशको प्रवेशद्धार कैलालीको लम्कीचुहा नगरपालिका ३ चिसापानीमा निर्माण थालिएको केबुलकार दुई प्रदेश सुदूर पश्चिम र कर्णाली, दुई पालिका लम्की चुहा नगरपालिका र मोहन्यापाल गाउँपालिकासंग जोडिएको छ ।

केबुलकार निर्माणमा सात अर्ब रुपैया खर्च हुने निर्माण कम्पनीले जनाएको छ ।  केबुलकार निर्माणका लागि एक हजार आठसय ६६ रुख कटान भइसकेको छ भने २० बिघा जग्गा पनि निर्माण कम्पनीको नाममा आइसकेको छ ।

तीन दशमलब एक किलोमिटर लामो केबुलकारको यात्रा अवधी दश मिनेटको रहने छ । केबलुकारमा १५ वटा टावर र ३४ वटा गोन्डुला रहने छन् ।  निर्माण समूहले केबलकारबाट हुने कुल आम्दानीको दुई प्रतिशत स्थानीय सरकारलाई उपलब्ध गराउने प्रतिवद्धता गरेको छ ।

केबुलकारको निर्माणसँगै चिसापानीमा ५० बेड र राजकाँडामा एकसय बेड क्षमताका होटल र सभाहल निर्माण गरिने बताइएको छ । केबलकारको बटम स्टेशन कर्णाली चिसापानीमा रहने जनाइएको छ ।