छ दशकअघि यस्तो थियो डोटी

सोमबार पौष २२, २०८१/ Monday 01-06-25
Paschim Today

धनगढी, २२ पुस ।
छ दशकभन्दा पहिले डोटी कस्तो थियो ? अहिलेको पुस्तालाई त्यो कौतुहलता हुन सक्छ ? जसले छ दशक पहिलेको डोटी देखे, उसलाई लाग्छ होला, ओहो ! डोटी यो छ दशकमा कति फेरिएछ ? तर अहिलेकालाई लाग्न सक्छ, डोटी फेरिन र समयको पद्चाप पछ्याउन अझै कति वर्ष लाग्छ होला ? किनकी डोटी शिक्षामा सबैको पहूँच अझै सुनिश्चित हुन सकेको छैन । बाटोघाटो, बिजुली सबै गाउँमा अझै पुग्न सकेको छैन । गुणस्तरीय स्वास्थ्यको कुरै छोडौ, कतिपय नागरिकले बिरामी हुदा सहजै सिटामोल पाउदैनन् ।

यो छ दशकमा डोटी नफेरिएको होईन ? मान्छेको आर्थिक, शैक्षिक, सामाजिक जीवनस्तरमा सुधार नभएको होईन ? तर जुन गतिले फेरिईनुपथ्र्यो, त्यो गतिले भने फेरिईन नसकेको सत्य हो ।

एक समय थियो, डोटीबाट मान्छेहरु सामान किन्न ब्रह्मदेव मण्डीसम्म पुग्थे । अझै कतिपय त्योभन्दा पनि पर काशीपुर पुग्थे । कन्टेनरमा घिउ लगेर जान्थे । र,त्यो घिउ बेचेर प्राप्त हुने रकमले नुन, तेल, कपडा किनेर ल्याउथे । ब्रह्मदेव गएकाहरु २० देखि २२ दिनमा सामान लिएर फर्किन्थे । सामान लिन उनीहरु समूहमा जान्थे । उनीहरु घरबाट निस्किदा गाउँमा रुवावासी हुन्थ्यो । औलोले कतिपयको ज्यान पनि जान्थ्यो । त्यही कारण आफ्नो प्रियजन फर्किने हो कि होईन भन्ने भय सबैका मनमा हुन्थ्यो ।
पाका मान्छेहरु सुनाउछन्, उनीहरुले बाटोमा लाग्ने समयका आधारमा रासनसंगै लिएर जान्थे । राति जुन धर्मशालामा बास बस्थे । त्यहा एक दिनको रासन छोडेर जान्थे । त्यसरी हरेक ठाउँमा रासन छोड्थे । फर्किदा त्यही राशन खान्थे । यसरी राशन छोड्न भारी कम हुन्थ्यो ।

धनगढीबाट डोटी पुग्न एक हप्ता लाग्थ्यो । त्यतिबेला धनगढी–डोटी जोड्ने सडक बनिसकेको थिएन । डोटीबाट धनगढी पुग्न कम्तिमा सात दिन लाग्थ्यो । सिलगढीबाट एकदिनमा कफल्लेकी वा नापानी । दोस्रो दिन मडे ओडार । महाभारतको लेक अन्तर्गत पर्ने त्यो ओडारमा मुर्दा ल्याउदा बास बस्ने हुनाले त्यसको नाम मडे ओडार राखिएको थियो । त्यहाँबाट चौथौ दिन खलबस्ता, गडसेरा । र, पाँचौ दिन जोरायल । छैठौ दिन खसरेको ओरालो । जो भासु नजिकै पथ्र्यो । सातौ दिन मछेलीको ओरोलो हुदै कोल्मुडा । आठौ दिन मालाखेती । र, साँझ खाना खाएर लडियामा रातभरी जंगलै जंगलको बाटो भएर बिहान ११ बजे धनगढी पुगिन्थ्यो ।

५८ वर्षअघि धनगढीबाट हिडेर अमेरिकीन पीसकोर दम्पत्ती (ड ह्याच) डोटी पुगेका थिए । न्यान्सी र डअले पद्म पब्लिक बहुउद्देश्यीय हाईस्कुलमा पढाए । दुई वर्ष सिलगढीमा पढाएका उनीहरुले त्यतिबेलाको रहनसहन, जीवनशैली र परिवेशलाई तस्वीरमा कैद गरेका थिए ।

सन १९६७ अर्थात आज भन्दा ५७ वर्षअघि तत्कालिन अमेरिकी राजदूत क्यारोल सी लेस डोटी पुगेकी थिईन । ह्याचले राजदूतको भ्रमण र स्वागतको तस्वीरहरु समेत क्यामेरामा कैद गरे ।

(यो समाचारमा समेटिएको तस्वीर पीसकोर फोटो ग्यालरीबाट साभार गरेका हौ । जुन तस्वीरहरु ड ह्याचले खिचेको हुन् ।)