छिमेकी देशमा फैलदो भाइरस : ' विज्ञ भन्छन्‚ हाम्रोमा आत्तिनुपर्ने अवस्था छैन‚ सतर्क भने रहौँ '
काठमाडौँ : केही हप्तादेखि चीनमा फैलिरहेको ह्युमन मेटान्युमो भाइरस (एचएमपीभी) का संक्रमित भारतमा पनि भेटिन थालेका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार हालसम्म भारतमा एचएमपीभीका ८ जना संक्रमित भेटिएका छन्। मंगलबार बिहान महाराष्ट्रको नागपुरमा २ जनामा यो भाइरस पुष्टि भएको जनाइएको छ।
संक्रमितमध्ये एक १३ वर्षीया बालिका हुन् भने अर्का ७ वर्षका बालक हुन्। सोमबार बिहान मात्रै कर्नाटकमा तीन महिनाकी बालिका र ८ महिनाको बालकमा यो भाइरस पुष्टि भएको पाइएको थियो।
यसैगरी पश्चिम बंगालमा एकजना, तमिलनाडुको चेन्नईमा पनि दुईजना बालबालिकामा यो भाइरसको संक्रमण देखा परेको बताइएको छ। यसैगरी अहमदावादमा पनि दुईजना बालबालिकामा यो भाइरस देखिएको छ।
दुबै छिमेकी देश चीन र सबैभन्दा धेरै खुला सिमाना र त्यहीबाट आउनेजाने हुने भारतमा यो भाइरस भेटिएपछि अब फेरि ५ वर्षअघि भेटिएको कोभिड महामारी जस्तै अवस्था सिर्जना हुने त होइन भन्ने डर धेरैमा समेत उत्पन्न भएको छ।
तर विज्ञहरूले अहिले नै आत्तिनुपर्ने अवस्था नरहेको तर सतर्कता भने अपनाउनुपर्ने बताएका छन्।
हालै चीन र अन्य देशमा देखिएको ह्युमन मेटान्युमो भाइरसका कारण रुघाखोकीका विरामी बढ्दा जनचासो बढ्नु स्वभाविकै हो। यो भाइरस सन् २००१ मा पहिलोपटक चिनिएको हो, त्यसैले यो नयाँ भाइरस होइन।
कन्सल्टेन्ट फिजिसियन डा। विमल चालिसेका अनुसार चिसो मौसमा भाइरस देखिने र यसबाट संक्रमित भई विरामी बढ्नु स्वाभाविक हो। ‘ह्युमन मेटान्युमो भाइरस संक्रमित विरामी बढ्नु पनि स्वभाविकै हो। त्यसैले आत्तिहाल्नु नपर्ने तर सतर्क भने रहनुपर्ने अवस्था छ’‚ कन्सल्टेन्ट फिजिसियन डा। चालिसेले भने‚ ‘हाम्रोमा पनि यो भाइरस संक्रमणको निदान पहिल्यै भैसकेको छ‚ डराउनु पर्दैन तर सतर्कता भने अपनाउनु पर्छ। यो रोगका लक्षण मौसमी रुघाखोकी जस्तै छन्‚ बच्ने उपाय पनि कोभिडको जस्तै हात धुने‚ मास्क लगाउने र भौतिक दूरी कायम गर्ने हुन्।’
यता स्वास्थ्य मन्त्रालयले भने अहिले फैलदो ह्युमन मेटान्युमो भाइरस संक्रमणलाई निगरानीमा राखेको जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) का निर्देशक डा. यदुचन्द्र घिमिरेका अनुसार वेला- वेलामा भएका अध्ययनले ह्युमन मेटान्युमो भाइरस संक्रमण यसअघि पनि नेपालमा देखिसकेको हुँदा यो नयाँ नभएको तर अहिले फैलिरहेको भाइरस हाम्रोमा देखिइरहेको खालको हो कि परिवर्तित हो भन्ने निर्क्योल नभएको हुँदा अहिले पर्ख र हेरको अवस्थामा रहेको बताउँछन्। इडिसिडिका निर्देशकले भने‚ ‘रुघाखोकीसँग मिल्दोजुल्दो यो मौसमी भाइरस यसअघि नै हाम्रोमा देखिसकेको छ तर त्यसमा स्वरूप परिवर्तन ९म्युटेसन० भएर अहिले फैलिरहेको हो होइन भनेर यो विषय अझै बाहिर आएको छैन। त्यसका लागि हामीले विश्व स्वास्थ्य संगठनसँग अपडेट मागिरहेका छौँ तर अहिलेको अवस्थामा भने आत्तिहाल्नु नपर्ने तर सतर्कता भने अपनाउनुपर्ने अवस्था छ।’
आज मात्रै इडिसिडीमा छिमेकी देशमा फैलदो ह्युमन मेटान्युमो भाइरस र नेपालको जोखिमबारे छलफल हुँदा अहिले सतर्कता अपनाउने र म्युटेसन भएर भाइरस फैलिएको हो होइन भनेर पुष्टि गर्ने विश्व स्वास्थ्य संगठनसँग ताकेता गर्ने निर्णय भएको समेत इडिसिडीका निर्देशक घिमिरेले बताए। उनका अनुसार विश्व स्वास्थ्य संगठनबाट थप विवरण आएपछि जोखिमको अवस्था हेरेर थप काम गरिने समेत बताए।
यता चीनको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) का अनुसार आरएनए भाइरस भएको र भाइरस संक्रमित विरामीमा चिसो र कोभिड–१९ को जस्तै लक्षण देखिने गरेको छ। यसको सबैभन्दा बढी असर साना बालबालिकामा देखिएको सिडिसीले जनाएको छ।
सिडिसीका अनुसार २०२४ को अन्तिम सातासम्मको तथ्याङ्कले यसका संक्रमित बढ्दै गएका छन्। यद्यपि तथ्यले देखाएको छ, कि एचएमपीभी अन्य फ्लु जस्ता रोगहरू (जस्तै, कोभिड- १९, राइनोभाइरस, एडेनोभाइरस) भन्दा अगाडि रहेको छ। चीनमा ६.२ प्रतिशत श्वासप्रश्वास सम्बन्धी परीक्षण एचएमपिभी पोजिटिभ पाइएको छ र ५.४ प्रतिशत अस्पताल भर्ना भएका विरामी नयाँ भाइरससँग सम्बन्धित हरेको सिडिसीले जनाएको छ।
एचएमपिभीका लक्षणहरूमा खोकी, ज्वरो, टाउको दुखाइ, नाक बन्द हुने वा बग्ने समस्या छन् तर गम्भीर अवस्थामा यसले श्वास फेर्न कठिनाइ, ब्रोङ्काइटिस (फोक्सोको हावानली सुनिने समस्या) वा निमोनियासम्म पुर्याउन सक्छ।
रोकथामका लागि साबुनपानीले नियमित रूपमा हात धुने, अनुहार नछुने, विरामीसँग नजिकको सम्पर्क नगर्ने र विरामी भएको अवस्थामा घरमै आराम गर्ने सुझाव दिइएको छ। एचएमपिभीका लागि हालसम्म कुनै विशिष्ट उपचार वा खोप उपलब्ध छैन। सङ्क्रमित व्यक्तिलाई फ्लु जस्तै उपचार गर्न सिफारिस गरिएको छ।
तपाईको प्रतिक्रिया