बझाङमा यात्रु ओसारपसार गर्ने १७ वटा निजी सवारी कारवाहीमा
बझाङ । बझाङमा रातो नम्बर प्लेट भएका १७ वटा जीप ट्राफिक कारवाहीमा परेको छ । यात्रु ओसारपसार गरेको पाइएपछि ती जीपलाई कारवाही गरिएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङका प्रमुख विनोद विष्टले निजी प्रयोजनका लागि किनिएका ती सवारी सार्वजनिक यातायातका रूपमा प्रयोग गरिएको पाइएपछि नियन्त्रणमा लिइएको बताए ।
´हामीले यस्ता जीपहरूलाई कालो नम्बर प्लेटमा दर्ता गर्न पर्याप्त समय दिएका थियौं । तर, अटेर गरेपछि कारवाही गरेका हौं’, विष्टले भने ।
जिल्लामा ट्राफिक प्रहरीको जनशक्ति कम हुँदा पूर्ण निगरानी गर्न कठिन भएको उनले बताए ।
´११ जनाको दरबन्दी भए पनि अहिले ८ जनामात्रै कार्यरत छन् । ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन १४-१५ जना चाहिन्छ । यातायातका साधनको पनि अभाव छ`, उनले भने ।
ट्राफिक प्रहरीले रातो नम्बर प्लेट भएका जीपलाई नियमअनुसार चलाउन र सार्वजनिक यातायातका रूपमा सञ्चालन गर्ने भए कालो नम्बर प्लेट हालेर दर्ता गराउन आग्रह गरेको छ ।
तपाईको प्रतिक्रिया