दोधारा-चाँदनीमा सुख्खा बन्दरगाह निर्माण चाँडै अघि बढ्छ : उद्योग मन्त्री भण्डारी
कैलाली । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले कञ्चनपुरको दोधारा-चाँदनीमा सुख्खा बन्दरगाह निर्माण चाँडै अघि बढ्ने बताएका छन् । प्रेस चौतारी नेपाल कैलालीले मंगलबार धनगढीमा गरेको पत्रकार सम्मेलनमा मन्त्री भण्डारीले सुख्खा बन्दरगाह निर्माण हुने क्षेत्रमा पर्ने रुख कटानको आदेश भइसकेकाले छिट्टै निर्माणको काम अघि बढ्ने मन्त्री भण्डारीले बताए ।
‘नेपाल र भारतका वाणिज्य सचिवस्तरीय संयन्त्र (आईजीसी) बैठकमा नेपालले रुख कटान भएलगत्तै भारतीय पक्षले ठेक्का आह्वान गर्ने सहमति भएको छ’, भण्डारीले भने, ‘हामीले रुख कटान आदेश पाइसकेकाले चाँडै काम सुरु हुन्छ । त्यसपछि भारतले ठेक्का लगाएर सुख्खा बन्दरगाह निर्माण अघि बढाउँछ ।’
मन्त्री भण्डारीले सार्वजनिक–निजि साझेदारीमा कैलालीको हरैयामा विशेष आर्थिक क्षेत्र (सेज) स्थापना गर्ने सरकारको तयारी रहेको समेत जनाए । मन्त्री भण्डारीले हरैया विशेष आर्थिक क्षेत्र प्रारम्भीक काम सकिएपछि सार्वजनिक–निजि साझेदारीको अवधारणमा निर्माण कार्य सुरु गरिने बताए ।
‘यस अवधारणाअन्तर्गत भैरहवामा विशेष आर्थिक क्षेत्रको पूर्वाधार निर्माण भइसकेको छ र सिमरामा निर्माणको क्रममा छ’, मन्त्री भण्डारीले भने, ‘सिमरा र हरैयाको प्रारम्भीक काम सकिएपछि चाँडै पीपिए मोडेलमा लैजान्छाैं ।’ यहाँ प्रारम्भीक अध्ययनको काम सकिएको उल्लेख गर्दै उनले अब वातावरणीय प्रभाव मूल्यांaकनको प्रकृया अगाडि बढाइने बताए ।
तपाईको प्रतिक्रिया