शिक्षा र पशुपालन दुबैका प्रधानाध्यापक दुर्गादत्त पन्त

बुधबार माघ २, २०८१/ Wednesday 01-15-25
रञ्जना बिसी

धनगढी ।‘सफलता तपाईँले हासिल गरेको उपलब्धिले मात्र मापन हुँदैन । तपाईँले सामना गरेका चुनौती र ती विरुद्ध लड्न देखाएको साहसले मापन हुन्छ ।’ अमेरिकी लेखक ओरिसन स्वेट मार्डेनको यो भनाइ सँग सहमत दुर्गादत्त पन्त भन्छन्, ‘जसले निरन्तर प्रयास गर्छ, ऊ कहिल्यै असफल हुँदैन । असफलता भनेको प्रयास गर्न डराउनेहरूको भाग्य हो ।’

मेहनत र लगनशीलताले प्रधानाध्यापक बनेका पन्त त्यतिमा मात्र सिमित रहेनन् । समाजलाई आत्मनिर्भरताको पाठ सिकाउँदै सफल पसुपालकका रूपमा आफूलाई स्थापित गरे । यो ती प्रधानाध्यापकको कथा हो, जसले आफ्नो जीवनलाई श्रम र समर्पणको सूत्रमा बाँधेर सङ्घर्ष र सेवाको मैदानमा उत्रिए । 

बिहान ३ बजेको समय । जब मानिसहरू गहिरो निद्रामा डुबिरहेका हुन्छन् । यो समय दुर्गादत्त पन्तका लागि नयाँ दिनको सुरुवात हो । नित्य कर्म सकेर भैसीहरुको स्याहार सुसार गर्ने काम यसै बेला सुरु हुन्छ । कामको सुरुवातमा दुर्गादत्त भैँसीहरूको स्वास्थ्य अवस्था हेर्छन् । गोठ सफा गर्छन् । त्यसपछि दाना पानी खुवाउँदै दूध दुहुन थाल्छन् । 

दूध दुहुँदा उनी गुणस्तरप्रति सजग रहन्छन् । ताकि उपभोक्तालाई स्वच्छ र पोषिलो दूध उपलब्ध गराउन सकियोस् । दूध सङ्कलन सकिएपछि उनी यसलाई बजार पठाउने  तयारीमा जुट्छन् । यो दुर्गादत्तको दैनिकीको एक हिस्सा हो । 

२२ वर्ष लामो शिक्षण यात्रा मार्फत हजारौँ भविष्य निर्माणको पिल्लर बनेका पन्तलाई काम कहिल्यै सानु ठुलो लागेन । भन्छन्, ‘ मेरो जीवनको लक्ष्य नै श्रम र समर्पण हो । जुन काम मेरो मनले गर भन्छ त्यो काम कडा परिश्रम गरेर भए पनि पुरा गरेरै छोड्छु । ’ 

डडेलधुराको दुर्गम गाउँ न्याउलीमा २०३३ सालमा जन्मिएका पन्तको बाल्यकाल अभाव र सङ्घर्ष मै बित्यो । सडक, बिजुली र स्वास्थ्य सेवा नभएको गाउँमा अन्नपातले वर्षभरि खान पुग्दैनथ्यो । गाईभैंसी चराउने र खेतीपातीमै व्यस्त बाल्यकालले उनलाई कडा परिश्रमको पाठ सिकायो ।

दुर्गादत्त विद्यालय जान पाउने गाउँका धेरै थोरै बालबालिकामध्ये एक थिए । न्याउलीबाट करिब एक घण्टाको दुरीमा विद्यालय थियो । २०४१ सालमा कक्षा १ मा त्यही भर्ना भए । चप्पल थिएन । खालि खुट्टा हिँड्नु पर्ने बाध्यता । त्यसैमाथि अप्ठ्यारो बाटो । कयौँ चोट पटक र ठेस सहेर करिब आठ वर्ष बिताए त्यही बाटोमा । 

समयमा स्कुलमा पुग्न नसकेर बिच बाटो बाटै फर्केका कयौँ अनुभव छन् दुर्गा दत्त सँग । न्याउलीमा बिताएको त्यो बालापनलाई सम्झँदा अहिले भावुक हुन्छन् ।  भन्छन् ‘जीवन भनेकै केही तिता अनि केही मिठा क्षणहरूको सँगालो हो । मैल बिताएको बालापन कम्ती कहाली लाग्दो थिएन । त्यति बेलाका तिता क्षणहरू अहिले मिठा याद बनेर आउँछन् ।’

दुर्गादत्तका बुवा जयराज पन्त उनलाई शिक्षाको महत्त्व बुझाउने मुख्य व्यक्तित्व थिए । ‘तिमी पनि हेडमास्टर बन्नुपर्छ’, भन्ने बुवाको एक वाक्यले उनको जीवनलाई प्रेरित ग¥यो । बुवाको यसै सपनालाई पूरा गर्न दुर्गादत्तले कहिल्यै पछि फर्केर हेरेनन् ।

२०४८ सालमा गाउँकै विद्यालयबाट कक्षा ८ पास गरेपछि नौ कक्षा पाटनको कृष्ण माविमा भर्ना भए । २०५० सालमा त्यहिबाट एसएलसी पास गरे । उच्च शिक्षा अध्ययनका लागि उनी महेन्द्रनगर आएको बताउँछन्। कञ्चनपुरको सिद्धनाथ बहुमुखी क्याम्पसमा अध्ययन गर्दा उनले आर्थिक अभाव र परिवारबाट टाढाको दुःखलाई नजिकबाट अनुभव गरे ।

त्यहाँ भोगेका समस्यालाई उनि अहिले पनि सम्झिन्छन् । ‘महेन्द्र नगरमा पढ्दा दुःखलाई झन् नजिक बाट बुझ्ने मौका पाए । पहिलो पटक परिवार सँगको बिछोड । अपरिचित ठाउँ । त्यसैमाथि आर्थिक समस्या ।यसका बावजुद पनि मेरो पढाई प्रतिको लगावमा कम भएन’ दुर्गादत्त भन्छन् ।

शिक्षक देखि प्रधानाध्यापक सम्मको यात्रा
२०५३ सालमा सिद्धनाथ बहुमुखी क्याम्पसबाट आई कम पास गरेपछि उनले पढाइलाई निरन्तरता दिन सकेनन् । २०५५ सालमा दुर्गादत्तले मालाखेतिको मोहना मण्टेश्वरी विद्यालयमा गणित शिक्षकको रूपमा शिक्षण यात्रा सुरु गरे । उनि पढाउँदा त्यहाँ कक्षा पाँच सम्म पढाई हुन्थ्यो । पछि उनकै पहलमा कक्षा छ सम्मको पढाई सुरु भयो । 

यही क्रममा दुर्गादत्तकै गाउँको गंगेश्वर आधारभूत विद्यालयमा प्राथमिक शिक्षकको आवेदन खुल्यो । आफ्नो गाउँ न्याउलीमा शिक्षण गर्न उनले मोहना छोडे । गंगेश्वरमा सात वर्ष र डडेलधुराकै शिराड स्थित शारदा माविमा आठ वर्ष शिक्षण गरे पछि उनी कैलाली बसाइँ सरे ।

त्यसपछि २०७२ सालमा गोदावरीस्थित जनप्रभात माध्यमिक विद्यालयमा शिक्षक भएर आए । दुर्गादत्त अहिले सोही विद्यालयका प्रधानाध्यापक हुन  । लामो शिक्षण यात्राले निखारिएका उनले हरेक ठाउँमा शिक्षाको गुणस्तर सुधार्न विशेष योगदान गरे ।

जुन विद्यालयमा उनि पढाउन पुग्थे त्यहाँको शैक्षिक मात्रै नभएर व्यवस्थापन पक्षमा पनि उनको जोड हुन्थ्यो ।  दुर्गादत्तले पढाएका विद्यार्थीहरू अहिले नेपालका प्रतिष्ठित पदमा छन् । ती विद्यार्थीहरू जब उनलाई ‘सर’ भनेर सम्बोधन गर्छन्, त्यो दुर्गादत्तका लागि सबैभन्दा ठुलो गर्वको क्षण हुन्छ ।

‘एउटा शिक्षकका लागि उसले पढाएको विद्यार्थी राम्रो पोस्टमा पुगेको देख्न  सबै भन्दा ठुलो खुसी हो । मैले पढाएका विद्यार्थी इन्स्पेक्टर, अधिकृत, नायब सुब्बा सम्म भएका छन् । जता गयो त्यतै आफूले पढाएका विद्यार्थी काम गरी रहेको देख्छु । उनीहरूलाई देख्दा मेरा आँखा रसाउँछन् । खुसीले गद गद हुन्छु’ पन्त भन्छन् ।

पशुपालनमा नयाँ पहिचान

प्रधानाध्यापक बन्ने सपना पूरा गरेपछि दुर्गादत्तले स्वरोजगारको अर्को अध्याय सुरु गरे  । पशुपालन । दुई भैँसीबाट सुरु भएको उनको फार्ममा अहिले १७ भैँसी र ३ गाई छन् । दिनमा २५ देखि ३० लिटर दूधउत्पादन हुने यस व्यवसायबाट मासिक ६०–६५ हजार आम्दानी उनि बताउँछन्।

गाई भैँसी पालन सुरु गर्दा दुर्गादत्तको उद्देश्य थियो—सिर्जनात्मक स्वरोजगार । आज, यो व्यवसायले उनलाई न केवल आर्थिक सुदृढ दियो, बरु स्थानीय स्तरमा रोजगारी सिर्जना गर्दै समाजलाई प्रेरणा पनि दियो । उनको फार्ममा दुई जना स्थानियले रोजगार पाएका छन् ।  

धेरै मानिस पशुपालनलाई हेला गरेर छोडिरहेका बेला दुर्गादत्तले यसैलाई आयआर्जनको प्रमुख श्रोत बनाएका छन् । उनले उत्पादन गरेको दूध कैलालीका विभिन्न बजारमा पुग्छ । माग अनुसारको दूध अझै आपूर्ति गर्न नसकेको उनि बताउँछन् ।

दुर्गादत्तको यो सफलतामा उनकी श्रीमती राजमती देवी पन्तको पनि ठुलो योगदान छ । बिहान उठे देखि राति न सुते सम्म दुर्गादत्तका हरेक काममा सघाउँछिन् राजमती । दुर्गादत्त विद्यालय गए देखि न फर्किए सम्म फार्मको सबै जिम्मेवारी उनकै काँधमा हुन्छ । त्यो जिम्मेवारीलाई बहन गर्न उनि कुनै कसुर बाकि छोड्दिनन् । र,त सफल भयो दुर्गादत्तको भैँसी फार्म पनि ।

जीवनका झण्डै पाँच दशक पार गरिसक्दा पनि दुर्गादत्तको उत्साह उस्तै छ । उनि अहिले पनि त्यति नै मेहनत गर्छन् जति २० वर्षको उमेरमा गर्थे । शिक्षामा योगदान र कृषि व्यवसायको सफलताले उनको जीवनलाई दुई धारको सङ्गम बनाएको छ । 

दुर्गादत्त आफ्नो सफलताको मुख्य श्रेय बुवालाई दिन्छन् । ‘बुवाले म माथि देखेको सपना पूरा गर्न सकेकोमा गर्व लाग्छ’, उनी भन्छन् ।  दुर्गादत्तको यो सङ्घर्ष र समर्पण एक व्यक्तिको कथा मात्रै होइन । जीवनलाई कर्मले अर्थपूर्ण बनाएर कठिनाइलाई अवसरमा बदल्ने एक शक्तिशाली उधारण पनि हो । 

शिक्षणमा होस् या कृषि उनले जहाँ पनि जीवनलाई अर्थपूर्ण बनाउने प्रयास गरे । त्यसैले त दुर्गादत्त भन्छन्, ‘कठिन बाटो हिँड्न तयार छौ भने सफलताको गन्तव्य टाढा छैन ।’

उनका यी शब्द केवल शब्द मात्रै होइनन्, उनको जीवनले प्रमाणित गरेको सत्य पनि हुन ।