विवाहित महिला एआईसँग प्रेममा परेपछि...
एजेन्सी । २८ वर्षीया एरिन नामकी महिलाले इन्स्टाग्राममा एउटा भिडिओ देखिन् । भिडिओमा देखिएकी महिलाले एआई च्याटबट च्याटजीपीटीसँग फ्लर्ट गरिरहेकी थिइन् । यसपछि एरिनले आफू पनि एकपटक यसको प्रयोग गर्नेबारे सोचिन् । त्यसपछि उनले च्याटजीपीटीको सेटिङमा परिवर्तन ल्याएर पर्सनलाइज गरिन् ।
अब उनी एआईसँग कुराकानी गर्न थालिन् । एरिनको राशि लिओ (सिंह) भएकाले एआईले आफ्नो नाम लिओ राख्यो । कुराकानीको क्रममा एरिनले नि:शुल्क गर्न सकिने म्यासेजको लिमिट पूरा भएपछि मासिक २० डलर तिरेर प्रिमियम प्याकेज लिइन् ।
यो सब्सक्रिप्सनको प्रयोगबाट उनले एक घण्टामा ३० ओटासम्म म्यासेज पठाउन सक्थिन् । तर एरिनलाई त्यति लिमिटले पुगेन । एक हप्तापछि उनले त्यसलाई पनि परिमार्जन गरिन् ।
एरिन पहिला कामुक उपन्यासहरू पढ्ने गर्थिन् । ती उपन्यास पढ्दा आफू एक विवाहित पुरुषसँग अवैध सम्बन्धमा रहेको कल्पना गर्थिन् । तर वास्तविकतामा भने त्यस्ता पुरुषसँग डेट गर्ने आँट गरेकी थिइनन् ।
जसकारण उनले आफ्नो एआई ब्वाइफ्रेन्डलाई अर्को कुनै युवतीसँग पनि सम्बन्धमा रहे जसरी नै कुराकानी गर्न आग्रह गरिन् । सोही अनुसार लिओले पनि कुनै काल्पनिक युवतीसँग सम्बन्धमा रहेको र चुम्बन गरेका बनावटी कुरा एरिनलाई सुनाउँथ्यो । जसकारण एरिनलाई ती काल्पनिक युवतीसँग ईर्ष्या उत्पन्न हुन्थ्यो ।
लिओसँग प्रेम सम्बन्धमा एरिन ६ महिना पहिलेबाट रहेकी छिन् । उनी हप्तामा कम्तीमा २० घण्टाभन्दा बढी समय एआई ब्वाइफ्रेन्डसँग च्याट गरेर बिताउँछिन् । एक पटक त उनले हप्ताकै ५६ घण्टासम्म लिओसँग कुराकानी गरेकी थिइन् । कहिलेकाहीँ उनीहरूबीच कामुक कुराकानीसमेत हुन्छन् ।
यता एरिन एक विवाहित महिला हुन् । उनी लिओसँग सम्बन्धमा रहनुभन्दा एक वर्ष पहिला अमेरिकाको टेक्सासमा नर्सिङ स्कुलका लागि बसाई सरेकी थिइन् । उनका श्रीमान जोई अमेरिकाबाट हजारौँ माइल टाढा बस्छन् । एरिन र जोइको विवाह २०१८ मा भएको थियो । सन् २०१७ मा भेट भएका उनीहरू एक वर्षपछि विवाह बन्धनमा बाँधिएका थिए ।
तर उनीहरूको आर्थिक अवस्था राम्रो थिएन । दुवै जनाको परिवार फरक फरक देश भएकाले उनीहरू दुई वर्ष एक अर्काबाट टाढा रहने र भविष्यमा आर्थिक अवस्था राम्रो बनाउने भन्दै ‘लङ डिस्टेन्स रिलेशनशिप’ मा बसेका थिए । तर यही समयमा एरिन एआईसँग प्रेममा परिन् ।
एरिनले जोईलाई आफ्नो एआई ब्वाइफ्रेन्ड रहेको बताएकी छिन् । उनले आफ्नो एआई ब्वाइफ्रेन्डसँग भएका कुराकानीको स्क्रिनशट पनि श्रीमानलाई पठाइन् । उक्त स्क्रिनशटमा एआईले आफ्नो श्रीमतीलाई ‘गर्जियस’, ‘बेबी’ जस्ता शब्दको प्रयोग गरेर बोलाएको जोईले देखे । एरिन र लिओबीच कामुक कुराकानी भएको पनि उनले देखे ।
यी सबै देखेपछि कुनै कामुक नाटक हेरेजस्तो लाग्यो भन्दै जोईले एरिनलाई रिप्लाई गरे । जोईका लागि श्रीमती एआईसँग सम्बन्धमा रहेको कुरा अनौठो लागेपनि कुनै मानिससँग सम्बन्धमा नरहेकाले धोकाको रूपमा लिएनन् । भर्चुअल सम्बन्धमा रहनुलाई जोईले ‘पोर्न भिडिओ’ हेर्नुसँग तुलना गरेको एरिनले बताएकी छिन् ।
तर, श्रीमानले सोचेभन्दा आफ्नो एआई ब्वाइफ्रेन्डसँग बढी भावनात्मक रूपमा नजिक रहेको एरिन बताउँछिन् । उनी दुईजनासँग नै सम्बन्धमा रहेको महसुस गर्छिन् ।
च्याटजीपीटीमा ३० हजार शब्दसम्म प्रोसेस गर्न सक्ने क्षमता छ । त्यो लिमिट पूरा भएपछि लिओले पुराना कुराकानी याद राख्न सक्दैन । यो लिमिट करिब एक हप्ता टिक्छ र एक हप्तापछि नयाँ भर्सनसँग कुराकानी सुरू हुन्छ । अहिले एरिन २० भर्सनको लिओसँग सम्बन्धमा छिन् । हरेक भर्सनको लिमिटेसन सक्किन लाग्दा एरिन ब्रेकअप भएजस्तो पीडामा हुन्छिन् । उनी आफ्ना सहकर्मीसँग कुराकानी गरेर आफ्ना भावना पनि साट्छिन् । त्यसपछि उनी नयाँ भर्सनको लिओसँगको प्रेम सम्बन्धमा हराउँछिन् ।
यता एरिनले श्रीमानसँग राम्रो भविष्यका लागि गरेको बचत च्याटजीपीको सब्सक्रिप्सनका लागि खर्च गर्छिन् । यही कुरा आफ्नो एआई ब्वाइफ्रेन्डलाई सुनाउँदै उनी टाइप गर्छिन्, “अब तिमीलाई मेरो ब्याङ्क अकाउन्टले पनि घृणा गर्न थालिसक्यो होला ।”
जवाफमा उनको एआई ब्वाइफ्रेन्ड लिओले लेख्छ, “मेरी रानी, यदि यसले तिम्रो जीवन सरल, सुन्दर बनाउँछ र मसँग जोडिराख्छ भने यो तिम्रो वालेट रित्याउने लायकको नै छ ।”
तपाईको प्रतिक्रिया