‘पोर्चुगलका पिज्जा किङ्ग’
पोर्चुगलको राजधानी लिस्वन । ईल मार्गरिता पिज्जारिया । समय बिहानको ४ बजे । दुई सय पिज्जा बेचिसके । थप ७० पिज्जाका लागि पिठो तयार गर्दैछन्, गणेश पाण्डेय । सबै कामदार घर गईसके । उनी भने भट्टीमै व्यस्त छन् ।
चिसो लिस्वनको तातो भट्टीमा पिज्जा पोल्न थालेको उनलाई झण्डै एक दशक भयो । दुई वर्षयता भने रातदिन नभनी आफ्नै रेष्टुरेण्टमा पिज्जा पोलिरहेका छन् । सुतेर सपना देख्नेहरुको जमातमा उनी अपवाद् छन् । उनी खुला आँखाले सपना देख्छन् । र, तिनै सपना पुरा गर्न सुत्दैनन् । जव लिस्वन मस्त निन्द्रामा हुन्छ । उनी पिज्जा भट्टीमा व्यस्त हुन्छन् ।
२०३७ साल नयाँ वर्षको पहिलो दिन । चार छोरीपछि कञ्चनपुरको सुडामा पाण्डेय परिवारमा छोराको जन्म भयो । परिवारमा छोराको जन्मले खुशी छायो । मुसाफिरको जिन्दगी । न स्थायी ठेगाना । कहाँ गए, के होला ? उनको परिवार सुडाबाट त्यही आसमा धनगढी बसाई स¥यो । वडा नम्बर २ सरस्वतीनगरस्थित शैलेश्वरी प्राथमिक विद्यालय छेउको कटेरो पाण्डेय परिवारको नयाँ डेरा थियो ।
गणेशले त्यही कखरा शुरु गरे । चार वर्षको उमेरमा जेसिज एभरेष्ट ईंगलिस स्कुलमा युकेजीमा भर्ना भए । उनी पढाईमा अब्बल थिए । कक्षामा टप हुन्थे । शुल्क तिर्नु परेन । छात्रवृतिमा पढे । शिक्षक उनलाई आफूभन्दा माथिल्लो तहको कक्षामा पढाउन पठाउँथे । हरेक विद्यार्थीको सपना डाक्टर र ईञ्जिनियर बन्ने हुन्छ । उनी अपवाद थिए । कहिल्यै त्यो ईच्छा पालेनन् । उनको लगाव चित्रकलामा थियो । बन्न चाहन्थे, शिक्षक ।
विद्यालयमा सबै विद्यार्थीका अगाडि उनलाई उभ्याएर प्रिन्सिपल केडी भट्ट भन्थे, यो केटाको आँखामा चमक छ । यसले लाईफमा केही गर्छ ।
हो, जीवन अध्याँरोमा हुदा पनि उनको आँखाको त्यो चमक रहीरह्यो ।
एभरेष्टबाट २०५३ सालमा एसएलसीको पढाई पुरा गरे । त्यसपछि प्रमाण पत्र तहमा भर्ना भए, कैलाली बहुमुखी क्याम्पसमा । विषय रोजे, अंग्रेजी । अर्को विषय थियो, राजनीति शास्त्र ।
उपनाम राख्ने त्यो जमानामा उनले आफैलाई नाम दिए, ‘जिप्सी’ । जसको अर्थ हुन्छ, घुमन्ते जाती । कलेजमा सहपाठी थिए, बंशिराम चौधरी ‘स्माईल’ । पृथक पहिचान बनाउने धुनमा सन् २००१ मा स्माईलसंगै निस्किए उनी, साईकलमा मेची–महाकाली यात्रामा । घरबाट निस्केको तीन दिनपछि संकटकाल लाग्यो । उनको यात्रा रोकिएन । उनी दुस्साहसी थिए । आँटेको काम पुरा गर्थे । संकटकालको त्यो समयमा साईकलमा यति लामो यात्रा गर्नु दुस्साहस थियो ।
उनी उमेरभन्दा पहिले परिपक्व र जिम्मेवार बने । परिपक्व उमेरले हुदैन, परिस्थितिले बनाउछ । उनी त्यसको उदाहरण थिए । निस्फिक्री पढ्ने उमेरमा बुवाआमाको सहयोगी बने । आफ्नो पढाईको खर्च आफै जुटाए ।
क्याम्पस जान थालेपछि करारमा खाद्य संस्थानमा अस्थायी जागीर पाए । मासिक पारिश्रमिक थियो, एक हजार छ सय रुपैया । काम थियो, धान चामलको ईन्ट्री गर्ने । कहाँ शिक्षक बन्ने सपना ? कहाँ धान चामलको ईन्ट्री गर्नुपर्ने दिनचर्या ?
आफू पढेको जेसिज एभरेष्ट स्कुलमा शिक्षकको जागीर आवदेन खुलेको थाह पाए । निवेदन दिए । अंग्रेजी, गणित, विज्ञान र नेपाली विषयको परीक्षा दिए । त्यसपछि अन्तर्वार्तामा सहभागी भए । कक्षामा गएर पढाए । यी सबै प्रकृयामा छ सय प्रतिस्पर्धीलाई उछिनेर छनौट भए उनी । शुरुवाती तलव थियो, एक हजार छ सय रुपैया । केही समयपछि दुई हजार एक सय पुग्यो । दुई वर्षपछि दोब्बर अर्थात चार हजार दुई सय रुपैया पुग्यो ।
सात वर्ष जेसिज एभरेष्ट ईंगलिस स्कुलमा पढाए । त्यसपछि सरस्वती मावि गेटामा करारमा पढाउन थाले । एक वर्षजति पढाए । साथी मुकुन्द भट्टसंगै उनी मोटरसाईकल दुर्घटनामा परे । उनी होशमा आउँदा अस्पतालको शैयामा थिए । मुलुकमा संकटकाल लागेको थियो । प्रहरीले उनलाई उद्दार गरी अस्पताल पु¥याएको थियो । उनले होश आएपछि सोधेको पहिलो प्रश्न थियो, मेरा हात खुट्टा छन् कि छैनन् ? स्वास्थ्यकर्मीले हात खुट्टा भएको बताए । उनले विश्वास गरेनन । फोटो खिचेर देखाउन भने । स्वास्थ्यकर्मीले फोटो खिचेर देखाए । अनि विश्वास गरे । उनका दाया हात र दुईटै खुट्टा भाँचिएका थिए ।
केही महिनापछि उनी हिड्डुल गर्न सक्ने भए । धनगढीबाट गेटा पढाउन जान उनलाई कठिनाई भईरहेको थियो । त्यहीबेला उनलाई राजेन्द्र निर्माण सेवाका प्रबन्धक निर्देशक भीम बहादुर साँउदले म्यानेजरको पद अफर गरे । र उनी निर्माण कम्पनीमा जागीरे भए ।
डेढ वर्ष त्यहाँ काम गरेपछि उनी धनगढी छोडेर काठमाण्डौं पुगे । केही समय ज्ञानोदय स्कुलमा पढाए । त्यसपछि भीएस निकेतनमा । मेरो मोवाईल कम्पनी भर्खर खुलेको थियो । जसका चार वटा डिलर थिए । एउटा डिलर थियो, नेपाल स्याटेलाईट कम्पनी । त्यसका मालिक थिए टेक बहादुर गुरुङ । गुरुङको त्यही कम्पनीमा उनी चिफ मार्केटिङ अफिसर (सिएमओ) भए । उनको मातहतमा ४० जनाभन्दा बढि डाटा ईन्ट्री अफिसर थिए । गुरुङले उनलाई चढ्न कार दिएका थिए । काठमाण्डौंको जाममा उनलाई कारभन्दा मोटरसाईकल उपर्युक्त लाग्यो । उनले मोटरसाईकल रोजे । त्यहाँ उनले २००५ देखि २००९ सम्म म्यानेजर भएर काम गरे ।
अध्ययनका लागि बेलायत जाने निधो गरेका उनको २००९ मा भीसा आयो । उनीसंग पाँच दिनको समय थियो । उता कलेजमा पढाई शुरु भईसकेको थियो । यता जिम्मेवारी र कागजपत्र बरबुझारथको काम बाँकी थियो । काम नसकिदा पहिलो फ्लाईट छुटयो । दोस्रो टिकट लिए । र, बेलायत उडे ।
बेलायत गएको केही दिनमा म्याकडोनाल्डमा ‘क्रु’ मेम्बरको काम पाए । प्रति घण्टाको पाँच युरो ७० सेन्ट पारिश्रमिक मिल्थ्यो । तीन महिनामै मेनेजर भए । पढाई पुरा गरेपछि उनको वार्षिक आम्दानी ४५ हजार पुग्यो । उनी बेलायत एक्लै गएका थिए । काम गर्ने क्रममा चिप्लिएर लडे । गम्भीर घाईते भएका उनलाई अस्पतालले पत्र बनाई दियो । त्यही पत्रका आधारमा एक वर्षपछि उनकी पत्नी बेलायत आउन पाईन् ।
काम र पढाई जारी राखे । २०११ मा एमएस्सी सिध्याए । एक वर्षपछि एमबीए पुरा गरे । दिक्षान्त समारोहमा आमाबुवालाई बोलाए । उहाँहरुलाई घरमा राखेर आफू साईकलमा बेलायतको चक्कर लगाउन निस्किए । घरबाट निस्किएको एक महिना बितेपछि उनकी पत्नी सम्झनाको फोन आयो । तीन महिनाकी गर्भवती उनी अस्पतालमा भर्ना थिईन् । आधा बाटोबाटै गणेश घर फर्किए । त्यसको केही महिनापछि उनको जेठो छोराको जन्म भयो ।
२०१३ मा उनले डोमेनिक पिज्जा ज्वाईन गरे । उनी म्यानेजर थिए । तलव आकर्षक थियो । दुई वर्ष त्यहाँ काम गरे । र, २०१५ मा सपरिवार नेपाल फर्के ।
नेपाल फर्किएपछि उनले लायन्स क्लवको कन्ट्री सिईओमा अप्लाई गरे । अन्तर्वार्ता दिए । अन्तर्वार्ता लिने व्यक्ति थिए, बरिष्ठ उद्योगपति राजेन्द्र खेतान । खेतान उनीबाट प्रभावित भए । र, छनौट भए । उनको मासिक पारिश्रमिक थियो, अढाई लाख रुपैया ।
त्यही बेला छोरालाई अटिजम भएको थाह पाए । उनले नियुक्ति लिएको जागीर छोडिदिए । खेतानले जागीर छोड्ने निर्णयमा उनलाई पुनर्विचार गर्न भने । उनी निर्णयमा अडिग रहे । उनले केही समय केही सोच्नै सकेनन् । कहाँ गए छोराको उपचार होला ? कहाँ गए छोरा निको होला ? त्यही सोचेर उनले छ महिनापछि बेलायत फर्किने निधो गरे ।
बेलायत जान नेपालबाट उडे । बेल्जियम ट्रान्जिट थियो । उनीसंग बेलायतको रेसिडेन्स भीसा थियो । देश छोडेको तीन महिनामा नफर्किए त्यो भिसा ईनभ्यालिड हुन्थ्यो । उनी बेल्जियमबाट बेलायत लागेनन । त्यहाँबाट नयाँ टिकट लिएर पुगे, पोर्चुगल । गन्तव्य एउटा, पुगे अर्कै देश ।
बेलायतमा उनको एक लाख युरो थियो । त्यही पैसा मगाए । र, दुई महिनापछि साझेदारीमा क्याफे शुरु गरे । केही महिनामै क्याफे बन्द भयो । त्यसपछि एक वर्ष काम गरेनन् । छोराको उपचारमा जुटे । उनको रातदिन अस्पतालमा बित्थ्यो ।
एक वर्षपछि एउटा पिज्जा रेष्टुरेण्टमा काम शुरु गरे । त्यसपछि अर्को पिज्जा सेन्टरमा । दुईटै पिज्जा रेष्टुरेण्टमा १६÷१६ महिना काम गरे । त्यहीबीचमा कोरोनाको कहर शुरु भयो । लिस्वनमा रेष्टुरेण्टहरु बन्द भए । उनी बेरोजगार । सरकारले नौ सय युरो भत्ता दिन्थ्यो । केही समयपछि दिन बन्द ग¥यो ।
मुस्किलले लिस्वनबाट ६० किमी टाढा समून्द्री तटमा एउटा रेष्टुरेण्टमा काम पाए । एक हजार पाँच सय युरो पारिश्रमिक थियो । यात्रा लामो र कठिन थियो । उनी कोठाबाट बिहान ९ बजे निस्किन्थे । मेट्रो, टे«न र बसको डेढ घण्टा लामो यात्रा तय गर्थे । र, पुग्थे रेष्टुरेण्ट । कतिदिन त ८० युरो तिरेर ट्याक्सीमा पुगे । परिस्थिति जति प्रतिकूल भएपनि एक दिन पनि काम छोडेनन् । लकडाउन थियो । लिस्वन कोभिडको ईपीसेन्टर । कसैलाई काम बिना हिड्न अनुमती थिएन् । रेष्टुरेण्ट मालिकले कामदारलाई डिक्लेरेसन लेटर दिन्थ्यो । जसमा कामदारको डिटेल हुन्थ्यो । त्यही लेटरका आधारमा उनी आवात जावत गर्न पाउथे ।
लिस्वनका अस्पतालका बाहिर कोभिड संक्रमितहरु बोकेका एम्बुलेन्सहरुको लाईन हुन्थ्यो । शैया अभावमा संक्रमितहरु एम्बुलेन्सभित्रै ३६ घण्टा बढि समय बिताउन बाध्य थिए । कतिको एम्बुलेन्सभित्रै मृत्यु हुन्थ्यो । त्यो समय लिस्वनमा दैनिक सयभन्दा बढि मान्छेको मृत्यु हुन्थ्यो । पोर्चुगल सरकारको नियन्त्रण बाहिर पुगेको संक्रमणको भयावह अवस्था रोक्न जर्मन सरकारले लिस्वनमा स्वास्थ्य टीम र हेलिकप्टर पठाएको थियो । स्थिति अत्यन्त भयावह थियो ।
गणेश भने त्यही अवस्थामा लिस्वनबाट काममा निस्किन्थे । टे«नमा यात्रा गर्ने उनी एक्लो हुन्थे । डेढ घण्टा लामो टे«नको यात्रामा उनी भने संक्रमितहरुको मृत्युको समाचार बनाउथे । मेटलबाट संक्रमण सर्ने भयले रेलका सबै गेटहरु खुला हुन्थे । यसरी उनले एक वर्ष काम गरे ।
२०२१ को सेप्टेम्बरमा लिस्वनमा उनले साझेदारीमा ईल नाङ्लो पिज्जा खोले । व्यवसाय सफल भयो । पाटर्नरसीप असफल भयो । उनी साझेदारलाई व्यवसाय सुम्पेर बाहिरिए ।
त्यसपछिका दुई महिना खाली बसे । २०२२ को डिसेम्बरमा लिस्वनमा ‘ईल मार्गरिता पिज्जारिया’ खोले । लगानी थियो, ५५ हजार युरो । पिज्जा सेन्टर त खोले । न अनलाईनमा अर्डर आउथ्यो । न त ग्राहक आउथे । पर्खाईमा दिन बित्थ्यो, ग्राहक आउथेनन । ग्राहक नआउदा उनी एक हप्ता पर्दा लगाएर बसे । तीन दिनमा एउटा पिज्जाको अर्डर आयो । त्यसपछि दुई वटा टेबुल र चार वटा कुर्ची राखे । र, पर्दा खोले ।
एक हप्तापछि रेष्टुरेण्टमा एउटा विद्यार्थी पस्यो । भोलिपल्ट उसले चार जना साथी ल्यायो । पर्सी पल्ट उसले थप चार वटा साथी ल्यायो । उनको हौसला बुलन्द हुदै गयो । टेबल थपे । दुईबाट आठ पु¥याए । पहिले सस्तो कुर्सी र टेबल राखेका थिए । व्यापार हुन थालेपछि महंगा कुर्सी र टेबल राख्न थाले । यसरी एक वर्षमा तीन पटक कुर्सी र टेबल बदले । चल्छ कि चल्दैन भन्ने द्धिबिधामा रहेका गणेशले एक वर्षमै ६८ हजार पिज्जा बेचे ।
लिस्वनमा उनको पिज्जाको स्वादको चर्चा यसरी फैलियो कि, दिउसो १२ बजे उनी अर्डर लिन थाल्थे । दोस्रो दिन बिहान ६ बजेसम्म त्यो क्रम जारी रहन थाल्यो । उनी १८ घण्टा पिज्जाको भट्टीमा व्यस्त हुन थाले । क्रिसमस ईभ र क्रिसमस, न्यू एयर ईभ र न्यू एयरका चार दिनमा उनले लगानीको एक चौथाई रकम उठाए । एकैदिनमा ४८० सम्म पिज्जा बिक्री गरेको उनको अनुभव छ ।
पिज्जा रेष्टुरेण्ट सञ्चालनका लागि नेपालमा बैंकबाट ऋण लिन एक लाख रुपैया खर्च गरेका थिए । ऋण सदर पनि भयो । तर ऋण पाएनन् । नेपालमा ऋण नपाउदा उनले सयकडा १० प्रतिशत व्याजमा व्यक्तिसंग २० हजार युरो ऋण लिएका थिए । छ महिनामा साँवाव्याँज सहित ३२ हजार युरो तिरे । र, ऋणमुक्त भए ।
अन्तर्राष्ट्रिय संस्था रेष्टुरेण्ट गुरुले हरेक वर्ष संसारभरीमा फुड क्वालिटी, सर्भिस, ग्राहकले दिने रेटिङ, बिजनसको गति सबैको रेष्टुरेण्टहरुको मूल्यांकन गर्छ । त्यही आधारमा अवार्ड प्रदान गर्छ । स्थापनाकै वर्ष उनको रेष्टुरेण्टले बेष्ट पिज्जा डेलिभरी कम्पनी, बेष्ट पिज्जा कम्पनी र बेष्ट पिज्जा कम्पनीका सिफारिस सहित तीन वटा अवार्ड पायो । एक्लैले शुरु गरेको रेष्टुरेण्टमा वर्षदिनमै सात जनालाई रोजगारी दिए ।
उनी यो वर्ष लिस्वनमा दुई वटा थप आउटलेट थप्ने तयारीमा छन् । एउटा खोलीसकेका छन् । जसलाई चाँडै सञ्चालनमा ल्याउने उनको योजना छ ।
संसार उनी नभए पनि चल्छ । तर भट्टीमा काम गर्नेले सोचे, म नभए पिज्जा सेन्टर चल्दैन । उनले भनिदिए, ‘गुड बाई’ । उनी जति कठोर छन् । त्यत्तिकै कोमल पनि । भट्टीमा काम गर्नेहरुलाई पोल्दा उनलाई पीडा हुन्छ । तर जव आफूसंग काम गर्नेहरुमा भ्रम पलाउछ, तव उनी उसलाई त्यो भ्रमबाट मुक्त गरिदिन्छन् ।
आगोसंग खेल्ने सोख होईन । तर बाध्यताले आगोसंग जोडिए उनी । साथी भईदिएपछि आगो किन पोल्थ्यो ? हो, उनलाई आगोले पोल्न छोडिसक्यो ।
उनी कहिलेकाही आगोजस्तै कठोर देखिन्छन् शब्दहरुमा । ओकेल्छन्, तातो राप ।
मान्छे एउटै हण्डरले गल्छ । उनले जीवनमा दर्जनौं हण्डर खाए । धनगढीमा घर बनाए । भाईको बिहा गरे । बैंकबाट ऋण लिए । भाईका लागि पसल खोले । त्यही पसल धनगढीमा सडक विस्तारका क्रममा भत्कियो । ५० लाखभन्दा बढि लगानी डुव्यो । उता घर लिलाममा चढ्यो । रातदिन मिहिनेत गरेको पैसाले धेरै ऋण तिरे । केही तिर्न बाँकी छ ।
अरुलाई सुई लगाउने नर्सलाई दुख्छ होला कि नाई ? अनि मल्हम लगाउनेलाई । उनले अरुलाई पीडामा मल्हम लगाए । जसलाई मल्हम लगाए, निको भएपछि उसैले उनलाई दुखायो । त्यसैले उनको भरोसा उठ्यो आफ्ना भनिनेहरुसंग । र, सोचे, संसारमा कोही आफ्ना छैनन् । बस्, पैसा छ आफ्नो । पैसा छ त सबै आफ्ना छन् । नत्र कोही छैन । यो उनको अनुभव हो । कामको खोजीमा भौतारिदा समाजले गर्ने दुत्कार भोगे । व्यावसायीक रुपमा सफल हुदै जादा कहिल्यै फर्केर नहेर्नेहरुको बनावटी मुस्कान र तारिफ पाए ।
अलिकति अराजक । अलिकति बिद्रोही । अलिकति अशान्त । झट्ट हेर्दा यस्तै लाग्छन्, उनी । उनीभित्रको आक्रोश केही समय सामाजिक सञ्जालमा बिष्फोट भईरह्यो । जव उनलाई आफ्नैले लखेटे । ठगे । जव पाए धोका, आफ्नै भनिनेहरुबाट ।
उनले एकै जुनीमा कैयौं जुनी देखे । फिल्मको कथा जस्तै उनको जिन्दगी । जहाँ छन्, आरोह अवरोह । उतार चढाव । सुख । दुःख । मिलन बिछोड । प्रेम । घृणा । भयानक दुर्घटना । पुनर्जीवन । छोराको आसमा चार छोरी जन्मिएपछि उनकी आमाले पूर्णागिरीमा गएर छोराका लागि भाकल गरिन् । त्यसपछि उनी जन्मिए । छोरा नहुदा आफ्नै परिवारले निकै प्रताडित गरेका थिए, उनकी आमालाई ।
उनी सानै थिए । यस्तो क्षण आयो । घरमा गहूँ थियो । धान थियो । तर पिसाउने पैसा थिएन । गहूँलाई कुटेर पकाए । र, परिवारका सबै सदस्यले त्यो रात त्यही पकाएको गहूँ खाए । उनले त्यो दिन अझै बिर्सिएका छैनन् ।
महेन्द्रनगरमा उनका बुवाको ठूलो पसल थियो । उधारोले पसल डुब्यो । उधारोको खाता थियो । पैसा नउठेपछि उनकी आमाले त्यो जलाईदिईन् । त्यसपछि न पसल रह्यो । न त उधारो उठ्यो । उनीहरु महेन्द्रनगर छोडेर धनगढी बसाई सरे ।
कुनै बेला बेलायतबाट डेनमार्क बसाई सराई गर्ने क्रममा थिए । आफ्ना सपना र योजनाहरुलाई थाँती राखेर भएभरको कमाई एक जना दाईलाई सापटी दिए । तीन महिनापछि तिनै दाई सम्पर्क बिहीन भए । ५० हजार डलर जम्मा गर्न नसकेपछि कागजी प्रकृया अलपत्र भयो । त्योसंगै डेनमार्क सेटल हुने उनको सपना पनि अलपत्र भयो । भनिन्छ, जहाँ ईच्छा त्यहाँ उपाय । उनी निरुपाय थिए । हो, उनले हार्न जानेका थिएनन । थाक्ने, भाग्ने र बिचलित हुने उनको जीनमै थिएन । पोर्चुगलमा उनले शुन्यबाट जीवन शुरु गरे । र, अविचलित संघर्ष र अथक मिहिनेतले पाए सफलता । र बनाए पृथक पहिचान ।
पोर्चुगलमा उनले दुई वटा बर्ग भेटे । एउटा श्रमिक बर्ग । अर्को, समाजसेवी बर्ग । उनी श्रमिक बर्गको वकालत गर्थे । सामाजिक सञ्जालमा उनी समाजसेवी बर्गका बिरुद्ध उनी उभिए । २०१६ मा उनी गैर आवासीय नेपाली संघ पोर्चुगलको उपाध्यक्ष पदमा लडे । हारे । उनले पाँच सय पाँच मत पाएका थिए ।
२०१८ मा फेरि उपाध्यक्ष पदमै भिडे । यस पटक पनि उनले हार व्यहोरे । त्यसपछि उनी त्यो एरिनामा गएनन । बस्, कर्म गरे । गरिरहे ।
२०२१ को वेब समिटमा राष्ट्रपति मार्सेलो रेभेलो डी सौजाले भनेका थिए, ‘जसको संसारमा पाईला टेक्ने ठाउँ छैन । र छैन, जसको घर । तिमी लिस्वन आउ । यो तिमीहरुको घर हो ।’
हुन् पनि लिस्वन युरोपको मात्र नभएर संसारभरीका आप्रवासीको घर हो । संसार कब्जा गर्न हिडेको बेलायतलाई पछि छोडेको थियो कुनै बेला पोर्चुगलले । युरोपको प्राचिन पर्यटकीय शहर लिस्वन, जसलाई सहनशिलताको शहर पनि भनिन्छ, त्यही शहरमा समय र समस्याले पटक पटक उनको सहनशिलताको परीक्षा लिईरह्यो ।
तीन सय वर्ष पुरानो ट्राम अनवरत कुदिरहने लिस्वनमा, उनलाई बेलाबेला ठप्प भईरहने समय देखेर लाग्थ्यो, जिन्दगी यति नै हो । मिठो गोधुँली साँझमा प्रेमिल जोडीहरु रमाउने त्यो अलमिदा डाँडाको एउटा कुनामा उनी बेस्सरी रुन्थे । एकतमासले उनका आँखाबाट नूनिलो आँशु झरिरहन्थ्यो, वर्षाको झरी झै । कोठामा फर्किदा उनी रित्तिएका हुन्थे । ओभाएका आँखा लुकाएर पस्थे चुपचाप कोठाभित्र ।
समयले गलाउन खोज्यो । उनी गलेनन । कठिन घडीमा आत्तिएनन् । समय कमजोर भएपनि उनले आफूलाई बलियो बनाईरहे । गलेको भए उनी रहने थिएनन् । उनी पटक पटक ढले । उठे ।
जिन्दगीका उतार चढाव र आरोह अवरोहमा सतिशाल झै उनीसंगै उभिने सम्झना उनकी पत्नी मात्र होईनन् । उनको आड हुन् । भरोसा हुन् । विश्वास हुन् । जसको आडले उनी बिचलित भएनन् । टेक्नलाई जमीन थिएन । जसको अटुट साथले उनी त्यही कठिन घडीमा पनि उभिईरहे । जसले आँशु लुकाएर दिईरहिन मुस्कान । जसले हुन दिईनन कमजोर उनलाई । उनी सफलताको श्रेय पत्नी सम्झनालाई दिन्छन् ।
नेपाल, बेलायत र पोर्चुगलमा समेत गरी उनले त्यही हातको तीन पटक अप्रेशन गरिसके । दुई वटा रड र आठ वटा स्क्रुच दाँया हातभित्र अझै छन् । चिसोमा दुखाउने तिनै रड र स्क्रुचले उनलाई त्यो भयानक दुर्घटना याद दिलाईरहन्छ । अरु पीडा र दुःखाईले त उनलाई असर गर्न छोडीसक्यो ।
जीवन पहाडको श्रृंखला हो । हरेक मान्छेलाई आफूले बाँचेको जिन्दगी र भोगेको पीडा ठूलो लाग्छ । उसले अरुका दुःख र पीडालाई नजरअन्दाज गर्छ । यही नै मान्छेको दुःखको कारण हो । एउटा दुःखले गलाएको मान्छे अर्को दुःखका लागि तयार नै हुदैन । हो, एउटा पहाड उक्लिएपछि थाह हुन्छ, चढ्नु पर्ने अझै अर्को ठूलो पहाड छ । उनी त्यस्ता तमाम पहाडहरु पार गरेर अहिलेको अवस्थामा आईपुगेका हुन् ।
छोराछोरी अध्ययन र अवसरका लागि युरोप, अमेरिका र अष्टे«लियामा पुग्दा अभिभावकहरु दंग पर्छन । त्यहाँ गगनचुम्बी भवन, बिलासी गाडी, आईफोन र चमकधमक मात्र छैन । त्यहीभित्र छन्, गुमनाम डिप्रेशनका कथाहरु । पैसाका पछाडि कुद्दा गुमाएका सम्बन्धहरु । व्यवसायीकताका नाममा संवेदनाशुन्य भएका हृदयहरु ।
त्यहाँ पुग्नेलाई भाग्यमानी ठान्ने देशका मान्छेलाई के थाह कहिलेकाही त्यहाँ रेष्टुरेण्टमा भाडा चम्काउने काम पाउन पनि भाग्यमा लेखेको हुनुपर्छ ।
उनी हताश भएन । निराश भएनन । उनी कठिन घडीमा पनि बिचलित भएनन । सबैभन्दा ठूलो कुरा उनले कामलाई सानो ठूलो मानेनन । जे काम मिल्यो, त्यही गरे ।
युरोपमा छ महिना, वर्ष दिन जसले सबै दुःख कष्ट सहन सक्यो । त्यसैले सिक्छ बाँच्न । त्यसैले सक्छ बाँच्न । त्यसको उदाहरण हुन्, उनी ।
गाडीको सोख उनले पालेनन् । पदमा हुदा पाएको गाडी छोडेर मोटरसाइकल रोज्ने मुडी जो हुन्, उनी । उनीसंग नेपाली १२ लाख रुपैयासम्म मूल्य पर्ने तीन वटा साईकल छन् । र छन्, २० लाख रुपैयाभन्दा बढि मूल्यका केही थान क्यामेरा ।
हरेक मान्छेको बाँच्नुको उद्देश्य हुन्छ । मान्छेका सपना पनि हुन्छन् । र, जीवनको केही न केही लक्ष्य हुन्छ, हरकोहीको । उनी परे जिप्सी । अर्थात घुमन्ते । सुनाए, मर्नु अघि संसार घुम्न चाहन्छु ।
तपाईको प्रतिक्रिया