‘पोर्चुगलका पिज्जा किङ्ग’

बिहीबार माघ ३, २०८१/ Thursday 01-16-25
दीर्घराज उपाध्याय

पोर्चुगलको राजधानी लिस्वन । ईल मार्गरिता पिज्जारिया । समय बिहानको ४ बजे । दुई सय पिज्जा बेचिसके । थप ७० पिज्जाका लागि पिठो तयार गर्दैछन्, गणेश पाण्डेय । सबै कामदार घर गईसके । उनी भने भट्टीमै व्यस्त छन् ।

चिसो लिस्वनको तातो भट्टीमा पिज्जा पोल्न थालेको उनलाई झण्डै एक दशक भयो । दुई वर्षयता भने रातदिन नभनी आफ्नै रेष्टुरेण्टमा पिज्जा पोलिरहेका छन् । सुतेर सपना देख्नेहरुको जमातमा उनी अपवाद् छन् । उनी खुला आँखाले सपना देख्छन् । र, तिनै सपना पुरा गर्न सुत्दैनन् । जव लिस्वन मस्त निन्द्रामा हुन्छ । उनी पिज्जा भट्टीमा व्यस्त हुन्छन् ।

२०३७ साल नयाँ वर्षको पहिलो दिन । चार छोरीपछि कञ्चनपुरको सुडामा पाण्डेय परिवारमा छोराको जन्म भयो । परिवारमा छोराको जन्मले खुशी छायो । ज्योतिषले नाम दिए- गणेश । मुसाफिरको जिन्दगी । न स्थायी ठेगाना । कहाँ गए, के होला ? उनको परिवार सुडाबाट त्यही आसमा धनगढी बसाई स¥यो । वडा नम्बर २ सरस्वतीनगरस्थित शैलेश्वरी प्राथमिक विद्यालय छेउको कटेरो पाण्डेय परिवारको नयाँ डेरा थियो ।

गणेशले त्यही कखरा शुरु गरे । चार वर्षको उमेरमा जेसिज एभरेष्ट ईंगलिस स्कुलमा युकेजीमा भर्ना भए । उनी पढाईमा अब्बल थिए । कक्षामा टप हुन्थे । शुल्क तिर्नु परेन । छात्रवृतिमा पढे । शिक्षक उनलाई आफूभन्दा माथिल्लो तहको कक्षामा पढाउन पठाउँथे । हरेक विद्यार्थीको सपना डाक्टर र ईञ्जिनियर बन्ने हुन्छ । उनी अपवाद थिए । कहिल्यै त्यो ईच्छा पालेनन् । उनको लगाव चित्रकलामा थियो । बन्न चाहन्थे, शिक्षक ।

विद्यालयमा सबै विद्यार्थीका अगाडि उनलाई उभ्याएर प्रिन्सिपल केडी भट्ट भन्थे, यो केटाको आँखामा चमक छ । यसले लाईफमा केही गर्छ ।
हो, जीवन अध्याँरोमा हुदा पनि उनको आँखाको त्यो चमक रहीरह्यो ।

एभरेष्टबाट २०५३ सालमा एसएलसीको पढाई पुरा गरे । त्यसपछि प्रमाण पत्र तहमा भर्ना भए, कैलाली बहुमुखी क्याम्पसमा । विषय रोजे, अंग्रेजी । अर्को विषय थियो, राजनीति शास्त्र ।

उपनाम राख्ने त्यो जमानामा उनले आफैलाई नाम दिए, ‘जिप्सी’ । जसको अर्थ हुन्छ, घुमन्ते जाती । कलेजमा सहपाठी थिए, बंशिराम चौधरी ‘स्माईल’ । पृथक पहिचान बनाउने धुनमा सन् २००१ मा स्माईलसंगै निस्किए उनी, साईकलमा मेची–महाकाली यात्रामा । घरबाट निस्केको तीन दिनपछि संकटकाल लाग्यो । उनको यात्रा रोकिएन । उनी दुस्साहसी थिए । आँटेको काम पुरा गर्थे । संकटकालको त्यो समयमा साईकलमा यति लामो यात्रा गर्नु दुस्साहस थियो ।

उनी उमेरभन्दा पहिले परिपक्व र जिम्मेवार बने । परिपक्व उमेरले हुदैन, परिस्थितिले बनाउछ । उनी त्यसको उदाहरण थिए । निस्फिक्री पढ्ने उमेरमा बुवाआमाको सहयोगी बने । आफ्नो पढाईको खर्च आफै जुटाए ।

क्याम्पस जान थालेपछि करारमा खाद्य संस्थानमा अस्थायी जागीर पाए । मासिक पारिश्रमिक थियो, एक हजार छ सय रुपैया । काम थियो, धान चामलको ईन्ट्री गर्ने । कहाँ शिक्षक बन्ने सपना ? कहाँ धान चामलको ईन्ट्री गर्नुपर्ने दिनचर्या ?

आफू पढेको जेसिज एभरेष्ट स्कुलमा शिक्षकको जागीर आवदेन खुलेको थाह पाए । निवेदन दिए । अंग्रेजी, गणित, विज्ञान र नेपाली विषयको परीक्षा दिए । त्यसपछि अन्तर्वार्तामा सहभागी भए । कक्षामा गएर पढाए । यी सबै प्रकृयामा छ सय प्रतिस्पर्धीलाई उछिनेर छनौट भए उनी । शुरुवाती तलव थियो, एक हजार छ सय रुपैया । केही समयपछि दुई हजार एक सय पुग्यो । दुई वर्षपछि दोब्बर अर्थात चार हजार दुई सय रुपैया पुग्यो ।

सात वर्ष जेसिज एभरेष्ट ईंगलिस स्कुलमा पढाए । त्यसपछि सरस्वती मावि गेटामा करारमा पढाउन थाले । एक वर्षजति पढाए । साथी मुकुन्द भट्टसंगै उनी मोटरसाईकल दुर्घटनामा परे । उनी होशमा आउँदा अस्पतालको शैयामा थिए । मुलुकमा संकटकाल लागेको थियो । प्रहरीले उनलाई उद्दार गरी अस्पताल पु¥याएको थियो । उनले होश आएपछि सोधेको पहिलो प्रश्न थियो, मेरा हात खुट्टा छन् कि छैनन् ? स्वास्थ्यकर्मीले हात खुट्टा भएको बताए । उनले विश्वास गरेनन । फोटो खिचेर देखाउन भने । स्वास्थ्यकर्मीले फोटो खिचेर देखाए । अनि विश्वास गरे । उनको दाया हात र दुईटै खुट्टा भाँचिएका थिए ।

केही महिनापछि उनी हिड्डुल गर्न सक्ने भए । धनगढीबाट गेटा पढाउन जान उनलाई कठिनाई भईरहेको थियो । त्यहीबेला उनलाई राजेन्द्र निर्माण सेवाका प्रबन्धक निर्देशक भीम बहादुर साँउदले म्यानेजरको पद अफर गरे । र उनी निर्माण कम्पनीमा जागीरे भए ।

डेढ वर्ष त्यहाँ काम गरेपछि उनी धनगढी छोडेर काठमाण्डौं पुगे । केही समय ज्ञानोदय स्कुलमा पढाए । त्यसपछि भीएस निकेतनमा । मेरो मोवाईल कम्पनी भर्खर खुलेको थियो । जसका चार वटा डिलर थिए । एउटा डिलर थियो, नेपाल स्याटेलाईट कम्पनी । त्यसका मालिक थिए टेक बहादुर गुरुङ । गुरुङको त्यही कम्पनीमा उनी चिफ मार्केटिङ अफिसर (सिएमओ) भए । उनको मातहतमा ४० जनाभन्दा बढि डाटा ईन्ट्री अफिसर थिए । गुरुङले उनलाई चढ्न कार दिएका थिए । काठमाण्डौंको जाममा उनलाई कारभन्दा मोटरसाईकल उपर्युक्त लाग्यो । उनले मोटरसाईकल रोजे । त्यहाँ उनले २००५ देखि २००९ सम्म म्यानेजर भएर काम गरे ।

अध्ययनका लागि बेलायत जाने निधो गरेका उनको २००९ मा भीसा आयो । उनीसंग पाँच दिनको समय थियो । उता कलेजमा पढाई शुरु भईसकेको थियो । यता जिम्मेवारी र कागजपत्र बरबुझारथको काम बाँकी थियो । काम नसकिदा पहिलो फ्लाईट छुटयो । दोस्रो टिकट लिए । र, बेलायत उडे ।

बेलायत गएको केही दिनमा म्याकडोनाल्डमा ‘क्रु’ मेम्बरको काम पाए । प्रति घण्टाको पाँच युरो ७० सेन्ट पारिश्रमिक मिल्थ्यो । तीन महिनामै मेनेजर भए । पढाई पुरा गरेपछि उनको वार्षिक आम्दानी ४५ हजार पुग्यो । उनी बेलायत एक्लै गएका थिए । काम गर्ने क्रममा चिप्लिएर लडे । गम्भीर घाईते भएका उनलाई अस्पतालले पत्र बनाई दियो । त्यही पत्रका आधारमा एक वर्षपछि उनकी पत्नी बेलायत आउन पाईन् ।

काम र पढाई जारी राखे । २०११ मा एमएस्सी सिध्याए । एक वर्षपछि एमबीए पुरा गरे । दिक्षान्त समारोहमा आमाबुवालाई बोलाए । उहाँहरुलाई घरमा राखेर आफू साईकलमा बेलायतको चक्कर लगाउन निस्किए । घरबाट निस्किएको एक महिना बितेपछि उनकी पत्नी सम्झनाको फोन आयो । तीन महिनाकी गर्भवती उनी अस्पतालमा भर्ना थिईन् । आधा बाटोबाटै गणेश घर फर्किए । त्यसको केही महिनापछि उनको जेठो छोराको जन्म भयो ।

२०१३ मा उनले पिज्जाको ग्लोबल ब्राण्ड " डोमिनोज पिज्जा " ज्वाईन गरे । उनी म्यानेजर थिए । तलव आकर्षक थियो । दुई वर्ष त्यहाँ काम गरे । र, २०१५ मा सपरिवार नेपाल फर्के ।

नेपाल फर्किएपछि उनले लायन्स क्लवको कन्ट्री सिईओमा अप्लाई गरे । अन्तर्वार्ता दिए । अन्तर्वार्ता लिने व्यक्ति थिए, बरिष्ठ उद्योगपति राजेन्द्र खेतान । खेतान उनीबाट प्रभावित भए । र, छनौट भए । उनको मासिक पारिश्रमिक थियो, अढाई लाख   रुपैया ।

त्यही बेला छोरालाई अटिजम भएको थाह पाए । उनले नियुक्ति लिएको जागीर छोडिदिए । खेतानले जागीर छोड्ने निर्णयमा उनलाई पुनर्विचार गर्न भने । उनी निर्णयमा अडिग रहे । उनले केही समय केही सोच्नै सकेनन् । कहाँ गए छोराको उपचार होला ? कहाँ गए छोरा निको होला ? त्यही सोचेर उनले छ महिनापछि बेलायत फर्किने निधो गरे ।

बेलायत जान नेपालबाट उडे । बेल्जियम ट्रान्जिट थियो । उनीसंग बेलायतको रेसिडेन्स भीसा थियो । देश छोडेको तीन महिनामा नफर्किए त्यो भिसा ईनभ्यालिड हुन्थ्यो । उनी बेल्जियमबाट बेलायत लागेनन । त्यहाँबाट नयाँ टिकट लिएर पुगे, पोर्चुगल । गन्तव्य एउटा, पुगे अर्कै देश ।

बेलायतमा उनको एक लाख युरो थियो । त्यही पैसा मगाए । र, दुई महिनापछि साझेदारीमा क्याफे शुरु गरे । केही महिनामै क्याफे बन्द भयो । त्यसपछि एक वर्ष काम गरेनन् । छोराको उपचारमा जुटे । उनको रातदिन अस्पतालमा बित्थ्यो ।

एक वर्षपछि एउटा पिज्जा रेष्टुरेण्टमा काम शुरु गरे । त्यसपछि अर्को पिज्जा सेन्टरमा । दुईटै पिज्जा रेष्टुरेण्टमा १६/१६ महिना काम गरे । त्यहीबीचमा कोरोनाको कहर शुरु भयो । लिस्वनमा रेष्टुरेण्टहरु बन्द भए । उनी बेरोजगार । सरकारले नौ सय युरो भत्ता दिन्थ्यो । आमाबुवा पनि साथमै पोर्चुगलमै थिए, पारिवारिक खर्च बढ्यो, ९०० युरो भत्ताले घरखर्च धानेन। उनी कोरोनाको सरकारी भत्ता बन्द गरेर फेरि कामको खोजीमा जुटे।

मुस्किलले लिस्वनबाट ६० किमी टाढा समून्द्री तटमा एउटा रेष्टुरेण्टमा काम पाए । एक हजार पाँच सय युरो पारिश्रमिक थियो । यात्रा लामो र कठिन थियो । उनी कोठाबाट बिहान ९ बजे निस्किन्थे । मेट्रो, टे«न र बसको डेढ घण्टा लामो यात्रा तय गर्थे । र, पुग्थे रेष्टुरेण्ट । कतिदिन त ८० युरो तिरेर ट्याक्सीमा पुगे । परिस्थिति जति प्रतिकूल भएपनि एक दिन पनि काम छोडेनन् । लकडाउन थियो । लिस्वन कोभिडको ईपीसेन्टर । कसैलाई काम बिना हिड्न अनुमती थिएन् । रेष्टुरेण्ट मालिकले कामदारलाई डिक्लेरेसन लेटर दिन्थ्यो । जसमा कामदारको डिटेल हुन्थ्यो । त्यही लेटरका आधारमा  उनी आवात जावत गर्न पाउथे ।

लिस्वनका अस्पतालका बाहिर कोभिड संक्रमितहरु बोकेका एम्बुलेन्सहरुको लाईन हुन्थ्यो । शैया अभावमा संक्रमितहरु एम्बुलेन्सभित्रै ३६ घण्टा बढि समय बिताउन बाध्य थिए । कतिको एम्बुलेन्सभित्रै मृत्यु हुन्थ्यो । त्यो समय लिस्वनमा दैनिक सयभन्दा बढि मान्छेको मृत्यु हुन्थ्यो । पोर्चुगल सरकारको नियन्त्रण बाहिर पुगेको संक्रमणको भयावह अवस्था रोक्न जर्मन सरकारले लिस्वनमा स्वास्थ्य टीम र हेलिकप्टर पठाएको थियो । स्थिति अत्यन्त भयावह थियो ।

गणेश भने त्यही अवस्थामा लिस्वनबाट काममा निस्किन्थे । टे«नमा यात्रा गर्ने उनी एक्लो हुन्थे । डेढ घण्टा लामो टे«नको यात्रामा उनी भने संक्रमितहरुको मृत्युको समाचार बनाउथे । मेटलबाट संक्रमण सर्ने भयले रेलका सबै गेटहरु खुला हुन्थे । यसरी उनले एक वर्ष काम गरे ।

२०२१ को सेप्टेम्बरमा लिस्वनमा उनले साझेदारीमा ईल नाङ्लो पिज्जा खोले । व्यवसाय सफल भयो । पाटर्नरसीप असफल । उनी साझेदारलाई व्यवसाय सुम्पेर बाहिरिए ।

त्यसपछिका दुई महिना खाली बसे । २०२२ को डिसेम्बरमा लिस्वनमा ‘ईल मार्गरिता पिज्जारिया’ खोले । लगानी थियो, ५५ हजार युरो । पिज्जा सेन्टर त खोले । न अनलाईनमा अर्डर आउथ्यो । न त ग्राहक आउथे । पर्खाईमा दिन बित्थ्यो, ग्राहक आउथेनन । ग्राहक नआउदा उनी एक हप्ता पर्दा लगाएर बसे । तीन दिनमा एउटा पिज्जाको अर्डर आयो । त्यसपछि दुई वटा टेबुल र चार वटा कुर्ची राखे । र, पर्दा खोले ।

एक हप्तापछि रेष्टुरेण्टमा एउटा विद्यार्थी पस्यो । भोलिपल्ट उसले चार जना साथी ल्यायो । पर्सी पल्ट उसले थप चार वटा साथी ल्यायो । उनको हौसला बुलन्द हुदै गयो । टेबल थपे । दुईबाट आठ पु¥याए । पहिले सस्तो कुर्सी र टेबल राखेका थिए । व्यापार हुन थालेपछि महंगा कुर्सी र टेबल राख्न थाले । यसरी एक वर्षमा तीन पटक कुर्सी र टेबल बदले । चल्छ कि चल्दैन भन्ने द्विविधामा रहेका गणेशले एक वर्षमै ६८ हजार पिज्जा बेचे ।

लिस्वनमा उनको पिज्जाको स्वादको चर्चा यसरी फैलियो कि, दिउसो १२ बजे उनी अर्डर लिन थाल्थे । दोस्रो दिन बिहान ६ बजेसम्म त्यो क्रम जारी रहन थाल्यो । उनी १८ घण्टा पिज्जाको भट्टीमा व्यस्त हुन थाले । क्रिसमस ईभ र क्रिसमस, न्यू एयर ईभ र न्यू एयरका चार दिनमा उनले लगानीको एक चौथाई रकम उठाए । उनको हातमा जादू छ । एक पटक उनको रेष्टुरेण्टमा पिज्जाको स्वाद लिएको ग्राहक अर्को पटक आफू मात्र आउँदैन, साथमा साथीहरु पनि लिएर आउछ । एकैदिन  ४८०  पिज्जा बिक्री गरेको उनको अनुभव  छ ।

पिज्जा रेष्टुरेण्ट सञ्चालनका लागि नेपालमा बैंकबाट ऋण लिन एक लाख रुपैया खर्च गरेका थिए । ऋण सदर पनि भयो । तर ऋण पाएनन् । नेपालमा ऋण नपाउदा उनले सयकडा १० प्रतिशत व्याजमा व्यक्तिसंग २० हजार युरो ऋण लिएका थिए । छ महिनामा साँवाव्याँज सहित ३२ हजार युरो तिरे । र, ऋणमुक्त भए ।

अन्तर्राष्ट्रिय संस्था रेष्टुरेण्ट गुरुले हरेक वर्ष संसारभरीमा फुड क्वालिटी, सर्भिस, ग्राहकले दिने रेटिङ, बिजनसको गति सबैको रेष्टुरेण्टहरुको मूल्यांकन गर्छ । त्यही आधारमा अवार्ड प्रदान गर्छ । स्थापनाकै वर्ष उनको रेष्टुरेण्टले बेष्ट पिज्जा डेलिभरी कम्पनी, बेष्ट पिज्जा कम्पनी र बेष्ट पिज्जा कम्पनीका सिफारिस सहित तीन वटा अवार्ड पायो । एक्लैले शुरु गरेको रेष्टुरेण्टमा वर्षदिनमै सात जनालाई रोजगारी दिए ।

उनी यो वर्ष लिस्वनमा दुई वटा थप आउटलेट थप्ने तयारीमा छन् । एउटा खोलीसकेका छन् । जसलाई चाँडै सञ्चालनमा ल्याउने उनको योजना छ ।

संसार उनी नभए पनि चल्छ । तर भट्टीमा काम गर्नेले सोचे, म नभए पिज्जा सेन्टर चल्दैन । उनले भनिदिए, ‘गुड बाई’ । उनी जति कठोर छन् । त्यत्तिकै कोमल पनि । भट्टीमा काम गर्नेहरुलाई पोल्दा उनलाई पीडा हुन्छ । तर जव आफूसंग काम गर्नेहरुमा भ्रम पलाउछ, तव उनी उसलाई त्यो भ्रमबाट मुक्त गरिदिन्छन् ।

आगोसंग खेल्ने सोख होईन । तर बाध्यताले आगोसंग जोडिए उनी । साथी भईदिएपछि आगो किन पोल्थ्यो ? हो, उनलाई आगोले पोल्न छोडिसक्यो ।

उनी कहिलेकाही आगोजस्तै कठोर देखिन्छन् शब्दहरुमा । ओकेल्छन्, तातो राप ।

मान्छे एउटै हण्डरले गल्छ । उनले जीवनमा दर्जनौं हण्डर खाए । धनगढीमा घर बनाए । भाईको बिहा गरे । बैंकबाट ऋण लिए । भाईका लागि पसल खोले । त्यही पसल धनगढीमा सडक विस्तारका क्रममा भत्कियो । ५० लाखभन्दा बढि लगानी डुव्यो । उता घर लिलाममा चढ्यो । रातदिन मिहिनेत गरेको पैसाले धेरै ऋण तिरे । केही तिर्न बाँकी छ ।

अरुलाई सुई लगाउने नर्सलाई दुख्छ होला कि नाई ? अनि मल्हम लगाउनेलाई । उनले अरुलाई पीडामा मल्हम लगाए । जसलाई मल्हम लगाए, निको भएपछि उसैले उनलाई दुखायो । त्यसैले उनको भरोसा उठ्यो आफ्ना भनिनेहरुसंग । र, सोचे, संसारमा कोही आफ्ना छैनन् । बस्, पैसा छ आफ्नो । पैसा छ त सबै आफ्ना छन् । नत्र कोही छैन । यो उनको अनुभव हो । कामको खोजीमा भौतारिदा समाजले गर्ने दुत्कार भोगे । व्यावसायीक रुपमा सफल हुदै जादा कहिल्यै फर्केर नहेर्नेहरुको बनावटी मुस्कान र तारिफ पाए ।

अलिकति अराजक । अलिकति बिद्रोही । अलिकति अशान्त । झट्ट हेर्दा यस्तै लाग्छन्, उनी । उनीभित्रको आक्रोश केही समय सामाजिक सञ्जालमा बिष्फोट भईरह्यो । जव उनलाई आफ्नैले लखेटे । ठगे । जव पाए धोका, आफ्नै भनिनेहरुबाट ।

उनले एकै जुनीमा कैयौं जुनी देखे । फिल्मको कथा जस्तै उनको जिन्दगी । जहाँ छन्, आरोह अवरोह । उतार चढाव । सुख । दुःख । मिलन बिछोड । प्रेम । घृणा । भयानक दुर्घटना । पुनर्जीवन । छोराको आसमा चार छोरी जन्मिएपछि उनकी आमाले पूर्णागिरीमा गएर छोराका लागि भाकल गरिन् । त्यसपछि उनी जन्मिए । छोरा नहुदा आफ्नै परिवारले निकै प्रताडित गरेका थिए, उनकी आमालाई ।

उनी सानै थिए । यस्तो क्षण आयो । घरमा गहूँ  थियो । धान थियो । तर पिसाउने पैसा थिएन । गहूँलाई कुटेर पकाए । र, परिवारका सबै सदस्यले त्यो रात त्यही पकाएको गहूँ खाए । उनले त्यो दिन अझै बिर्सिएका छैनन् ।

महेन्द्रनगरमा उनका बुवाको ठूलो पसल थियो । उधारोले पसल डुब्यो । उधारोको खाता थियो । पैसा नउठेपछि उनकी आमाले त्यो जलाईदिईन् । त्यसपछि न पसल रह्यो । न त उधारो उठ्यो । उनीहरु महेन्द्रनगर छोडेर धनगढी बसाई सरे ।

कुनै बेला बेलायतबाट डेनमार्क बसाई सराई गर्ने क्रममा थिए । आफ्ना सपना र योजनाहरुलाई थाँती राखेर भएभरको कमाई एक जना दाईलाई सापटी दिए । तीन महिनापछि तिनै दाई सम्पर्क बिहीन भए । ५० हजार डलर जम्मा गर्न नसकेपछि कागजी प्रकृया अलपत्र भयो । त्योसंगै डेनमार्क सेटल हुने उनको सपना पनि अलपत्र भयो । भनिन्छ, जहाँ ईच्छा त्यहाँ उपाय । उनी निरुपाय थिए । हो, उनले हार्न जानेका थिएनन । थाक्ने, भाग्ने र बिचलित हुने उनको जीनमै थिएन । पोर्चुगलमा उनले शुन्यबाट जीवन शुरु गरे । र, अविचलित संघर्ष र अथक मिहिनेतले पाए सफलता । र बनाए पृथक पहिचान ।

पोर्चुगलमा उनले दुई वटा बर्ग भेटे । एउटा श्रमिक बर्ग । अर्को, समाजसेवी बर्ग । उनी श्रमिक बर्गको वकालत गर्थे । सामाजिक सञ्जालमा उनी समाजसेवी बर्गका बिरुद्ध उनी उभिए । २०१६ मा उनी गैर आवासीय नेपाली संघ पोर्चुगलको उपाध्यक्ष पदमा लडे । हारे । उनले पाँच सय पाँच मत पाएका थिए ।

२०१८ मा फेरि उपाध्यक्ष पदमै भिडे । यस पटक पनि उनले हार व्यहोरे । त्यसपछि उनी त्यो एरिनामा गएनन । बस्, कर्म गरे । गरिरहे ।

२०२१ को वेब समिटमा राष्ट्रपति मार्सेलो रेभेलो डी सौजाले भनेका थिए, ‘जसको संसारमा पाईला टेक्ने ठाउँ छैन । र छैन, जसको घर । तिमी लिस्वन आउ । यो तिमीहरुको घर हो ।’

हुन् पनि लिस्वन युरोपको मात्र नभएर संसारभरीका आप्रवासीको घर हो । संसार कब्जा गर्न हिडेको बेलायतलाई पछि छोडेको थियो कुनै बेला पोर्चुगलले । युरोपको प्राचिन पर्यटकीय शहर लिस्वन, जसलाई सहनशिलताको शहर पनि भनिन्छ, त्यही शहरमा समय र समस्याले पटक पटक उनको सहनशिलताको परीक्षा लिईरह्यो ।

तीन सय वर्ष पुरानो ट्राम अनवरत कुदिरहने लिस्वनमा, उनलाई बेलाबेला ठप्प भईरहने समय देखेर लाग्थ्यो, जिन्दगी यति नै हो । मिठो गोधुँली साँझमा प्रेमिल जोडीहरु रमाउने त्यो अलमिदा डाँडाको एउटा कुनामा बसेर उनी बेस्सरी रुन्थे । एकतमासले उनका आँखाबाट नूनिलो आँशु झरिरहन्थ्यो, वर्षाको झरी झै । कोठामा फर्किदा उनी रित्तिएका हुन्थे । ओभाएका आँखा लुकाएर पस्थे चुपचाप ।

समयले गलाउन खोज्यो । उनी गलेनन । कठिन घडीमा आत्तिएनन् । समय कमजोर भएपनि उनले आफूलाई बलियो बनाईरहे । गलेको भए उनी रहने थिएनन् । उनी पटक पटक ढले । उठे ।

जिन्दगीका उतार चढाव र आरोह अवरोहमा सतिशाल झै उनीसंगै उभिने सम्झना उनकी पत्नी मात्र होईनन् । उनको आड हुन् । भरोसा हुन् । विश्वास हुन् । जसको आडले उनी बिचलित भएनन् । टेक्नलाई जमीन थिएन । जसको अटुट साथले उनी त्यही कठिन घडीमा पनि उभिईरहे । जसले आँशु लुकाएर दिईरहिन मुस्कान । जसले हुन दिईनन कमजोर उनलाई । उनी सफलताको श्रेय पत्नी सम्झनालाई दिन्छन् ।

नेपाल, बेलायत र पोर्चुगलमा समेत गरी उनले त्यही हातको तीन पटक अप्रेशन गरिसके । दुई वटा रड र आठ वटा स्क्रुच दाँया हातभित्र अझै छन् । चिसोमा दुखाउने तिनै रड र स्क्रुचले उनलाई त्यो भयानक दुर्घटना याद दिलाईरहन्छ । अरु पीडा र दुःखाईले त उनलाई असर गर्न छोडीसक्यो ।

जीवन पहाडको श्रृंखला हो । हरेक मान्छेलाई आफूले बाँचेको जिन्दगी र भोगेको पीडा ठूलो लाग्छ । उसले अरुका दुःख र पीडालाई नजरअन्दाज गर्छ । यही नै मान्छेको दुःखको कारण हो । एउटा दुःखले गलाएको मान्छे अर्को दुःखका लागि तयार नै हुदैन । हो, एउटा पहाड उक्लिएपछि थाह हुन्छ, चढ्नु पर्ने अझै अर्को ठूलो पहाड छ । उनी त्यस्ता तमाम पहाडहरु पार गरेर अहिलेको अवस्थामा आईपुगेका हुन् ।

छोराछोरी अध्ययन र अवसरका लागि युरोप, अमेरिका र अष्टे«लियामा पुग्दा अभिभावकहरु दंग पर्छन । त्यहाँ गगनचुम्बी भवन, बिलासी गाडी, आईफोन र चमकधमक मात्र छैन । त्यहीभित्र छन्, गुमनाम डिप्रेशनका कथाहरु । पैसाका पछाडि कुद्दा गुमाएका सम्बन्धहरु । व्यवसायीकताका नाममा संवेदनाशुन्य भएका हृदयहरु ।

त्यहाँ पुग्नेलाई भाग्यमानी ठान्ने देशका मान्छेलाई के थाह कहिलेकाही त्यहाँ रेष्टुरेण्टमा भाडा चम्काउने काम पाउन पनि भाग्यमा लेखेको हुनुपर्छ ।

उनी हताश भएन । निराश भएनन । उनी कठिन घडीमा पनि बिचलित भएनन । सबैभन्दा ठूलो कुरा उनले कामलाई सानो ठूलो मानेनन । जे काम मिल्यो, त्यही गरे ।

युरोपमा छ महिना, वर्ष दिन जसले सबै दुःख कष्ट सहन सक्यो । त्यसैले सिक्छ बाँच्न । त्यसैले सक्छ बाँच्न । त्यसको उदाहरण हुन्, उनी ।

गाडीको सोख उनले पालेनन् । पदमा हुदा पाएको गाडी छोडेर मोटरसाइकल रोज्ने मुडी जो हुन्, उनी । उनीसंग नेपाली १२ लाख रुपैयासम्म मूल्य पर्ने तीन वटा साईकल छन् । र छन्, २० लाख रुपैयाभन्दा बढि मूल्यका केही थान क्यामेरा ।

हरेक मान्छेको बाँच्नुको उद्देश्य हुन्छ । मान्छेका सपना पनि हुन्छन् । र, जीवनको केही न केही लक्ष्य हुन्छ, हरकोहीको । उनी परे जिप्सी । अर्थात घुमन्ते । सुनाए, मर्नु अघि संसार घुम्न चाहन्छु ।