अमेरिकाले आफ्नो निर्णय पुनर्विचार गर्नुपर्छ: विश्व स्वास्थ्य संगठन
एजेन्सी। अमेरिकाले विश्व स्वास्थ्य संगठनबाट बाहिरिने आशयसहित गरेको घोषणाप्रति सो संगठन दुःख व्यक्त गरेको छ । विश्व स्वास्थ्य संगठनले बुधबार एक विज्ञप्ति जारी गर्दै अमेरिकी घोषणाप्रति दुःख व्यक्त गरेको हो ।
संगठनले भनेको छ, ‘संयुक्त राज्य अमेरिका आफ्नो निर्णयबारे पुनर्विचार गर्नेमा हामी आशावादी छौँ र विश्वभरका करोडौँ मानिसहरूको सुस्वास्थ्य र आरोग्यताका लागि संयुक्त राज्य अमेरिका र विश्व स्वास्थ्य संगठन बीचको साझेदारीलाई कायम राख्न सकारात्मक संवाद हुने अपेक्षा गरेका छौं ।’
अमेरिकी नागरिक सहित विश्वभरका मानिसहरूको स्वास्थ्य र सुरक्षा प्रत्याभूत गर्न विश्व स्वास्थ्य संगठनकोे महत्वपूर्ण भूमिका रहेको विज्ञप्तिमा उल्लेख छ ।
सन् १९४८ मा विश्व स्वास्थ्य संगठनको संस्थापक सदस्य बनेको अमेरिकाले त्यसयता १९३ अन्य सदस्य राष्ट्रहरूससँग सहकार्य गर्दै संगठनको कामको तर्जुमा र सञ्चालनमा योगदान दिँदै आएको छ । तर, अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै उनले विश्व स्वास्थ्य संगठनबाट बाहिरिने आशयसहितको घोषणा गरेका हुन् ।
तपाईको प्रतिक्रिया