पर्दा पछाडिका नायक

पर्दा पछाडिका नायक
भनिन्छ्, सन्तान र भोलिका लागि सम्पत्ती सञ्चित गर्ने प्रवृतिले मान्छेलाई स्वार्थी बनायो । र, अरुभन्दा बढि सम्पत्ती जोड्ने लालसाले भ्रष्टाचारी ।
यी सबै अवगुणबाट बाहिर निस्किन सक्ने व्यक्ति मान्छे बन्छ । यो क्षमता बिरलै मान्छेमा हुन्छ । जो अपवाद् भित्र पर्छन । निसंकोच भन्न सकिन्छ, तिनै अपवाद भित्र पर्ने व्यक्ति हुन्, भीम बहादुर विके ।
जसले आफूलाई केन्द्रमा राखेर सोचेनन् । केन्द्रमा राखे, आफ्नो वर्ग, समुदाय र समग्र समाज । र, अहोरात्र खटे, तिनैको लागि । अझ उनी जातीभन्दा माथि उठे । र, सबैका लागि काम गरे ।
२०३२ साल भदौ ५ गते । गोदावरी नगरपालिका–२ अत्तरीया । कृपाल बहादुर बिक र देवादेवी बिकको घरमा दोस्रो सन्तानका रुपमा छोरा जन्मियो । परिवारले नाम दियो, भीम । उनी अघि दाई थिए । र, पछाडि जन्मिए पाँच बहिनी ।
उनका बुवामा पढ्नुपर्छ भन्ने चेत थियो । डोटीमा ४ कक्षासम्म पढे । तराई झरेपछि एसएलसी गरे । त्यसपछि अञ्चलाधीश कार्यालयमा जागीरे भए । नागरिकता फाँटमा काम गरे । सरकारको मातहतमा सेती प्रेस थियो । उनी प्रेसको प्रमुख भए ।
मालाखेतीमा मण्डी थियो । उनका बुवा सुपरीवेक्षकका रुपमा त्यहाँ खटिन्थे । अबैध रुपमा हुने रक्सीको व्यापार नियन्त्रण गर्न अञ्चलाधीश कार्यालयले सुपरीबेक्षक खटाउथे । २०४२ सालमा उनी अञ्चलाधीश कार्यालयको जागीर छोडे । र, वन मन्त्रालय अन्तर्गत रहेको अत्तरीयास्थित नेपाल रोजिन टर्पेन्टाईन(नेरोट) मा काम थाले । नेरोट बन्दभएपछि २०५८ मा उनले जागीर छोडे ।
डोटीबाट बसाई सरेर धनगढीको घुईयाघाटमा बस्थे । अत्तरीयामा बस्ती बसाउन जंगल फडानी शुरु भएपछि उनी सपरीवार अत्तरीया सरे । त्यतिबेला अत्तरीयामा स्कुल थिएन । दुर्गा लक्ष्मी माविका चार जना संस्थापक थिए । त्यसमध्ये एक उनका बुवा थिए । देउमनी ओझा, चन्द्रभान कडायत सहित अन्य तीन जना थिए । पहिलो शिक्षक मोतीराम बोहरा थिए । पछि कमलापती जोशी हेडमास्टर भए ।
उनी दुर्गा लक्ष्मीमा पाँच कक्षासम्म पढे । छ कक्षामा सरस्वतीमावि गेटामा भर्ना भए । त्यहीबाट २०४८ सालमा एसएलसी पास गरे ।
साईन्स पढ्न महेन्द्रनगर पुगे । सिद्धनाथ विज्ञान क्याम्पसमा आईएस्सीमा भर्ना भए । दोस्रो वर्षको नतिजा आउन ढिलो भए । उनी पढ्न लखनउ गए । यता नतिजा आयो । पास भए । उताबाट पनि आईएस्सी गरे ।
१९९९ मा दुर्गालक्ष्मी मावि संकटमा थियो । एसएलसीको नतिजा निल आए विद्यालय आठ कक्षामा सिमित हुदै थियो । कमलापति जोशी हेड सर थिए । हेडसर र अध्यक्ष पद्म कठायतले उनलाई एसएलसीको व्याचलाई पढाई दिन आग्रह गरे । १० कक्षामा तीन सेक्सन थिए । विद्यार्थी संख्या एक सय २० भन्दा बढि थियो । उनले पहिलो व्याचलाई गणित, बिज्ञान र स्वास्थ्य पढाए । एसएलसीको नतिजा राम्रो आयो । र, विद्यालय घटुवा हुनबाट जोगियो । उनी त्यसपछि काठमाण्डौं फर्किए ।
त्यसपछि डाक्टर बन्ने हुटहुटीले काठमाण्डौं पुगे । नेममा तयारी कक्षा लिए । २०५३ सालमा धरानमा मेडिसिनका लागि परीक्षा दिए । पास भए । डाक्टर पढ्न पाईने खुशी । उनका खुट्टा भुईमा थिएनन ।
टीकामा घर आए । टीका लगाएर फर्किदै थिए । उनी चढेको गाडी राति १ बजे नवलपरासीको गैडाकोटमा भयंकर दुर्घटनामा प¥यो । गाडीमा ६० जना यात्रु थिए । अधिकांश यात्रु छतमा थिए । घट्नास्थलमै १६ जनाको मृत्यु भयो । मृत्यु हुनेमा छतमा रहेका अधिकांश नेपाली सेनाका जवानहरु थिए । उनी गम्भीर घाईते भए । दोस्रो दिन होस खुल्दा उनी भरतपुर मेडिकल कलेजको शैयामा थिए । अन्य घाईतेलाई हेलिकप्टरमा उद्दार गरी काठमाण्डौं लगियो । अत्याधिक चोट र रक्तस्रावका कारण उनलाई भरतपुरमै राखिएछ । सहपाठी कुवेर घिमिरे भरतपुर मेडिकल कलेजमा पढ्थे । घिमिरेले उनको उपचारमा सहयोग गरे ।
बायाँ खुट्टामा ठूलो प्वाल थियो । घाटीमा चोट थियो । चोट नलागेको शरीरको कुनै भाग थिएन । तीन हप्तापछि उनलाई थप उपचारका लागि काठमाण्डौं लगियो । त्यसपछिका सात महिना अस्पतालकै शैयामा बिताए । उनका चिकित्सक थिए, उपेन्द्र देवकोटा । एमबीबीएसको पढाई छुटेकोमा उनी चिन्तित थिए । उनमा डाक्टर बन्ने हुटहुटी उस्तै थियो । देवकोटाले उनका बुवालाई भनेछन्, यस्तो अवस्थामा एमबीबीएस पढाउने सोच्दै नसोच्नु । पहिले निको हुन नदिनु । त्यसपछि पढाई ।
उनका बुवालाई देवकोटाको कुरा ठिक लाग्यो । सोचे, छोरा बाँचे भोलि पढिहाल्छ । त्यसपछि उनका बुवाले छोरा डाक्टर भएको हेर्ने सपना त्यागे । तर उनी समस्या र चुनौतीसंग सहजै हार स्वीकार गर्ने पक्षमा थिएनन । उनले निको भएपछि चीनमा एमवीवीएसको छात्रवृतिमा नाम निकाले । तर त्यहाँ जान पाएनन । त्यसपछि अमेरिकाको ब्रिजपोर्ट युनिभर्सिटीमा मेडिसिन पढ्न नाम निकाले । उनी अमेरिका जाने तयारीमा जुटे । स्वास्थ्य परीक्षण अनिवार्य थियो । उनी परीक्षणका क्रममा बेहोस भए । र, अमेरिका जाने सपनासंगै उनको डाक्टर बन्ने सपनाको अन्त्य भयो ।
डाक्टर बन्ने अवसर गुमाए । र, त्रिचन्द्र माईक्रोबायोलिजी पढ्न थाले । उता काठमाण्डौं शिक्षा क्याम्पसमा बीएडमा भर्ना भए ।
कलेज पढ्दा पढ्दै केही कान्ति बाल अस्पतालमा करारमा एक्सरे एक्सरे एसिसटेण्टमा काम गरे ।
दिउँसो बीएस्सीको पढाई । राति बीएडको । बीएस्सी प्रथम वर्ष पास भए । दोस्रो वर्ष पढ्दै थिए । काठमाण्डौंमा भर्खरै अमेरिकाको युनिभर्सिटीसंग एफिलेटेड बोष्टन स्कुल अफ आईटी खुलेको थियो । जसले कम्प्युटर ईञ्जिनियरिङको पढाई थालेको थियो । २० जनाको कोटा थियो । ईन्ट्रान्समा सहभागी भएका उनले ५० प्रतिशत छात्रवृति पाए । र, पढाई थाले । उनी पहिलो व्याचका विद्यार्थी थिए । तीन वर्षमा कम्प्युटर ईञ्जिनियरिङको पढाई पुरा गरे । सशस्त्र संघर्षमा रहेको माओवादीले उक्त कलेज अमेरिकीन भनेर बन्द ग¥यो । दोस्रो व्याचका विद्यार्थीले पढाई पुरा गर्न पाएनन् ।
उनको सपना थियो,डाक्टर बन्ने । बने ईञ्जिनियर । भए शिक्षक । उनी कर्ममा विश्वास गर्थे । तर उनको जीवनमा त्यही भयो, जे भाग्यमा लेखेको थियो ।
कम्प्युटर ईञ्जनियिरङ थालेपछि बीएस्सीको पढाई छोडे । बीएडको पढाई जारी राखे । र, तीन वर्षमा बीएड पुरा गरे । एक वर्षपछि कम्प्युटर ईञ्जनियरिङको पढाई पुरा गरे ।
उनी २००० मा न्यू लाईफ सेकेण्डरी स्कुलसंगै डनबस्को स्कुल एण्ड कलेजमा पढाउन थाले । दुईटैमा कम्प्युटर बिभागको प्रमुख थिए । उनकै पालामा डनबस्कोमा बीबीएमा कम्प्युटर प्रोग्राम शुरु भयो ।
बिज्ञान प्रबिधि मन्त्रालय अन्तर्गत कलेज अफ सफ्टवेयर ईञ्जिनियरिङमा एक वर्षे पढाई हुन्थ्यो । उनले त्यहाँ पनि जागीर खाए । जहाँ उनले एनिमेसनमा काम गरे ।
उनले चार वर्ष माईक्रोटेक ईन्टरनेशनलमा काम गरे । त्यहाँ उनी प्रोग्रामिङ सफ्टवेयर तयार गर्थे ।
त्यहीबीच कसमस ईञ्जिनियरिङ कलेजमा सफ्टवेयर ईञ्जिनियर पढाए । उनले एकै समय तीन वटा कलेजमा पढाए । आम्दानी राम्रो थियो । त्यो बेला एउटै पिरियडको ४२०० रुपैया पारिश्रमिक लिन्थे ।
केही समय चिल्ड्रेन प्याराडाईज स्कुल ललितपुरमा पढाए । बीएन शर्मा त्यसका संस्थापक थिए । उनी कम्प्युटर बिभाग प्रमुख भए । उत्कृष्ट शिक्षक भए ।
प्याब्सनले उनलाई एसएलसीको परीक्षा बोर्डमा कम्प्युटर विषयको सुपरीवेक्षकका रुपमा पठायो । । तीन वर्ष उनी त्यो भूमिकामा रहे । उनले कम्प्युटर विषयमा बढिभन्दा बढि नम्वर दिन लगाउथे । जसले कम्प्युटर विषयको विद्यार्थी एसएलसीमा टप टेन भित्र पर्न सहज भयो ।
सुदूरपश्चिमका साथीभाईलाई समस्या पर्दा सहयोग गर्थे । जहाँ समस्या, त्यहाँ उपाय निकाल्थे । त्यसैले साथीभाईले उनको नाम राखिदिए, संकटमोचक । सुदूरपश्चिमका बिरामी उनकै कोठामा आउथे । अस्पताल पुग्थे । बिरामी र असहायलाई सहयोग गर्थे । हुन्, पनि जहाँ समस्या, त्यहाँ उनी, अनि त्यहाँ उपाय ।
उनी डोटेली समाजका आजीवन सदस्य भए । सुदूर पश्चिम सरोकार मञ्चका सदस्य । गौरा, डेउडा र बिशुँको संरक्षणमा जुटे । आपतविपतमा सुदूर पश्चिमेलीहरुलाई सके जति सहयोग गरे ।
................
भनिन्छ, संगतले सोच बदलिन्छ । सोचले सपना र सपनाले जिन्दगी । उनको जिन्दगी र सोच बदल्न त्यस्ता केही व्यक्तिहरुको संगतको योगदान छ । तिनैमध्ये, एक हुन्, वीरेन्द्र विश्वकर्मा । वीरेन्द्र सोल्टी होटलमा ईलेक्ट्रिक ईञ्जिनियर थिए । गुल्मी पुख्र्यौली घर भएका उनको परिवार भारतको असममा बस्थ्यो । उनका बुवा स्कुलका हेडमास्टर थिए । उनको जन्म त्यही भयो । उनी ईलेक्ट्रिक ईञ्जिनियरिङमा ईण्डियाका टपर थिए । नेपालीमूल र दलित समुदायप्रति उनका विशेष लगाव थियो । उनले सोल्टीमा कामका लागि दलित समुदायको ईलेक्ट्रिक ईञ्जिनियर खोजे । कोही पाएनन ।
त्यसको केही समयपछि बिरेन्द्र उनको सम्पर्कमा आए । उनीहरुबीच दलित समुदायका युवाहरुलाई मेडिकल, ईञ्जिनियरिङ र अन्य प्राविधिक शिक्षा पढाउन पहल गर्ने सल्लाह भयो । र, उनीहरुले दलित विद्यार्थीहरुलाई ईञ्जिनियरिङ र चिकित्साशास्त्रमा छात्रवृतिका लागि शिक्षा मन्त्रालयमा छलफल गरे । र, पाँच वटा विकास क्षेत्रबाट सात विद्यार्थी छानिए ।
समाजमा जातीय विभेद र छुवाछुत व्याप्त थियो । उनले न्याय, अधिकार र समानताका लागि न्याय क्षेत्रमा दलित समुदायको उपस्थिति आवश्यक ठाने । काठमाण्डौं स्कुल अफ ल संग सहकार्य थाले । र, दलित युवाहरुलाई कानूनको विषयमा छात्रवृति दिलाउन पहल गरे । त्योसंगै होटल म्यानजमेण्टमा देश विदेशमा छात्रवृति दिलाउन पहल गरे ।
सामाजिक कार्य र जागीरसंगै उनले पढाई पनि जारी राखे । र, उनले त्रिभुवन विश्व विद्यालयबाट २००७ मा स्वास्थ्य शिक्षामा स्नातकोत्तरको पढाई पुरा गरे ।
संस्थागत रुपमा धेरै काम गर्न सकिने सोचले वीरेन्द्र र उनी मिलेर २००७ मा पीडीआरसी (प्रोफेसनल डेभलोप्मेन्ट एण्ड रिसर्च सेण्टर ईन्टरनेशनल) को स्थापना गरे । पूर्ण नेपाली अध्यक्ष भए । पछि उनले दानी लुहारलाई जोडे । र, पीडीआरसीमा सक्रिय रहे । हाल पीडीआरसी नेपालको अध्यक्ष कमला हेमसुरी छन् । उनी उपाध्यक्ष । र, विद्यानाथ कोईराला सल्लाहकार ।
उनकै पहलमा १२ जना विद्यार्थी अमेरिकामा छात्रवृति पाए । उनीहरु पढाई सकेर नेपाल फर्किए । तिनैमध्ये एक हुन्, हाल मेरियट होटलमा कार्यरत कैलाली टीकापुरकी हेमा श्रीपाईली । नेपालमा बीएचएममा टपर केही समय दुबई पढ्न गएकी उनी फर्केर नेपालमै काम गर्न थालिन् । पीडीआरसीका तर्फबाट रुप सुनार अमेरिकन युथ काउन्सिलमा सदस्य भए ।
..............
दलित गैर सरकारी संस्था महासंघ(डिएनएफ)मा पोलिसी एड्भोकेसी अफिसरमा निवदेन दिए । लिखितमा पहिलो नम्बरमा नाम निक्लियो । तर मौखिकमा उनी बाहिरिए । यो उनी छनौट नभएको त्यो पहिलो घट्ना थियो । र, अन्तिम पनि त्यही । भन्छन्, छनौटमा राजनीति भयो ।
डिएनएफमा छनौट नभए के भो ? उनलाई त्योभन्दा ठूलो अवसरले पर्खिरहेको थियो । दलित महिला संघ(फेडो)को म्यानेजरमा आवेदन दिए । उनलाई त्यसको अनुभव नभएको भन्दै रिजल्ट मनिटरिङ एण्ड इभ्यालुसन म्यानेजरमा जागीर खान भनियो । शुरुमा मानेनन । पछि २००९ देखि एक वर्ष त्यही पदमा काम गरे । तीन वर्ष नेसनल प्रोजेक्ट म्यानेजर भए । चार वर्ष कार्यकारी निर्देशकको भूमिकामा रहेर काम गरे । २५ हजार रुपैयामा फ्ल्याट भाडा लिएर सञ्चालित फेडोको आफ्नै भवन बनाए । १४ जिल्लामा सिमित फेडोका कार्यक्रमलाई ६५ जिल्लामा विस्तार गरे । उनकै नेतृत्वमा फेडोले चार मिलियन डलर भित्र्यायो । चार वर्ष कार्यकारी निर्देशकको भूमिकामा रहेर उनी २०१५ मा त्यहाँबाट विदा भए ।
२०१५ देखि २०१७ सम्म उनी चान्स फर चेन्जको कन्ट्री डाईरेक्टर भए । उनी सबैभन्दा कान्छो कन्ट्री डाईरेक्टर थिए । युवाहरुलाई उत्प्रेरित गर्ने । युवा परिषदलाई प्राविधिक सहयोग । चान्स फर चेन्जको ‘ईन्सपाइरिङ योंग पिपुल ईन नेपाल’ परियोजना सञ्चालनमा थियो । जसको उद्देश्य थियो, युवाहरुलाई उत्प्रेरित गर्ने । यो परियोजनाले कृषि क्षेत्रमा पनि काम गथ्र्यो । महा भूकम्पपछि सबै बजेट पुनर्निर्माणमा लगाए ।
सात वटा साझेदार संस्था मार्फत गोरखा, काभ्रे र दोलखामा भूकम्प पीडितका लागि सात सयभन्दा बढि घर निर्माण गरे । सिराहामा दुई वटा स्कुल बनाएको छ ।
यसको मुख्यालय बेलायतमा थियो । स्कटल्याण्डका सेरिफ डेभिड म्याकी अध्यक्ष थिए । ग्रेग बर्टन, सिईओ ।
होटल द्धारिकाजकी सञ्चालक अम्विका श्रेष्ठ र कुलचन्द्र गौतम बोर्ड मेम्बर थिए ।
चान्स फर चेञ्जले पाँच वटा देशमा काम गथ्र्यो । २६ देशमा उसको नेटवर्क थियो । उनी ती देशमा चाहेको बेला परियोजना हेर्न जान पाउथे । घाना र केन्यामा पनि ईन्सपाइरिङ योंग पिपुल परियोजना लागु भयो । जो उनले बनाएका थिए । उनकै सक्रियतामा २०२२ मा युगाण्डामा सीएसआई कलेज स्थापना भयो ।
.................
उनी लोकतन्त्रमा विश्वास राख्थे । त्यही विश्वासले उनलाई लोकतन्त्रका लागि मुलुकमा भएका हरेक आन्दोलनमा डो¥यायो ।
२०४६ सालको आन्दोलनमा उनी पक्राउ परे । प्रहरीले दिनभरी रुखमा बाँधेर साँझ छोड्यो । उता सरस्वती माविका प्रधानअध्यापक तर्कराज जोशी पक्राउ परे । हेडमास्टर पक्राउको बिरोधमा विद्यार्थीको हुल बाँधेर उनी पुगे, धनगढी । र, विद्यार्थीको दवावपछि प्रहरीले जोशीलाई मुक्त ग¥यो ।
२०६२/६३ जनआन्दोलनमा काठमाण्डौं शान्तीनगरबाट जुलुसको नेतृत्व गरेर थापाथली पुगे । प्रहरीसंगको मुठभेड भयो । एसपी ठूले राईले प्रहरीको नेतृत्व गरेका थिए । आन्दोलनकारीमाथि दमन गरेपछि उनी राईमाथि जाईलागे । प्रहरीले उनीमाथि आक्रमण ग¥यो । उनी गम्भीर घाईते भए । चैत १० गतेको त्यो घट्नापछि उनी अस्पताल भर्ना भए । आन्दोलन सफल भएपछि आफ्नो काममा फर्किए । आन्दोलनमा घाईते भएका सबैले क्षतिपूर्ति राहत लिए । उनले लिएनन ।
...............
उनले जिन्दगीमा दुःख सुख सबै भोगे । कतिपय क्षणहरु यस्ता छन्, जसलाई बिर्सिन सक्दैनन । उनी पढाई सकेर काठमाण्डौंमा जमिसकेका थिए । कमाई राम्रो थियो । बुवा कृपाल उनको बिबाहका लागि काठमाण्डौं पुगे । उनको मगनी तय भएको थियो । उनका बुवालाई हर्ट अट्याक भयो । उपचारका लागि गंगालाल अस्पताल भर्ना गरे । स्वास्थ्यमा क्रमिक रुपमा सुधार हुदै गएको थियो । दोस्रो पटक अट्याक भएपछि २०६१ असार ४ गते उनले बुवा गुमाए । बिबाह रद्द भयो । उनको जीवनको यो सबैभन्दा बढि पीडादायी क्षण थियो ।
त्यसको केही वर्षपछि उनले कैलाली फुलवारीकी सञ्जु कुमारी सुनार बिबाह गरे । उनीहरुका दुई सन्तान छन् । उनको जेठो छोरा ११ वर्षको भयो । जो पाँच कक्षामा पढ्छ । कान्छो नौ वर्षको भयो । चारमा पढ्छ ।
..................
उनी २०१७ मा अमेरिका पुगे । उद्देश्य थियो, पीडीआरसी(प्रोफेसनल डेभलोप्मेन्ट एण्ड रिसर्च सेण्टर ईन्टरनेशनल) स्थापना गर्नु ।
उनले छ वर्ष बेसमेण्टमा बसेर काम गरे । पीडीआरसीलाई बचाए । हुर्काए । र, चिनाए । ग्लोवल अर्गनाईजेसन बनाए । हार्वर्डमा युथ एण्ड डेभलोप्मेण्ट शिर्षकमा लेक्चर दिए । वेक फोरेष्ट युनिभर्सिटी नर्थ क्यारिलोनामा पनि उनले गेष्ट लेक्चरका रुपमा पढाए ।
शुरुवाती चरणमा दलित बालबालिका र युवाको प्राविधिक शिक्षामा पहूँच सुनिश्चित गर्ने उद्देश्यले खोलेको पीडीआरसीको दायरा फराकिलो बनाए । जाती, समुदाय, भेग, भूगोल र देशभन्दा माथि उठे । र, पीडीआरसी विपन्न बर्ग र देशका बालबालिका र युवाहरुको शिक्षाका लागि काम गर्न थाल्यो ।
............
सरस्वतीमाविमा पढ्दा उनी जुनियर रेडक्रस सर्कलको सदस्य थियो । रेडक्रसप्रतिको त्यही लगावले उनी अमेरिकन रेडक्रसमा पनि सक्रिय भए । रेडक्रस सोसाईटी रिजनल क्लव कोअर्डिनेटर एण्ड ब्लड ड्राईभ प्रोग्राम लिडरको जिम्मेवारी पाए ।
कोभिडमा रगतको चरम अभाव भयो । उनी सुतेनन । रातदिन खटे । रगत दिन कोही मान्दैनथे । र, कोभिड भएकाहरुको रगत काम गर्दैनथ्यो । उनले रक्तदानका लागि विद्यार्थी र युवाहरुलाई सम्झाए । बुझाए । २०२० मा चार हप्ता भित्र ३००० युनिट रगत संकलन गरे । असंभव कामलाई उनले संभव बनाए । उनी यसलाई पावर अफ नेटवर्क भन्छन् ।
जहाँ रगत अभाव हुन्थ्यो, त्यहाँ अमेरिकन रेडक्रसले रगत वितरण गथ्र्यो । त्यही कारण उनी आवद्ध रेडक्रसले कोभिडमा अमेरिकामा भरीमा बेष्ट क्लव अवार्ड पायो ।
बाल्टीमोरको काउन्टी एक्जुकेटिभले उनले कोभिड हिरोको अवार्ड प्रदान ग¥यो । कोभिडमा उनले मानव जीवन रक्षार्थ निर्वाह गरेको योगदान वाफत पाँच वटा अवार्ड पाए ।
बाल्टिमोर सिटी हेल्थ डिपार्टमेण्टमा भ्याक्सिन एम्वेसडर भए । उनी कोभिडका बारेमा पढाउथे । मान्छेहरुलाई कसरी जोगिने भनेर काउन्सिलिङ गर्थे ।
त्यस बाहेक उनले कोभिडबाट प्रभावित ३६ वटा राज्यका ३६०० जनालाई प्रत्यक्ष सहयोग गरे । ३६०० व्यवसाय बन्द भएकालाई ईमर्जेन्सी फन्ड, ग्रान्ट र लोनहरु उपलब्ध गराए । बीमा नभएकाहरुलाई बीमा उपलब्ध गराए । जो असहाय थिए । निरुपाय थिए । संक्रमितहरुलाई भ्याक्सिन, औषधीसंगै मोटिभेट गरेर जोगाए । जागीर गुमाएकाहरुलाई जागीर दिलाएर सहयोग गरे ।
उनीहरुका लागि संकटमोचक भए । सिनेटर र नेताले नसकेको काम उनले गरे । मान्छेहरु भ्याक्सिन लगाउन तयार थिएनन् ।
उनी कोभिडको रिसर्च टीममा थिए । भ्याक्सिन र औषधीका बारेमा उनको टीमले रिसर्च ग¥यो । सोसल डिटरमिनिटेड अफ हेल्थमा उनले गरेको रिसर्च अमेरिकन सरकार, जोन होपकिन्स युनिभर्सिटी, मेरिल्याण्ड युनिभर्सिटी, ईन्टरनेशनल भ्याक्सिन सेन्टरले लागु ग¥यो ।
.................
मेरिल्याण्डमा रहेका नेपाली समुदायका उनी साझा व्यक्ति हुन् । उनी छायामा रहेर काम गर्छन । न चर्चा । न प्रशंसा । न सम्मानको भोक । बस्, कर्म गर्छन् । उनी पर्दा पछाडिको नायक हुन् । उनी जतिबेला मेरिल्याण्ड पुगे, सुदूर पश्चिम समाज विभक्त थियो । उनले नौ वटै जिल्लालाई एकजुट बनाए । र, सुदूर पश्चिम समाज मेरिल्याण्डको स्थापनाका लागि भूमिका निर्वाह गरे । उनकै सहयोगमा मुनाफा रहित संस्थाका रुपमा ५०१ सीमा समाज दर्ता भयो । त्यसयता उनी निरन्तर समाजका हरेक गतिबिधिमा सक्रिय छन् । कोभिडमा समाजका सदस्यहरुका लागि मात्र नभएर समग्र नेपालीहरुका लागि काम गरे । सहयोग जुटाएर नेपाल पठाए । मेरिल्याडमा जव कुनै संस्थाका लागि पोलिसी र प्रोपोजल बनाउनु पर्ने हुन्छ । तव सवैले सम्झिने नाम हो, भीम बिक । सबैलाई मिलाएर अघि बढ्नु उनको अर्को विशेषता हो । जहाँ विवाद हुन्छ, त्यसलाई सुल्झ्याउन उनी पुग्छन् ।
उनी एशोसियसन अफ नेपाली ईन अमेरिकाज (आना) सल्लाहकार हुन् । बानाको अर्गनाईजेसन डेभलोपमेन्टका अध्यक्ष । बानामा संघीय, राज्य र स्थानीय सरकारबाट बजेट ल्याउन उनको महत्वपूर्ण भूमिका छ ।
बानाको रिसोर्स सेन्टरको पूर्बाधार निर्माण र मर्मत संभारका लागि उनले लेखेको प्रोपोजलले पहिलो पटक डेढ लाख, दोस्रो पटक एक लाख, कम्युनिटी डेभोलपमेण्टका लागि २९ हजार, शिक्षाका लागि १० हजार र बालबालिकाको सांस्कृतिक कार्यक्रमका लागि पाँच हजार डलर पाएको छ ।
२०२२ मार्चमा युनिसेफको स्टेट लिडर नियुक्त भएका उनको पदावधि डिसेम्बर २०२४ मा पुरा भयो । उनको कार्यक्षेत्र थियो, मेरिल्याण्ड, डीसी र भर्जिनिया । युनिसेफका लागि १४३ मिलियन डलर जुटाए ।
२०२२ देखि पीडीआरसी ईन्टरनेशलको प्रमुख कार्यकारी अधिकृत(सीईओ) को भूमिका निर्वाह गर्दै उनी बिभिन्न सामाजिक र परोपकारी संस्थाका लागि समेत काम गर्दै आएका छन् । बाल्टीमोर नगरका मेयर स्कज ब्रान्डनका उनी सल्लाहकार हुन् ।
११ औं बाल्टिमोर ईमिग्रेसन समीट २०२४ मा उनी प्यानलिष्ट थिए । ईमिग्रेसन समीटमा उनको प्रोपोजल २०१९ देखि छनौट हुदै आएको छ ।
लाईभ पीस टेक कर्पोरेशनका उपाध्यक्ष रहेका उनी ख्यातिप्राप्त स्टार स्कलर पनि हुन् ।
२०२४ मेमा उनी ईमिग्रेसन आउटरीच सर्भिस सेन्टरमा जोडिए । जसको उनी कार्यकारी निर्देशक पदमा कार्यरत छन् । त्यो संस्थामा यो तहमा पुग्ने उनी पहिलो नेपाली हुन् ।
उनी नेपालमा छदा पनि संकटमोचकका रुपमा चिनिन्थे । अमेरिका पुगे, उनको यो पहिचान कायमै रह्यो । आप्रवासीका अध्यागमनसंग सम्वन्धित समस्या हुन् वा कुनै संस्थालाई फन्ड जुटाउनु परे, उनी संकटमोचक रुपमा प्रकट भईदिन्छन् । उनले आफूले गरेका कार्यहरुको कहिल्यै प्रचार गरेनन् । कहिल्यै कहिल्यै सुनाएनन, आफूले गरेका सेवाहरु ।
..................
समय खराव आएपछि सपनाहरुले पनि दुःख दिदो रहेछ । उनको हकमा त्यही भयो । अव सपना पुरा हुने भयो भन्ने ठान्थे । तर नियति अर्कै हुन्थ्यो । सपना र उनी नदीका दुई किनाराजस्ता । हेर्न मिल्ने । तर संगै हुन नमिल्ने ।
उनले सपना पछ्याए । सपनाले अर्कै बाटो । उनको बाटो पनि फेरियो । सपना पनि । उनी परे जिद्दी । हार्न उनले जानेका थिएनन् । नियति जित्न दिदैनथ्यो ।
एउटा पहाड चढेर थाक्नेहरु कही पुग्दैनन् । जिन्दगीमा चढ्नु पर्ने पहाडहरु त कति छन्, कति ? हो, एउटा पहाड चढेपछि थाह हुन्छ । चढ्नु पर्ने अझै अर्को ठूलो पहाड बाँकी छ ।
उनले मृत्युलाई नजिकबाट देखे । र, सपना त झनै नजिकबाट । मृत्युलाई उनले पछारे । सपनाले उनलाई । गम्भीर दुर्घटनाबाट बाँचे । प्रहरीको निर्घात कुटाईबाट तंग्रिए । तर जति पटक उनको डाक्टर बन्ने सपना पुरा हुन खोज्थ्यो । त्यति नै टाढा पुग्थ्यो, त्यो सपना ।
मान्छे एउटै हारबाट बिचलित हुन्छ । डिप्रेशनमा जान्छ । आत्महत्याको बाटो रोज्छ । उनी अपवाद थिए । जिन्दगी एउटा हार मात्र कहाँ हो ? हारहरुको श्रृंखला र त्यसैको चाङमा उभिन सक्नु पो जिन्दगी । उनले बाँचेको समय, हिडेको बाटो र भोगेको जिन्दगीले यही भन्छ । एउटै हारबाट बिचलित हुनेहरुलाई उनको भोगाईले भन्छ, जिन्दगी हार्नलाई मिलेकै होईन ।
कुनै एउटा अवसरबाट बञ्चित हुदैमा बिचलित हुनुहुदैन, उनी आफ्नो भोगाई सुनाउछन्, भगवानले मलाई डाक्टर बन्न दिएनन् । अहिले महसुस गर्दैछु, सायद डाक्टर भएको भए म यति धेरै सामाजिक कार्य र मानवीय सेवा गर्न बञ्चित हुन्थे । त्यसैले मलाई भगवानले ईञ्जिनियर बनाए ।
डाक्टर नबने के भयो त उनले पढाएका तमाम विद्यार्थीहरु डाक्टर बनेका छन् । उनी यही कुरामा खुशी छन् ।
तपाईको प्रतिक्रिया