धनगढीमा भूईमान्छेलाई सास्ती, केहीलाई सुविधै सुविधा

आइतबार माघ २०, २०८१/ Sunday 02-02-25
Paschim Today

रञ्जना बिसी
धनगढी, २० माघ । 
धनगढी उपमहानगरपालिकाको प्रमुखमा निर्वाचित भएपछि गोपाल हमालको पहिलो तारो बन्यो, पालिकाकै अघिल्तिरको त्रिनगर हाट बजार । उनका केही समर्थकले लेखे, हाट बजारमा लुट । 
हाट बजारमाथि हस्तक्षेप गर्न त्यो लेख्न लगाईएको बताइन्छ । पहिला हाट बजार सिसिएसले सञ्चालनले गथ्र्यो ।

केही समयपछि नगरपालिकाको मातहतमा लिएर मेयर हमालले त्यहाँ बिभिन्न नियम लगाउदै तरकारी बेच्नेहरुमाथि धरपकड गरे ।  जतिबेला हाट बजारमा लुट भनेर प्रोपोगण्डा गरियो । त्यतिबेला त्यहाँ भूईमा तरकारी बेच्नेले पाँच रुपैया शुल्क तिर्थे । र, टिनको टहरामुनी तरकारी बेच्नेले प्रतिदिन २० र २५ रुपैया ।

धनगढी उपमहानगरपालिकाले त्यहाँ को बस्न पाउने, को बस्न नपाउने नियम बनायो । के सामान बेच्न पाउने, के बेच्न नपाउने नियम बनायो । उपमहानगरपालिकाको त्यो नीति र हस्तक्षेपपछि हाट बजार बिस्तारै सुक्दै थियो । कार्ड सिष्टम बनायो । सबैलाई त्यहाँ व्यापार गर्न दिएन । 

त्यसअघि हाट बजार लाग्ने दिन बनदेवीको सडकमा जाम हुन्थ्यो । हाट बजारभित्र ग्राहकहरुको थेगी नसक्नु भीड हुन्थ्यो । उपमहानगरपालिकाले हाट बजार त आफ्नो मातहतमा लियो । तर त्यसको व्यवस्थापनमा ध्यान दिएन । उल्टै कृषकहरुलाई दोब्बर शुल्क लगायो । तर त्यसका बारेमा कोही बोलेनन् ।

त्यहीबेला धनगढी चटकपुरमा हाट बजार सञ्चालनमा आयो । त्यसपछि कार्ड भएका किसानहरु कोही चटकपुर गए, कोही कतै । यता हाट बजार सुक्दै गयो । उपमहानगरपालिकाको एकातिर तरकारी महंगो भयो । अर्को, सबै तरकारी पनि पाउन् छोडे । त्यसपछि ग्राहक पातलिदै गए । एक वर्षमै हाट बजार सुनसान भयो ।

सुनसान हाटबजार

कुनै बेला कृषकहरुबीच तरकारी बेच्न प्रतिस्पर्धा हुन्थ्यो । एकैदिनमा हाट बजारमा लाखौ रुपैयाको कारोवार हुन्थ्यो । हाट बजार सुनसान भएपछि केही साताअघि मेयर हमालले सातै दिन हाट बजार सञ्चालन गर्ने निर्णय मात्र गरेनन् । सबैका लागि खुला गरे । मेयर हमालले पहिले रोक लगाए । अहिले सबैलाई खुला गरे। लुगाकपडा पनि बिक्री छुट भयो । तर यतिबेला खरीद गर्न जाने कोही छैन ।

पहिला हप्तामा तीन दिन चल्ने हाटबजार अहिले प्रत्येक दिन चल्छ । तर त्यहाँ व्यापार गर्न बसेकाहरु बोहनी नभएर साँझ घर फर्किन्छन् । नचल्ने भनेको त व्यापार मात्रै हो, हाटबजारमा जुत्ता चप्पल व्यापार गरिरहेकी ६० वर्षीय सीता चौलागाई भन्छिन्,कहिले बोहनी हुन्छ । कहिले बोहनी पनि नभएर घर जानु पर्छ । 
२० वर्षदेखि सडकमा व्यापार गर्दै आएकी चौलागाई यस्तो खराव अवस्था कहिल्यै नदेखेको बताउछिन् ।  
उनले शुरुवाती दिनमा कभर्ड छेउमा व्यापार गरिन् । त्यहाँबाट हटाएपछि शहीद गेट पुगिन । शहीद गेटबाट नगरपालिका पछाछि । अहिले त्यहाँबाट त्रिनगर हाटबजारमा । सीता भन्छिन् 'हामी त जहिल्यै लखटियौ । यताबाट उता,उताबाट यता । जसले सक्छ लखेट्यो ।'

हाटबजारका अर्का व्यापारी मुमताजको अनुभव पनि सीताको भन्दा परक छैन् । भारतीय नागरिक मुमताजको परिवारले विगत ३५ वर्ष देखि धनगढीमा व्यापार गर्दै आएका छन् । भन्छन् ‘पहिला व्यापार राम्रो थियो । कर पनि सस्तो थियो । अहिले व्यापार छैन् । बोहनी होस वा नहोस कर भने तिर्नु पर्छ ।' 

व्यापारीहरुले हाटबजारमा व्यापार गरे वाफत आइतबार, मंगलबार र शुक्रबार प्रत्येक दिनको ६० रुपैयाँ कर धनगढी उपमहानगरलाई बुझाउछन् । यो भन्दा पहिला २५ रुपैयाँ मात्रै बुझाउँथे । हाटबजारमा व्यापार गर्ने अधिकांश निम्न वर्गका छन् । जसको गर्जो त्यही व्यापारबाट टर्छ । 

शनिवारे मेलामा सुविधै सुविधा

भूईमान्छेको गर्जो टार्ने त्रिनगर हाट बजारमा करमाथि कर लगाएको धनगढी उपमहानगरले त्यहाँबाट सयमिटरकै दूरीमा पार्कमोडमा हुने खाने र पहिलेदेखि व्यापार व्यवसाय गर्दै आएकाहरुका लागि भने सुविधा सुविधै दिएर शनिवारीय मेला सञ्चालन गरिरहेको छ । 

शनिवार लाग्ने मेलाका लागि उपमहानगरपालिकाले शुक्रवार साँझ नै टेण्ट लगाएर स्टल तयार पार्छ । जहाँ ६०/ ७० वटा स्टल छन्  । प्रत्येक स्टलमा कुर्सी, टेबुल र उनीहरुका लागि खानेपानी र शौचालयको व्यवस्था समेत निशुल्क छ । स्थानीय उत्पादन तथा साना व्यवसायलाई मध्यनजर गर्दै धनगढी उपमहानगरले शनिवारीय मेला सञ्चालन गरेको जनाएको छ ।

धनगढी उपमहानगरपालिका–५ तारानगरकी चाँदनी कार्की व्यापारी हुन् । उनी प्रत्यक साता शनिवारीय मेलामा व्यापार गर्न आउछिन् । त्यहाँ उनले जौँको सातु, लिटो, प्रोटिनेवल जस्ता घरमा उत्पादन गरेका वस्तुहरु बिक्री गर्छिन् । महिलाहरुलाई नगरपालिकाले स्वरोजगार बनाउन मेला सुरु गरेको कार्की बताउछिन् । 

चाँदनी जस्तैै मिलनचोककी अर्की व्यापारी लक्ष्मी देवि सिह पनि शनिवारीय मेलाको स्टल सञ्चालन गर्दै आएकी छिन् । उनले सेलरोटी, पुरी तरकारी, पकौडा, पकाएका माछा बिक्री गर्छिन् । मेलामा व्यापार सुरु गरेपछि दैनिकीमा परिवर्तन आएको भन्दै लक्ष्मी नगरपालिकालाई धन्यवाद दिन्छिन् । भन्छिन् ‘नगरपालिकाले गर्दा हामी आफ्ना उत्पादनहरु सहज रुपमा बिक्री गर्न पाइरहेका छौ । म जस्ता महिला उद्यमीहरुका लागि यो एक अवसर हो ।’

शनिवारिय मेला

शनिवारीय मेलामा व्यापार गर्ने उनीहरुका लागि सबै व्यवस्था धनगढी उपमहानगरले गर्छ । मेलामा व्यापार गर्ने व्यापारीहरुका लागि सबै सुविधा छ । तर उनीहरुले व्यापार गरे वाफतको कर तिर्दैनन् । मूल सडकका व्यवसायीहरु विस्थापित गरेर उपमहानगरपालिका शनिवारीय मेलामा रमाईरहेको बजार क्षेत्रका व्यवसायीहरु गुनासो गर्छन् ।

सडक विस्तारका क्रममा मुख्य सडकसंगै जोडिएका पसलहरु भत्किएपछि दुई वर्षयता दर्जनौ व्यापारीहरु धराशायी भएका छन् । कतिपय विस्थापित भए । कतिपयको सम्पत्ती लिलाम भएको छ । दुई वर्षयता कसैले घर भाडा तिर्न सकेका छैनन् । बैंकको व्याज तिर्न सकेका छैन् । 

जो कर तिर्छन, उही अन्धकारमा

धनगढी उपमहानगरपालिकाको पछाडि पट्टि परिवार नियोजन जाने बाटोमा महिलाहरुले ठेलामा चाउमिनको व्यापार गर्छन् । शनिवारीय मेला झकिझाउ छ । जहाँ सबै सुविधा छ । त्यसैसंगै जोडिएको गल्लीमा ठेलामा चाउमिन बेच्ने महिलाहरुबाट उपमहानगरपालिका प्रतिदिन सय रुपैयाका दरले वार्षिक रुपमा ३६ हजार पाँच सय रुपैया कर असुल्छ । तर उनीहरुलाई भने कुनै सुविधा छैन् । 

राति त्यही छेउको राष्ट्र बैंक चौक बत्तीले झिलिमिली हुन्छ । महिलाहरुले ठेला लगाउने त्यो गल्ली भने अंधकार छ । त्यहाँ केही कपडा पसल र साईकल मर्मत केन्द्र पनि छन् । रातपरेपछि उनीहरु कोही पेट्रोमेक्स त कोही लालटिन प्रयोग गर्छन् । 

अन्धकारमा ठेला व्यवशायि

एक वर्षअघि त्यहाँ एक सय २० भन्दा बढि ठेला थिए । महिलाहरुको जीविकोपार्जनको त्यही माध्यममाथि उपमहानगरपालिकाले चर्को कर लगाएपछि विस्तारै उनीहरु त्यहाँबाट बिस्थापित हुदै गए । ‘उपमहानगरपालिकाले कसैलाई सुबिधै सुबिधा दिएर निशुल्क व्यापार गर्न दिएको छ । कतै प्रत्येक दिन सय रुपैया कर लिएर कुनै सुबिधा दिएको छैन्', नाम नखुलाउने सर्तमा एक ठेला व्यवशायीले गुनासो गरिन्,

७० भन्दा बढि ठेला र पसल रहेको ठाउमा न शौचालय छ । न त खानेपानीको व्यवस्था ।  'बोहनी नहुदै उपमहानगरपालिकाका कर्मचारीहरु कर उठाउन आईपुग्छन् । व्यापार होस वा नहोस सय रुपैया बुझाउनै पर्छ', अर्की एक महिलाले भनिन्  ।

कहिलेकाही सय रुपैयाको व्यापार हुदैन् । तर पालिकालाई कर तिर्नैपर्छ । त्यही कारण थुप्रै महिलाहरु विस्थापित भए । बाँकी पनि बिस्थापित हुने अवस्थामा छौ । उपमहानगरपालिका वरपरीका यी तीनै वटा बजार धनगढी उपमहानगर कै स्वामित्वमा सञ्चालन छन् ।

तर सेवा सुविधामा भने नगरपालिकाले विभेद गरेको व्यापारीहरु बताउछन् । उनीहरुको गुनासो छ, 'कुनै ठाउमा कर नतिर्ने व्यापारी सुबिधा सहित व्यापार गर्न पाउछन् । कतै प्रत्येक दिन कर तिर्ने व्यवसायी अध्याँरोमा व्यापार गर्न बाध्य छन् ।'