अर्जुन ट्रफी टी–२० : धनगढीको पहिलो जित, ललित राजवंशीले लिए ३ विकेट

आइतबार माघ २०, २०८१/ Sunday 02-02-25
Paschim Today

कैलाली । धनगढीस्थित  फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आजको भएको दोस्रो खेलमा डिसिए धनगढीले पहिलो जित दर्ता गरेको छ । पहिलो खेलमा डडेल्धुरासँग पराजित भएको डिसिए धनगढीले घोडाघोडी–११ लाई ६९ रनले पराजित गरेको हो । टस जितेर पहिलो ब्याटिङ गर्दै डिसिए धनगढीले निर्धारित २० ओभरमा ९ विकेट क्षतिमा एक सय ४९ रन बनायो । डिसिएका लागि राजु रिजालले २७ बलमा ३७ रन बनाए । यस्तै लोकेश बमले ३१, अभिषेक पालले २८ र कप्तान नारायण जोशीले  १९ रन बनाए । घोडाघोडीका लागि धर्मराज जोशीले ३ विकेट लिए । नरेन साउँदले दुई विकेट लिए । 

एक सय ५० रनको लक्ष्य लिएर मैदान उत्रिएको घोडाघोडी १६.५ ओभरमा सबै विकेट गुमाउँदै ८० रनमा समेटियो । घोडाघोडीका लागि टेक रावतले १८ रन र दीपक टमाट्टाले १३ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो रन अङ्क छुन सकेनन् । डिसिएलाई सानदार जित दिलाउन ललित राजवंशीले ३ विकेट लिए । मिलन बोहरा र राहु भण्डारीले दुई दुई विकेट लिए । खेलमा ३ विकेट लिएका डिसिए धनगढीका ललित राजवंशी नवजीवन सहकारी संस्था प्लेयर अफ द म्याच भए । उनले नगद १० हजार सहित ट्रफी पाए ।

प्रतियोगिता अन्तर्गत भोली दुई वटा खेल हुनेछन् । पहिलो खेलमा फेण्ड्स क्लब डडेल्धुरा र बोष्टन क्रिकेट झापा प्रतिस्पर्धा गर्नेछन् । दोस्रो खेलमा सिवाईसी अत्तरिया र क्रिकेट एक्सीलेन्स सेन्टर काठमाडौं प्रतिस्पर्धा गर्नेछन् । नेपाल क्रिकेट सङ्घको वार्षिक क्यालेन्डरमा समावेश भएको प्रतियोगिता माघ २८ गतेसम्म सञ्चालन हुनेछ । धनगढी र सुदूरपश्चिम प्रदेशको क्रिकेटका सारथि रहेका स्वर्गीय अर्जुन खड्कालाई समर्पित गर्दै आयोजना गरिएको प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद ५ लाख सहित ट्रफी पाउनेछन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद एक लाख प्रदान गरिनेछ । उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही ५०\५० हजार पाउनेछन् । प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिनेछ ।

आज भएको पहिलो खेलमा सीवाईसी अत्तरियाले दशरथ चन्द एकेडेमी बैतडीलाई २६ रनले पराजित गरेको थियो ।