अर्जुन ट्रफी टी-२०: भीम र विवेक चम्किँदा बैतडीमाथि अत्तरियाको जित
कैलाली । अर्जुन ट्रफी राष्ट्रिय टी– २० क्रिकेट प्रतियोगितामा सीवाईसी अत्तरियाले विजयी सुरुवात गरेको छ । धनगढीस्थित फाप्ला मैदानमा भएको आइतबारको पहिलो खेलमा दशरथ चन्द एकेडेमी बैतडीलाई हराउँदै अत्तरियाले सुखद् सुरुवात गरेको छ । अत्तरियाले बैतडीलाई २६ रनले पराजित गरेको हो ।
अत्तरियाले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको दशरथ चन्द एकेडेमीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३८ रन बनायो । उसका लागि हिमाल दुलियाले ३९, वसन्त खत्रीले २३ तथा सुमित बडालले १८ रन जोडे । अत्तरियाका लागि विवेक यादवले उत्कृष्ट बलिङ गरे ।
अत्तरियाको जितको लागि भीम सार्की र विवेक यादव नायक बने । चार ओभरमा २५ रन दिएका यादवले चार विकेट लिएका थिए । साहब आलम र कमल गुप्ताले समान दुई–दुई तथा दिपेश कँडेलले एक विकेट लिए ।
टस हारेर ब्याटिङको निम्तो पाएको अत्तरियाले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर एक सय ६४ रन बनाएको थियो । अत्तरियाका लागि भीम सार्कीले ७० रनको अविजित पारी खेले । उनले ३३ बलमा छ चौका र चार छक्का प्रहार गरे ।
यस्तै, तृतराज दासले ३०, शङ्कर रानाले २५ रन जोड्दा विवेक यादव १७ बलमा २५ रन बनाएर अविजित रहे । बैतडीका अमर रौतेलाले दुई तथा रुपेश सिंहले १ विकेट लिए ।
खेलका म्यान अफ द म्याच अत्तरियाका विवेक यादव भए । प्रतियोगिताअन्तर्गत अहिले डीसीए धनगढी र घोडाघोडी– ११ बिच खेल भइरहेको छ । शनिवारदेखि गो ड्रिमर्सको आयोजनामा सुरु भएको प्रतियोगिताको विजेताले १० लाख नगद तथा उपविजेताले ५ लाख नगदसहित ट्रफी पाउनेछन् ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद एक लाख प्रदान गरिनेछ । उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदीयमान खेलाडीले जनही ५०्५० हजार रुपैयाँ पाउनेछन् । प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिनेछ ।
प्रतियोगितामा देशभरका ८ वटा क्लब तथा टिमको सहभागिता रहेको छ ।
धनगढी र सुदूरपश्चिम प्रदेशको क्रिकेटका सारथि रहेका स्वर्गीय अर्जुन खड्कालाई समर्पित गर्दै उनैको नाममा प्रतियोगिता आयोजना गरिएको हो ।
तपाईको प्रतिक्रिया