महिला टि-ट्वान्टी आई सिरिजको उपाधि थाइल्याण्डलाई
![](https://paschimtoday.com/uploads/news/images/202502011548212025-02-07-03-47-28.jpeg)
काठमाडौं – थाइल्याण्डले महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको उपाधि जितेको छ। अन्तिम खेलमा शुक्रवार नेपाललाई ७ विकेटले पराजित गर्दै थाइल्याण्डले सिरिजको उपाधि जितेको छ।
सिरिजमा खेलेको ६ मध्ये ५ खेलमा जित हात पार्दै १० अंकका साथ थाइल्याण्ड च्याम्पियन बन्यो। नेपालले सिरिजमा सबै ६ खेल हार्यो।
८२ रनको सामान्य लक्ष्य थाइल्याण्डले १७ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो। थाइल्याण्डको जितमा कप्तान नारुइमोल चाइवाईले नट आउट रहँदै सर्वाधिक २७ रन जोडिन्। नान्नापत खोन्चरोएन्कले ३२ बलमा २३ रन बनाइन्।
त्यसअघि कीर्तिपुरस्थित टियु मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ८१ रन मात्र जोड्यो।
नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक १७ रन जोडिन्। उनले २९ बलमा १ चौका प्रहार गरिन्। कविता जोशीले १२ बलमा १ चौका र १ छक्काको सहयोगमा १४ रन बनाइन्। कप्तान इन्दु बर्माले १० रनमा आउट हुँदा राजमती ऐरी ११ रनमा नट आउट रहिन्।
थाइल्याण्डका लागि ओनिचा कामचोम्फुले ३, चानिदा सुत्थीरुआंग, नाट्टाया बुचाथम र सुलेपोर्न लाओमीले समान १ विकेट लिइन्। सिरिजमा नेपाल, थाइल्याण्डसहित नेदरल्याण्ड्सको सहभागिता थियो।नेदरल्याण्ड्स ८ अंकका साथ दोस्रो भयो।
तपाईको प्रतिक्रिया