सामुदायीक विद्यालयले उत्कृष्ट नतिजा दिएका छन् –पूर्व मन्त्री देउवा

शुक्रबार माघ २५, २०८१/ Friday 02-07-25
Paschim Today

धनगढी, २५ माघ ।
पूर्व भौतिक पूर्वाधार विकास मन्त्री तथा प्रदेश सभा सदस्य प्रकाश बहादुर देउवाले सामुदायीक विद्यालयहरुले गुणस्तरीय शिक्षा प्रदान गर्दै उत्कृष्ट विद्यार्थी उत्पादन गरिरहेको भन्दै प्रशंसा गरेका छन् ।

धनगढी उपमहानगरपालिका–२ बैयाबेहडीस्थित शारदा माध्यमिक विद्यालयको ४९ औं वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै प्रमुख अतिथि देउवाले न्यून आय भएका आम नागरिकका सन्ततीलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएका सामुदायीक विद्यालयहरुले पर्याप्त बजेट र स्रोत साधन भने नपाएको स्वीकार गरे ।

उनले शारदा माध्यमिक विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्दै उत्कृष्ट विद्यार्थी उत्पादन गरिरहेको भन्दै प्रशंसा गर्दै त्यसका लागि विद्यालयका प्रधानअध्यापक र शिक्षकहरुलाई धन्यवाद दिए ।

पूर्व मन्त्री देउवाले शारदा माविको भौतिक तथा शैक्षिक विकासका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता गरे ।

समारोहमा विद्यालयका प्रधानअध्यापक तेजबहादुर सिंहले विद्यालयको शैक्षिक ,व्यवस्थापकीय र भौतिक क्षेत्रमा विद्यालयले गरेका सुधारात्मक पक्षहरू समेटेर प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले आर्थिक वर्ष ०८०/०८१ मा ६३ लाख ७३ हजार आठ सय ३० आय/व्यय रहेकोमा हाल विद्यालयसंग एक करोड रुपैया मुद्दती बचत सहित दुई करोड ४४ लाख ८९ हजार छ सय ८२ रुपैया बैंकमा मौज्दात जानकारी दिए । 

पाँच वर्ष अघि ३९ लाख दायित्व रहेको विद्यालयको आर्थिक अवस्था सुदृढ गर्दै  पूर्णकालीन आंशिक गरी ७४ जना शिक्षक र कर्मचारीको रोजगारी सृजना गर्न सफल भएको प्रधानअध्यापक सिंहले सुनाए ।

सोही कार्यक्रममा कैलाली उद्योग वाणिाज्य संघका सदस्य एवम् तिलक ट्रेडस हसनपुर र अंकित ट्रेडस रातोपुलका प्रोप्राटर तथा शारदा माविका सदस्य तिलकबहादुर वोहराले छ लाख २० हजार रुपैयाको महेन्द्रा कम्पनीको २० केभीए क्षमताको जेनेरेटर उपहार स्वरुप विद्यालयलाई हस्तान्तरण गरे ।

त्यस्तै विद्यालयकी शिक्षक लक्ष्मी पनेरूले आफ्नी सासु स्वर्गीय डम्मरा देवी जोशीको स्मृतिमा  डम्मरा देवी स्मृति अक्षयकोषका लागि विद्यालयका प्रधानअध्यापक तेज बहादुर सिंहलाई ५० हजार रुपैयाको चेक हस्तान्तरण गरिन् । योसंगै शारदा माविमा अक्षयकोषको संख्या १५ पुगेको छ । अक्षयकोषको कूल रकम १८ लाख ७७ हजार एक सय ४४ रुपैया पुगेको छ । अक्षयकोषको मुद्दती खाताबाट प्राप्त एक लाख २७ हजार रुपैया व्याजबाट छात्रवृत्ति निर्देशिकाले तोके बमोजिमका ५७ जना जेहेन्दार ,गरीव ,विपन्न छात्रछात्रालाई छात्रवृत्ति तथा पुरस्कार प्रदान गरिएको थियो ।

विद्यालयमा २० वर्ष भन्दा बढि समय सेवा गरेका शिक्षक कर्मचारीलाई सम्मान गर्ने परम्परा बमोजिम कार्यालय सहयोगी भोजली चौधरीलाई दोसल्ला तथा कदरपत्र सहित सम्मान गरिएको थियो । त्यस्तै उत्कृष्ट वर्ष अभिभावकको रूपमा कलावती धामीलाई कदरपत्र र दोसल्ला सहित सम्मानित गरिएको थियो ।

कक्षा ९ अध्ययनरत अनुषा उपाध्याय र जीवन जोशीले सञ्चालन गरेको समारोहमा खुशी परियारले अंग्रेजी भाषामा स्वागत मन्तव्य व्यक्त गरेकी थिईन् । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मान बहादुर चौधरीको अध्यक्षतामा सम्पन्न समारोहमा शिक्षक दीर्घराज कापडीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । 

कार्यक्रममा अतिथिका रुपमा ईश्वरीय ब्रह्मकुमारी विद्यालय धनगढीकी प्रमुख हीरा दिदी, नेपाल बार एशोसियसन धनगढीका पूर्व अध्यक्ष बीर बहादुर जेठारा, विद्यालयका पूर्व प्रधानअध्यापक, जनप्रतिनिधि, अभिभावक तथा विभिन्न संघसंस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।