क्याप्टेन वेद उप्रेतीको पायलट प्रेम उपन्यास सार्वजनिक

क्याप्टेन वेद उप्रेतीको नयाँ कृति ‘पायलट प्रेम’ उपन्यायसको शनिबार धनगढीमा विमोचन गरिएको छ।
त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष तथा व्यवस्थापन संकायका डीन प्रो.डा.प्रेमराज पन्त, सुदूरपश्चिम विश्वविद्यालयका पूर्व रजिस्ट्रार हेमराज पन्त, लेखककी आमा सरस्वती उप्रेती लगायतले संयुक्त रूपमा उपन्यासको विमोचन गरेका हुन्। क्याप्टेन उप्रेतीको यो १३ औं कृति हो ।
प्रमुख अतिथि प्रा.डा. पन्तले एउटा पायलटले भोगेको, देखेको जीवन र थुप्रै पायलटका जीवनका रोचक र साहसिक अनुभवहरुलाई सरल तरिकाले लेखकले उपन्यासमा उतारेको बताए ।
उनले पायलटका उपन्यास पढेर अनुभवका आधारमा जहाज उडाउने तरिका र जहाजका बारेमा बिबिध जानकारी मिल्ने बताए ।
क्याप्टेन उप्रेतीले उपन्यासभित्र पाइलटका अनुभव, भोगाई, प्रेम, रोमान्स र जीवनका उतारचढाव समेटिएको बताए ।
उपन्यासकार उप्रेतीले उपन्यासभित्र थुप्रै पायलटका जीवनका घट्नाहरु उल्लेख गरिएको बताए । उपन्यासमा समेटिएका पात्र र घट्नाहरु ९० प्रतिशत वास्तविक हुन्, उप्रेतीले भने, १० प्रतिशत मात्र काल्पनिक घट्ना र पात्रहरु हुन्।
उप्रेतीले उपन्यासभित्र समेटिएका कथा आफ्नोभन्दा पनि अरूको रहेको बताए ।
आफ्नो आकाशमाथि उडिरहने जहाज देख्दा सोलुखुम्बुको नाम्चे बजारमा जन्मिएको एक बालकमा पलाएको पायलट बन्ने हुटुहुटीबाट शुरु भएको कथा अमेरिकामा पायलट कोर्स पुरा भएपछि अघि बढ्छ, उप्रेती भन्छन्, उपन्यासको नायक सोनाम भएपनि यो भित्र तमाम घट्ना र ती घट्नासंग जोडिएका पायलटहरुका कथा, प्रेम, आरोह अवरोह छन् ।
पुस्तकमाथि समीक्षा गर्दै कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक सीताराम भट्टले उपन्यासको बाहिर पायलट प्रेम भनिए पनि भित्र जीवनवादी र आशावादी उपन्यास रहेको बताए ।
उनले उपन्यासभित्र विभिन्न किसिमको प्रेमका व्याख्या गरिएको उल्लेख गर्दै प्रेममा ब्रेकअप भएमा निराश हुन नहुने सन्देश उपन्यासले दिएको उल्लेख गरे ।
लेखकले दार्शनिकतामा बग्दै आशावादीका मोटिभेसनल कुरा, प्रकृति प्रेम र वियोगका कुराहरू समेटेको भट्टले बताए।
टिप्पणीकार भट्टले उपन्यासकारले पात्रहरुमार्फत दुई तहको प्रेम सम्बन्ध र त्यही सम्बन्धका पाटाहरुलाई उपन्यासमा उजागर गरेको बताए ।
उपन्यासको नायक सोनाम ईमान्दार र सरल छ । उसको प्रेमको बियोगान्त अन्त्य छ । यद्दिप उसको प्रेम पवित्र र प्रतिबद्ध छ । सोनामको प्रेम केही समयपछि ब्रेकअफ हुने र पुरानो सम्बन्धलाई बिर्सिने मौसमी होईन, भट्टले टिप्पणीका क्रममा भने, र त, सरितासंगको बियोगलाई बिर्सेर नयाँ प्रेममा जोडिएर पनि उ पुरानो प्रेमलाई बिर्सिन सक्दैन ।
उपन्यासमा तथ्य र कल्पना दुबै छन् । थुपै्र वास्तविक घट्ना र केही कल्पना छन्, भट्ट भन्छन्, सिद्धहस्त लेखकले झै उप्रेतीले मिठो र सरल तरिकाले त्यसलाई लिपिबद्ध गरेका छन् । काल्पनिक कुराहरु छन् ।
उपन्यासमा लेखकको दार्शनिकता बगेको छ, उनले थपे, त्यहाँ आशावादिता छ । प्रेरणा छ । प्रकृति प्रेम छ । प्रेमसंगै बियोगका कथाहरु पनि छन् ।
अर्का टिप्पणीकर्ता कमलराज जोशीले लेखक क्याप्टेन उप्रेतीले जहाजको उडानमात्रै नभएर शब्दको उडान पनि उपन्यासमा भरेको उल्लेख गरे। उनले जीवनलाई बहुआयामिक तरिकाले अगाडि बढाउन उपन्यासले सन्देश दिएको बताए ।
सोलुको एउटा भूगोलको कथा होईन, उनले भने, यो आम नेपालीको कथा हो । हरेकले गर्ने कल्पना यसमा छ, जोशीले भने, मान्छेले साहस ग¥यो भने उसका संभावनाका सधे ढोकाहरु खुला हुन्छन् भन्ने सन्देश दिएको उपन्यासले एउटै घट्नाबाट निराश नहुन आत्मबल प्रदान गर्छ ।
उपन्यासमा समाज छ । समाजको चित्रण छ । प्रेम छ । बियोग छ । भनसुन र भ्रष्टाचार समाजमा कसरी जकडिएको छ, जोशीले भने, उपन्यासले त्यसको उद्घाटन पनि गरेको छ ।
बिमोचन समारोहका अध्यक्ष सुदूरपश्चिम विश्वविद्यालयका पूर्व रजिस्ट्रार तथा कैलाली बहुमुखी क्याम्पसका पूर्व प्रमुख प्रा.डा. हेमराज पन्तले मान्छेहरुले आफूहरुलाई अनावश्यक रुपमा व्यस्त देखाउने गरेको टिप्पणी गर्दै भने, सबैसंग २४ घण्टा नै हो । जसले त्यसको सदुपयोग गर्छन् । त्यसैले ईतिहास बनाउछन् । क्याप्टेन उप्रेती तिनै मध्ये पर्छन् । जसले व्यस्त समयका बाबजुद पनि यतिधेरै सृजनशील कार्य गरेका छन् ।
कार्यक्रममा युनेस्को बग्दादका शिक्षा प्रमुख तपराज पन्त, नाटा सुदूर पश्चिमका पूर्व अध्यक्ष माया प्रकाश भट्ट, गेटा मेडिकल कलेजका निर्देशक डा. सुरेश पन्त लगायत बिशिष्ट अतिथिहरुको उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया