अब कोर्ट म्यारिज र डिभोर्स पनि अनलाइनबाटै !

सोमबार माघ २८, २०८१/ Monday 02-10-25
Paschim Today

काठमाडौं । अब त यस्ता समय आइसक्यो, अनलाइनबाट नपाइने सेवा कमै होलान् । राइड बुक गर्ने, खाना अर्डर गर्नेदेखि लिएर कानुनी परामर्श लिने जस्ता काम अनलाइनबाटै पाउन सकिन्छ । कानुनी सेवाको कुरा गर्दा कोर्ट म्यारिज (अदालती विवाह) देखि सम्बन्ध विच्छेदसम्मका कानुनी सेवाहरू पनि अनलाइनमार्फत सम्भव भइसकेका छन् । यस्तै कुनै किसिमका कानुनी झमेला परेमा यसको बारेमा पनि अनलाइनबाट नै सेवा लिन सकिन्छ।

काठमाडौंको अनामनगर, घट्टेकुलो चोकमा रहेको प्राइम लिगल कन्सल्ट एन्ड रिसर्च सेन्टरले यी सबै सेवा दिँदै आएको छ । कम्पनीले अदालती विवाहका लागि कोर्ट म्यारिज नेपाल डटकम नामक छुट्टै वेबसाइट नै सञ्चालनमा ल्याएको छ ।

कोर्ट म्यारिजका लागि सबैभन्दा पहिला अदालतको समय लिनुपर्ने हुन्छ । यसका लागि वेबसाइटबाट नेपालका ७७ ओटै जिल्ला अदालतको ‘अपोइनमेन्ट’ लिन सक्छन् । त्यस्तै नेपालमा लामो समयदेखि बसोबास गर्दै आएका विदेशी नागरिकले कुन कुन सर्तमा नेपालमा अदालती विवाह गर्न पाउँछन् भन्ने जस्ता जानकारी पनि यही वेबसाइटमा उपलब्ध छन् ।

प्राइम लिगल कन्सल्ट एन्ड रिसर्च सेन्टरको सह संस्थापक एटनी एट ल अल्पना भण्डारीका अनुसार अदालतमा समय लिने अपोइनमेन्टको काम अनलाइनबाटै लिन सकिन्छ । उनी भन्छिन्, “विवाहका लागि त अदालतमा व्यक्ति स्वयम् नै उपस्थित हुनुपर्छ ।” तर अनलाइनमार्फत कस्ता(कस्ता डकुमेन्ट आवश्यक हुन्छ भनेर जानकारी लिन सकिने भएकाले सहजता हुने गरेको उनले बताइन्।

यस्तै यदि वैवाहिक जीवनमा केही समस्या आएमा कम्पनीले सम्बन्ध विच्छेदको सेवा पनि अनलाइनबाट नै दिने गरेको छ । यसका लागि प्राइम लिगल कन्सल्टले डिभोर्स नेपाल डटकम नामक वेबसाइट सञ्चालनमा ल्याएको छ ।

यो वेबसाइटबाट डिभोर्सको प्रकृतिअनुसारका वकिल छान्न सकिन्छ । घरेलु हिंसा, सम्पत्ती बाँडफाड, बालबच्चाको कस्टडी, बालबच्चाको लालनपालन खर्च लगायतका आदिको आधारमा सो कुरा तय गर्न सकिन्छ ।

भण्डारी भन्छिन्, “अनलाइनबाट आफ्नो मुद्दाको बारेमा केही जानकारी वा सुझाव लिन सकिन्छ । तर, अदालतमा गएर बहस नै गर्ने भएकाले सबै काम अनलाइनबाट हुन भने सम्भव छैन । कुनैकुनै प्रकृतिका सम्बन्ध विच्छेदका मुद्दा अनलाइनबाट नै टुङ्गिएका पनि छन् । तर सबै केसमा यस्तै हुन्छ भन्न सकिँदैन ।”

यस्तै कम्पनीले आर्थिक कारोबारसँग जोडिएका मुद्दाका लागि कर्पोरेट लयर्स नेपाल नामक वेबसाइट सुरु गरेको छ । कम्पनी दर्ता, बौद्धिक सम्पत्ति, आप्रवासन, प्रत्यक्ष विदेशी लगानी, कर, जलविद्युत्, रियल इस्टेट, बैंकिङ, श्रम, सम्झौता लगायतका कारोबारसँग जोडिएका विषयमा कानुनी परामर्श तथा सेवा यसबाट उपलब्ध हुने गरेका छन् ।

भण्डारी भन्छिन्, “हामी नागरिकलाई चाहिएका सबै किसिमका कानुनी सेवा उपलब्ध गराउँछौँ । विवाहदेखि डिभोर्ससम्मका सेवाहरू उपलब्ध गराउनुको मतलब यो होइन की हामी विवाहित जोडिलाई सम्बन्ध विच्छेदका लागि सल्लाह दिन्छौँ । हामीले जस्ता समस्या र विषय लिएर सल्लाह लिन आउनेहरूलाई यसरी प्रक्रिया अघि बढाउन सकिन्छ भनेर सल्लाह दिने हो ।”

प्राइम लिगल कन्सल्ट एन्ड रिसर्च सेन्टरलाई अल्पना भण्डारी र अमृत शर्माले सन् २०१२ मा स्थापना गरेका थिए । यस कम्पनीमा अल्पना प्रमुख कार्यकारी अधिकारी (सीईओ) को रूपमा कार्यरत छिन् ।

काठमाडौं विश्वविद्यालयको स्कुल अफ लबाट एलएलबी पूरा गरेपछि सन् २०१२ मा उनीहरूले कम्पनी सुरुवात गरेका थिए । कम्पनी दर्ता भएसँगै भण्डारी थप अध्ययनका लागि उनी विदेश पुगिन् । उनले अमेरिकाको वासिङ्टन डीसीमा रहेको अमेरिकन युनिभर्सिटीमा अन्तर्राष्ट्रिय कानुन अध्ययन विषयमा एलएलएम पूरा गरिन् । यस्तै उनले टर्कीको स्तानबुलमा रहेको बिल्जी युनिभर्सिटिमा पनि अध्ययन गरिन् ।

उनीसँग स्विजरल्यान्ड, नर्वे, फिनल्यान्डमा विभिन्न जिम्मेवारीमा रहेर काम गरेको अनुभव पनि छ । उनी अमेरिकाको न्युयोर्कमा रहेर काम गर्ने संस्था ह्युमन राइट्स वाचमा पनि संलग्न रहिन् ।उता अध्ययन र काम चलिरहँदा नेपालमा प्राइम लिगल कन्सल्ट पनि चलिरहेकै थियो । कम्पनीको सुरुवात गर्दा नै अनलाइनमार्फत कानुनी सेवा दिनुपर्छ भन्ने विचार आए पनि समय अभावले अनलाइनमार्फत सेवा सुरु गरिहाल्ने अवस्था भने थिएन ।

उनी भन्छिन्, “अनलाइनमार्फत नै सेवा दिनुपर्छ भन्ने सोचाइ त पहिले नै थियो । तर पढाइसँगसँगै अन्य काममा पनि व्यस्त भएँ । धेरै समय नेपाल बाहिर भएकाले त्यो काम सुरु गर्न सकिएको थिएन । तर कम्पनी सुरु गर्दा नै हिमालयन होस्टमा डोमेन दर्ता गरिसकेका थियौँ । “ २०१७ तिरबाट भने अनलाइनमार्फत सेवा दिनका लागि कन्टेन्टहरू राख्न थालिएको उनले बताइन् ।

तर उनी नेपालमा नै काम गर्ने भनेर फर्किएपछि भने अनलाइनबाट सेवा दिने कामले गति लिन थाल्यो । कोभिड(१९ को महामारी सुरु हुनुभन्दा केही समयअघि सन् २०१९ मा उनी नेपाल फर्किइन् । नेपाल आएको केही समयमा नै लकडाउन लाग्यो र घरमै बस्नुपर्ने अवस्था आयो । त्यही बेलामा अनलाइनमा राम्रोसँग ध्यान दिन पाएको उनले बताइन् ।

उनी भन्छिन्, “कोभिडपछि धेरै समय फुर्सदमा नै बित्यो । त्यो बेलामा भने अनलाइनलाई राम्रो बनाउने समय पाइयो । कोभिडपछि अनलाइनमार्फत जोडिने ग्राहक पनि बढ्न थाले ।”

कोभिडयता भने अनलाइनमार्फत नै कानुनी परामर्श र सेवा लिने क्रम बढ्न थालेको अनुभव उनको छ । उनी भन्छिन्, “सिधै अफिसमा आएर कानुनी परामर्श लिने व्यक्तिहरू पनि हुनुहुन्छ । तर अधिकांश भने अनलाइनमा बुझेर आफ्नो केसको बारेमा थप प्रक्रियाका लागि अफिसमा आउनुहुन्छ ।”

हाल प्राइम लिगल कन्सल्टबाट सेवा लिनेमध्ये ९० प्रतिशत अनलाइनमार्फत जोडिने गरेको उनले बताइन् । उनी भन्छिन्, “हामीले हजार भन्दा बढी व्यक्तिको मुद्दा लडिसकेका छौँ । तीमध्ये अधिकांश अनलाइनमार्फत जोडिनुभएको हो ।” ग्राहकलाई चाहिने सेवा अनुसार विशेषज्ञता भएका वकिलहरू कम्पनीमा जोडिने क्रमसमेत चलिरहने उनले सुनाइन् ।

अनलाइनमार्फत कानुनी प्रक्रियाका विषयमा जानकारी पाउन सजिलो भएको उनी सुनाउँछिन् । “अहिले अनलाइनमार्फत कुन वकिललाई हायर गर्ने भनेर उनीहरूको ब्याकग्राउन्ड हेर्न सकिन्छ । फोन गरेर वा अनलाइनबाट पनि परामर्श लिन सकिने भएको छ ।”

तर पूर्णरूपमा अनलाइनबाट नै सेवा लिने अवस्था भने नरहेको उनले सुनाइन् । उनी भन्छिन्, “केही परामर्श लिएपनि सबै कानुनी प्रक्रियाका लागि अदालतमा अनिवार्य उपस्थित हुनुपर्ने हुन्छ ।”

कतिपय अवस्थामा भने अनलाइनबाट गर्न सकिने काममा पनि विश्वास नभएकाले सेवाग्राही फर्ममा नै भिजिटका लागि आइपुग्ने गरेका छन् । उनी भन्छिन, “अनलाइनबाट ठगी हुनसक्छ भनेर पनि अफिसमै आउनुहुन्छ । आफूले सर्भिस लिएपछि मन परेर अरूलाई पनि यहीँ आउन सुझाव दिने धेरै हुनुहुन्छ ।” ‘माउथ-टु-माउथ मार्केटिङ’ ले धेरै फाइदा गरेको उनले सुनाइन् ।

यस्तै अनलाइन सर्भिस लिन खोज्ने तर भुक्तानी गर्न नचाहने सेवाग्राहीका कारण भने केही समस्या भएको उनको भनाइ छ । “अनलाइनबाट केही परामर्श त दिन सकिन्छ । तर, हामी निजी कम्पनी भएकाले सबै सेवा निस्शुल्क दिन सक्दैनौँ । यसका लागि निश्चित शुल्क भुक्तानी गर्नुपर्ने हुन्छ । केही यस्ता व्यक्ति पनि हुन्छन्, जो कानुनी सेवा निस्शुल्क लिन चाहन्छन् ।”

शुल्कका विषयमा कुरा नमिल्दा कम्पनी र सेवाका बारेमा नकारात्मक रिभ्यु दिने भएकाले समस्यामा समेत पर्ने गरेको उनले बताइन् । भण्डारी भन्छिन्, “रिसाएर नकारात्मक रिभ्यु दिँदा कम्पनीको बारेमा नराम्रो बुझाइ पर्छ । पहिलेदेखि नै हाम्रो सर्भिस लिनुभएका व्यक्तिलाई त फरक पर्दैन । तर अनलाइनमा नै देखेर सेवा लिन आउनेमा अविश्वास सिर्जना हुनसक्छ ।”

प्राइम लिगल कन्सल्टमा विशेषगरी अमेरिका, क्यानडा, युरोपमा रहेका नेपालीहरूले अनलाइनमार्फत कानुनी उपचार खोज्छन् । “नेपाल आउनुभन्दा पहिले नै अनलाइनबाटै परामर्श लिने र कानुनी प्रक्रिया सुरु गर्ने अवस्था बनिसकेको छ । तर अनलाइनमा नै नकारात्मक रिभ्यु देखेमा विश्वासभन्दा पनि सर्भिसमा शङ्का लाग्छ ।” - टेकपानाबाट