गृहमन्त्री रमेश लेखकको राजीनामा माग

सोमबार माघ २८, २०८१/ Monday 02-10-25
Paschim Today

काठमाडौं : अन्तरजातीय प्रेमविवाह गरेका सर्लाहीका सत्येन्द्रकुमार राम (चमार) र नेहा रौनियारलाई प्रहरीले अत्याचार गरेको भन्दै गृहमन्त्री रमेश लेखकको राजीनामा मागिएको छ ।

प्रहरी लगाएर राम र रौनियारमाथि ज्यादति गरेकाले गृहमन्त्री लेखकले तत्काल राजीनामा दिनुपर्ने मागसहित सोमबार काठमाडौंमा प्रदर्शन भएको हो ।

नेत्रविक्रम चन्द विप्लवनिकट श्रमिक समुदाय मोर्चा नेपाल बागमती प्रदेश समन्वय समितिले सोमबार काठमाडौंमा प्रदर्शन गरेको हो ।

श्रमिक समुदायमाथि भएका सबै प्रकारका जातीय भेदभाव र हिंसाविरुद्ध विरोध सभामा गृहमन्त्रीले राजीनामा दिनुपर्ने मागसहित नाराजुलुसमेत लगाइएको छ।
सोमबार श्रमिक समुदाय मोर्चा नेपाल बागमती प्रदेश समन्वय समितिको कार्यालयनजिकै विरोध सभा गरिएको हो ।

यसअघि शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्ने सांसदहरूले उक्त प्रकरणमा गृहमन्त्री लेखकको राजीनामा मागिएको थियो ।

सांसद नारायणी शर्माले उमेर पुगेका बयस्क नागरिकलाई आफ्नो फैसला गर्ने अधिकार रहेको बताउँदै गृहमन्त्रीको निर्देशनमा प्रहरीले गरेको ज्यादतीको निन्दा गरेकी थिइन् । तर, गृहमन्त्री लेखकले भने आफूले प्रहरीलाई कुनै निर्देशन नदिएको जिकिर गरिरहेका छन् ।